• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
प्रविधी

फेसबुकले बालबालिकालाई हानि पुर्‍याउने र प्रजातन्त्रलाई कमजोर पार्ने गरेको एक पूर्वकर्मचारीको बयान

काठमाडौं । फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले 'बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने' अमेरिकी विधायकहरूसँग बताएकी छिन्। 

 

उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताइन्। फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाएकी थिइन्। र, उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्।

 

फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ। तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ।

 

मङ्गलवारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए। उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्।

 

२.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो।करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन्।

 

तर फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ। हाउगनले फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार