• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

कोरोनालाई जित्ने बढ्दै

काठमाडौं । आइसोलेसन सेन्टरबाहिर ना२च ६३७७ नम्बरको एम्बुलेन्स आयो । एम्बुलेन्स कसलाई लिन आएको हो, कसैलाई थाहा थिएन । आइसोलेसन सेन्टरमा बस्नेहरूले सोचे– फेरि आज पनि अर्को संक्रमित थपिए । एम्बुलेन्स रोकियो तर कोही ओर्लेनन् ।

 

कसैलाई केही नसोधी चालकले एम्बुलेन्स अघि बढाउन खोजे । आइसोलेसनको सुरक्षामा खटिएका प्रहरीले सिटी बजाउँदै एम्बुलेन्स रोके । खासमा त्यो एम्बुलेन्स डिस्चार्ज भएका बिरामी लिन आएको थियो । यो आइतबार पौने २ बजे कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्र आइसोलेसनमा देखिएको दृश्य हो ।

 

एम्बुलेन्स आइपुगेको केहीबेरमा एक स्वास्थ्यकर्मीले माइकबाट भन्न थाले, ‘सैकाजी तण्डुकार, दिनेश तण्डुकार, सितारा थापा, उषा रानाभाट, रामप्रसाद सुवेदी डिस्चार्जका लागि तल आउनुहोस् ।’ तीमध्ये काठमाडौं बुद्धनगरका सौकाजी सबैभन्दा वृद्ध थिए । ७५ वर्षीय सौकाजीको परिवारमा ५ जना कोरोनाबाट संक्रमित भएका थिए । सबैभन्दा बढी असर उनैलाई देखा पर्‍यो । परिवारले उनलाई कीर्तिपुरस्थित आइसोलेसनमा पठाए । अरू घरमै बसे । भर्ना भएको १० दिनमा उनमा लक्षण हरायो । ११ औं दिन अर्थात् आइतबार उनी डिस्चार्ज भएका हुन् । कुरुवा बस्न गएका छोरा दिनेशलाई पनि लक्षण देखिएपछि पीसीआर गर्दा पोजिटिभ देखिएको थियो । दिनेश पनि बाबुसँगै डिस्चार्ज भए । सौकाजी छोराले चलाएको मोटरसाइकलमै घर फर्किए । ‘आमालाई सुरुमा कोरोना भएको थाहा पाउँदा आत्तिएका थियौं । अहिले हामी सबै निको भइसक्यौं,’ दिनेशले भने ।

 

स्वास्थ्य मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दिनेश र सौकाजीलगायत ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनालाई जितेकाहरूको एक दिनको यो संख्या हालसम्मकै बढी हो ।

 

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ दिन भेन्टिलेटरमा सहित २१ दिन उपचार गराएका अर्घाखाँचीका ३८ वर्षीय शंकर आचार्य पनि निको भएर घर फर्केका छन् । उनी चार दिनअघि मात्रै डिस्चार्ज भएका हुन् । ‘आइसोलेसन वार्ड, आईसीयू हुँदै भेन्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्‍यो । तीन दिन त पूरै अचेत हुनुहुन्थ्यो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत एवं उनकी भाउजू मीरा पौडेलले सुनाइन्, ‘सबैले बाँच्ने आस मारेका थिए । अचेत भएका बेला म हरेक दिन गएर बोलाउँथें । उहाँ बोल्नु हुन्नथ्यो । चौथो दिन उहाँको होस खुल्यो । देवरले दोस्रो जीवन पाउनुभएको छ । भेन्टिलेटरमा पुगेको मान्छेलाई बचाउन सकेकामा डाक्टर र नर्स पनि खुसी हुनुहुन्छ ।’

 

आचार्यको घरमा पाँच महिना र सात वर्षका छोरी र श्रीमती पनि संक्रमित थिए । आफ्नो अवस्था थलिँदै गएपछि उनी आफन्तलाई बाँच्ने आस मारेको बताउँथे । ‘म हरेक दिन पीपीई लगाएर उहाँलाई ढाडस दिन पुग्थें । अस्पतालका नर्स, डाक्टर, सरसफाइ गर्ने सबैले हौसला दिनुहुन्थ्यो । भेन्टिलेटरमै उपचार गरिरहेका अरूको मृत्यु भएको देखेपछि थप चिन्तित हुनुहुन्थ्यो,’ पौडेलले भनिन् । भेन्टिलेटरबाट निकालेर उनलाई १४ दिन वार्डमा राखिएको थियो । घरमै अक्सिजन लिने गरी उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । ‘नियमित अक्सिजन पनि दिइरहनुपर्दैन,’ उनले भनिन् । आचार्य बानेश्वरस्थित कोठामा आराम गरेर बसेका छन् । अस्पतालमा आईसीयू र भेन्टिलेटरमा भर्ना गरेपछि बाँच्दैन भन्ने गलत सन्देश फैलिएको पौडेलले बताइन् ।

 

आचार्यको उपचारमा संलग्न सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा कैयौं दिन उपचार गरी निको पारेर पठाइरहेको बताए । ‘हामीले संक्रमितको उपचार गरेर मात्रै हुँदैन । उहाँहरूले आत्मबल दह्रो बनाउनुपर्छ,’ उनले भने, ‘गम्भीर रूपमा थलिएकालाई बचाउन सकिन्छ भन्ने उदाहरण अचेत अवस्थामा पुगेका आचार्यलाई लिन सकिन्छ ।’ गम्भीर रूपमा थलिनुअघि नै अस्पताल भर्ना भएकालाई चाँडै निको पारेर पठाउन सकिएको उनले बताए । अस्पताल भर्ना भएकामध्ये अधिकांश १० दिनभित्रै निको भएर फर्कने गरेको चिकित्सकहरू बताउँछन् ।कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार