• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

महालक्ष्मी लाईफको विशेष साधारण सभा सम्पन्न,मर्जर कमिटी गठन

 

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए ।

 

कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पारेका थिए ।

 

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

 

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजीबृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिए ।

 

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्योउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार