• आइतबार ४-२९-२०७९/Sunday 08-14-2022
रंगमञ्च

पुरानो घरमा नाटक ‘सिटामोल’

काठमाडौं । सिनामंगलको पुरानो घर थिएटरमा नाटक ‘सिटामोल’को मञ्चन सुरु भएको छ। सजीव प्राणी भएपछि रोग नलाग्ने त कुरै भएन तर रोगीको समयमै उपचार नहुँदा, औषधि नपाउँदा र भएको औषधिको पनि सही सदुपयोग नहुँदा ज्यान जाने जोखिम धेरै नै हुन्छ। 

 

सरकारले धेरैजसो औषधि निःशुल्क प्रदान गर्ने प्रावधान राखेको छ तर त्यसको सही कार्यान्वयन नहुँदा त्यही औषधिलाई हामी महँगो मूल्य तिर्ने गर्छौं। नाटक ‘सिटामोल’ यही सञ्जालमा बेरिएको छ।

 

बाढीपहिरो, महामारी, कोरोना र भूकम्पजस्ता महाविपत्तिमा पनि अत्यावश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधोपचारमाथि कृत्रिम अभाव सिर्जना गरी कालोबजारीको धन्दा चल्दै आएको छ। र यस विषयमा राष्ट्रिय सुरक्षा प्रणालीको कमजोर ध्यानाकर्षण हुँदा जनताको आधारभूत सुरक्षामाथि मजाक भइरहेको छ। र यही मजाकलाई व्यङ्ग्य गर्दै पुरानो घरले नाटक ‘सिटामोल’ तयार पारेको छ। 

 

सुलक्षण भारतीको लेखन रहेको नाटकलाई जयराम ढकालले निर्देशन गर्नुभएको छ। अरुण पौडेल, सरिता भुजेल, रितेश कार्की, श्रवण यादव, आलोक थापी, युनिशा बजगाईं। प्रवीण खरेल, अस्मिता भारती, पीयूष कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सागर भट्टराई, टीका निरौला, सविता तामाङ, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सुदिन लुइँटेल र अर्नव घिमिरेको नाटकमा अभिनय रहेको छ। नाटक साउन १२ गतेदेखि २५ गतेसम्म पुरानो घर थिएटरमा मञ्चन हुनेछ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार