रणवीर सिंहको नग्न तस्बिरमाथि छेडिएको बहस

काठमाडौं । 'म हजारौँ व्यक्तिहरूको अगाडि नाङ्गिन सक्छु... यति मात्र हो कि त्यसबारे उनीहरू असहज महसुस गर्छन्,' बलिउड कलाकार रणवीर सिंहले हालै पेपर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्।
नभन्दै ठ्याक्कै त्यस्तै भयो जब सिंहले सोही म्यागेजिनका निम्ति नग्न तस्बिरहरू खिचाए। सामाजिक सञ्जालमा उनको उक्त कार्यप्रति प्रशंसा र आक्रोश दुवै देखियो। यद्यपि, आलोचना गर्नेको सङ्ख्या अधिक थियो। उनका तस्बिरहरूमाथि बनेका मिम र चुट्किलाहरू इन्टरनेटभरी फैलिन थाले।
धेरैले उनलाई पुरुषहरूको बदनाम गरेको आरोप लगाए। यसका अतिरिक्त उनीविरुद्ध 'महिलाहरूको भावनामा ठेस पुर्याएको' आरोपमा प्रहरीमा उजुरी दर्ता भयो। सिंह परम्परागत पुरुष कलाकारजस्ता छैनन्। उनी असीमित रूपमा ऊर्जावान्, मिजासिलो र फरक धारका चुलबुले फेशन अङ्गाल्ने शैलीका छन्।
भोग म्यागेजिनले उनको पहिरन शैलीलाई लिएर 'अहिलेको फेशन अङ्गालिरहेको ताजा परिवर्तनूको सङ्ज्ञा दिएको छ। पेपर म्यागेजिनका अनुसार सिंहले 'परम्परागत भारतीय समाजमा विद्यमान पुरुषत्त्वसँग सम्बन्धित सबै अन्धविश्वासलाई प्रयोगात्मक ढङ्गले चुनौती दिएका छन्।'
'उनको शरीर एक आदर्श पुरुष शरीरजस्तो छ। तर उनी भने महिला र पुरुष दुवैको जस्तो देखिने पहिरन लगाउँछन्। उनी आफ्नो विचारमा कठोर छैनन् र यौनको सम्बन्धमा खुलेर कुरा गर्छन्। उनी भारतको कथित पुरुषत्त्वको परिभाषामा अटाउँदैनन्। जसका कारण धेरै मानिसहरूलाई तनाव भएको छ र यसले अधिकांश पुरुषहरूलाई असहज महसुस गराएको छ,' टफ्ट्स विश्वविद्यालयमा साहित्य र यौनिकताबारे विद्यावारिधि गरिरहेका राहुल सेनले भने।
सिंहको तस्बिरमा आएका प्रतिक्रियाहरू केहीले भन्ने गरे जस्तो 'भारतको घना नैतिक द्विविधा' हो जहाँ मानिसहरूले पुरातन र उदार मनोवृत्तिको मिश्रण आत्मसात् गर्छन्। बीबीसी
प्रतिकृया दिनुहोस