• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र म्यादी प्रहरी गरी २ लाख ६८ हजार सुरक्षाकर्मी खटाएको छ ।

 

नेपाल प्रहरीले मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षासहित सबै सुरक्षा जिम्मेवारी हेर्नेछ । म्यादी प्रहरी पनि भित्री घेरामा हुनेछन् । सशस्त्र प्रहरी बल दोस्रो र नेपाली सेना तेस्रो अर्थात् बाहिरी घेरामा रहनेछन् ।

 

निर्वाचनका लागि नेपाल प्रहरीबाट ६२ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै, सशस्त्र प्रहरीबाट ३२ हजार, नेपाली सेनाबाट ७१ हजार र अनुसन्धान विभागबाट ३ हजार तथा म्यादी प्रहरी १ लाखको संख्यामा निर्वाचन सुरक्षामा खटाइएको छ ।

 

नेपाली सेनाले निर्वाचनका लागि लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ । स्थानीय पोस्ट तथा ब्यारेक नभएका स्थानमा तत्कालै जनशक्ति परिचालन गर्न सकिनेगरी सेनाले अस्थायी बेस स्थापना गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

 

सैनिक प्रवक्ता सिलवालका अनुसार कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी सैनिक परिचालन हुनेछन् भने प्लाटुनबाट परिचालन हुने बेसमा ४० जना बढी सैनिक खटिनेछन् ।

 

‘सेनाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ, कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी र प्लाटुनबाट परिचालन हुने बेसमा ४० जनाभन्दा बढी सैनिक खटाइएको छ,’ सैनिक प्रवक्ता सिलवालले  भने । महेश्वर गौतम/ राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार