• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

हराएको सुगा भेट्नेलाई एक हजार डलर

काठमाडौं । आफ्नो जोडी पाँच दिनपछि जब घर फर्क्यो तब रिओको खुसीको सीमा रहेन। रिओको जोडी उजस्तै स्फूर्ति भएको खैरो अफ्रिकी सुगा हो जसको नाम रुस्तोमा हो जो घरको ढोका खुला भएको बखत घरबाट भागेको थियो।

 

रुस्तोमा हराउनु तब समाचारको शीर्षक बन्यो जब उसलाई पाल्ने दक्षिणी भारतीय परिवारले उक्त सुगा फिर्ता ल्याउनेलाई नगद उपहार घोषणा गर्‍यो। पाँच दिन पछि रुस्तोमा सुरक्षित घर फर्किएपछि उक्त परिवारले उद्धारकर्तालाई ८५,००० भारतीय रुपैयाँ प्रदान गर्‍यो। यो रकम पहिले घोषणा गरिएको भन्दा निकै बढी हो।

 

सेट्ठी परिवारका अनुसार उनीहरूले ती दुई सुगालाई बैङ्गलोरमा तीन वर्षअघि खरिद गरेका थिए। भारतमा अफ्रिकी सुगाहरू पाल्नु गैरकानुनी होइन। यद्यपि, भारतीय संरक्षणकर्मीहरूले अद्वितीय चराहरूको प्रजनन तथा बेचबिखनबारे वकालत गरिरहेका छन्।

 

'हामीले उनीहरूलाई सधैँ परिवारको सदस्यका रूपमा व्यवहार गरेका छौँ र उनीहरूलाई कहिल्यै पिँजडामा राख्नेबारे सोचेनौँ,' व्यापारीसमेत रहेका अर्जुन सेट्ठीले भने। उनका अनुसार ती चराहरूले परिवार, विशेषगरी सेट्ठीका सात वर्षीय छोरा बिहानसँग समय व्यतीत गर्न रुचाउँथे। यी सुगाहरूले आफ्नो वरपरका मानिसको आवाज नक्कल गर्थे। तर दश दिनअघि, परिवारले घरमा नयाँ काष्ठ सामग्री ल्याउँदै गर्दा रुस्तोमा घरबाट उडेको थियो। आफ्नो जोडी बेपत्ता भएसँगै रिओ हताश देखिन्थिन् र खान पनि अस्वीकार गर्थिन्।

 

सेट्ठीका अनुसार रुस्तोमाको तस्बिरसहितको पर्चा छाप्न र वितरण गर्न उनले 'उल्लेख्य' रकम खर्च गरेका थिए र उनले ५०,००० भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेका थिए।उनीहरूले छापिएको पर्चा आफूहरू बस्ने तुमाकुरु सहरको अधिकांश गल्लीहरूमा टाँसेका थिए।

 

परिवारले त्यहाँ चल्ने अटो रिक्सा चालकहरूलाई पनि लाउडस्पिकर मार्फत रुस्तोमा हराएकोबारे सूचना प्रवाह गरिदिन पैसा दिएका थिए। घटनाक्रम अघि बढिरहँदा रुस्तोमा भने उनीहरूबाट मात्र तीन किलोमिटर पर थियो जहाँ उसलाई दुई मजदुरहरू श्रीनिवास र कृष्णमूर्तिले हेरचाह गरेका थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार