• शुक्रबार ३-४-२०७८/Friday 06-18-2021
डबली

दुवई भ्रमणको सम्झना

गत अंकमा हामीले आबुधावीको भ्रमणको चर्चा गर्‍यौँ । यो अंकमा हामी अब आबुधावीबाट दुवईतिर लाग्छौँ । दुईजनाको निम्ति केही ठूलै हुने लक्जरी गाडी झण्डै ८ लेनको आबुधावी–दुवई राजमार्गमा सललल बग्न थाल्यो । अति नै सिधा र अरव खाडीको किनार किनार भएर गएको सो सडकमा हरिया वोट–विरुवा र रूखसमेत देख्दा त्यस्तो मरुभूमिमा त त्यसरी हरित क्रान्ति ल्याएका छन् भने हामी प्रकृतिले नै हराभरा र सून्दर बनाइएको मुलुकले किन आफ्नो शोभा र गहनाको जगेर्ना गर्न नसकेर मुलुकलाई मरुभूमि बनाउँदै गइरहेका छौँ, खै बुझ्नै नसकिने । संयुक्त अरव इमिरेट्सका सबै शहरहरुमा रुख, वोट, विरुवा, हरिया घाँसे चौरहरु र रंगीविरंगी फुलहरु रोपिएका बँगैचाहरु बनाइएका रहेछन् र मरुभूमिमा यसो गर्न त्यहाँको सरकारले अरवौँ डलर खर्च गरेको रहेछ । स्थानीय घरहरुमा समेत यस्ता बगैँचाहरु हुँदा रहेछन् । 

 

बाहिरको दिउँसोको तापक्रम करिव ४० डिग्री सेल्सियस भएता पनि गाडी वातानुकुलीत भएकोले निकै सहज वातावरण थियो । गाडी भित्रको ठण्डा वातावरणले गर्दा बाहिर हेर्दा अझ मनमोहक र शितल देखिने। एक त अधिकांश अरव मुलुकहरुमा अति नै धेरै समृद्धि, त्यसमाथि त्यहाँ धेरैजसो समय निकै गर्मी हुने भएकोले घर, सवारी साधन, बजार, मल, सिनेमा हल, कैयन् हिँड्ने टनेलहरु सबै नै वातानुकुलीत गरिएको हुन्छ । यो राजमार्गबाट केही भित्रतिर कैयन् औद्योगिक क्षेत्रहरु पनि सञ्चालित छन् । नेपाली कामदारहरुले काम पाउने प्रमुख ठाउँहरु मध्येका नै हुन यिनीहरु पनि । तेलको विकल्पको रूपमा खासगरी दुवईले आफ्नो राज्यमा औद्योगिकरणको अभियान नै चलाएको रहेछ ।पुरै राजमार्गमा रात्री बत्तिको वन्दोवस्त । विश्वकै ७ प्रतिशत प्राकृतिक ग्यास र तेलको भण्डार संयुक्त अरव इमिरेट्समा भएता पनि यो मुलुकमा पारमाणवीक उर्जाको पनि उत्तिकै खपत हुन्छ । पछिल्लो समयमा भने कार्वन उत्सर्जन घटाउनको लागि सौर्य तथा अन्य वैकल्पिक उर्जा र विद्युतीय सवारी साधनहरुको उपयोग पनि अधिक मात्रामा हुन थालेको छ। 

 

बेलायतको म्यानचेष्टरमा घर भएका मेरा सहयात्रीले नेपालको भ्रमण गरिसकेका र मैले पनि बेलायतको भ्रमण गरेकोले हाम्रा विगतका यात्रा संस्मरणका कुरा निकै चाख लाग्दा रहे र डेढ घण्टाको हाम्रो सफर तय गर्न कुनै कठिन भएन । दुवई पुग्ने पुग्ने बेलादेखि नै गगनचुम्वी भवनहरुको लस्कर लाग्न थाल्यो भने बाटोमा नयाँ निर्माण हुँदै गरेका भवनहरु पनि देखिए। हामी दुवई पुग्दा साँझ पर्न पर्न थालेको थियो। विदेश भ्रमणमा जाँदा मलाई बस्ने ठाउँ भने राम्रै चाहिन्छ । त्यसैले त्यहाँको उच्च–मध्यम खालको होटल रेडिशन ब्लूमा कोठा बुक गरेको थिएँ । हाम्रो नेपालको पाँच तारेकै दाँजोको यो होटल भव्य थियो । यो होटलमा बस्दा त्यहाँका तल्लादेखि मझौलातहसम्मका कैयन् कर्मचारी र त्यहाँको व्यायामशालाका एकजना गुरु नै पनि नेपाली भेट्दा खुशीले गद्गद भएको थियो मेरो मन ।

 

त्यो दिन होटलको कोठामा नै आराम गरेर टेलिभिजन हेर्नुका साथै घरपरिवार र साथिहरुसँग कुरा गरेर बिताएँ । भोलिपल्टदेखि तिन दिनसम्म हाम्रो होटलको नजिकमा नै अवस्थित अर्को होटलमा मानव संशाधन व्यवस्थापन तथा कुशल वार्ता गर्ने कला वारेको तालिम तथा अन्तत्र्रृmया कार्यक्रममा व्यस्त हुनुपर्ने भएकोले सो सम्बन्धि कागजातहरु पढ्नमा नै आज साँझको समय व्यतित गरेँ । बेलुकीपख होटलको बीचको छतमा भएको भव्य पौडी पोखरीमा एक घण्टा पोडिनुका साथै बाफ लिएर स्नान गरेपछि शरीर निकै हलुका भयो ।


सन् १९८० को शूरुका दिनहरुमा म पाकिस्तानको विद्यालयमा अध्ययनरत छँदा त्यहाँका कामदारहरुको वैदेशिक रोजगारीको प्रमुख थलो नै त्यतिबेला श्रमबजारको रूपमा भर्खरै उदीयमान हुँदै गएको दुवई नै थियो । दुवई जाने श्रमिकहरुको जीवनमा आधारित कैयन् रोचक टेलिश्रृंखलाहरु मैले त्यतिबेला हेरेको थिएँ। त्यसैले पनि मलाई अरव राष्ट्रहरुको भ्रमण गर्ने मौका मिलेमा दुवई चाहीँ छुटाउनु हुँदैन भन्ने भावना त्यतिबेलादेखि नै जागृत भएको थियो, तर जुरी रहेको थिएन ।   

 

पौडी पोखरीबाटै वरपरका उज्याला र भव्य गगनचुम्वी भवनहरु तथा समुद्रको दृश्यावलोकन गर्दै कफी पिउँदा निकै मज्जा आयो । होटलका चार रेष्टुरेन्टमध्येको फायर लेक ग्रिल हाउसको खुल्ला ठाउँबाट समुद्रको रात्रीकालीन भव्य चहलपहलहेर्दै विभिन्न प्रकारका बार–वे–क्युहरु र समुद्री परिकारहरु खाएँ ।साथमा फलफुलको रस । स्वर्गीय आनन्द आयो ।

 

पछिल्ला तीन दिनसम्म होटलको भव्य ब्रेकफास्ट पश्चात तालिमे कार्यक्रममा जाने र दिनभरी त्यहाँको तालिम र अन्तत्र्रृmयामा भाग लिएर होटल नै फर्कने काम भयो । तैपनि बेलुकीको समयमा समुद्रको किनारामा हिँड्ने र अरवी खाजा, फलफुल तथा ठण्डा पेय पदार्थहरुको मज्जा लिन भनेँ चुकिनँ ।

 

तत्पश्चात भने पुरै दुई दिनसम्म घुमघाममा बिताएँ । करिव आधा दिन लगाएर अल फरीदी किल्लाको  अवलोकन गरियो । १७८७ मा बनेको यो किल्ला निकै समयसम्म फौजी अड्डा, राजप्रासाद, सरकारी कार्यालय र कारागारको रूपमा पनि प्रयोगमा आएको रहेछ । सन् १९७१ मा बेलायतबाट स्वतन्त्र भएर सात राज्य मिलेर विशाल इमिरात बनेपछि पनि केही पटक जिर्णोद्धार गरिएको यो किल्ला र यसको सेरोफेरोमा हाल दुवईको इतिहास झल्कने विशाल संग्रहालयको स्थापना गरिएको रहेछ । त्यतिबेलाका युद्धपोत तथा ठुला साना डुङ्गाहरु, विभिन्न काम र व्यवसायमा संलग्न त्यतिबेलाका मानिसहरु, तिनका संस्कृति, घर तथा कृषि र उद्यम झल्कने विभिन्न झाँकीहरु त्यहाँ प्रदर्शित थिए । दुई सय वर्ष अघिको सरल तथा विकट अरव राष्ट्रको झल्को दिने त्यहि ठाउँ आज समृद्धिको चुलीमा पुगेको छ ।

 

दुवई संग्रहालयको ठिक बाहिरपट्टिको सडकमा विशाल व्यापारिक केन्द्रहरु रहेछन् । खासगरी फारसी व्यापारीहरुले शताव्दीयौँदेखि स्थापना गरेका मोती, रेशम तथा अन्य विशेष कपडाहरु तथा खजुर र मिठाईहरुका कैयन् पसलहरु । त्यहाँ देश विदेशका फलफुलका साथै खजुरका पनि निकै धेरै जातहरु उपलव्ध थिए । इरान, साउदी अरेवीया, यमन, ओमान आदिका खजुरहरु पनि उपलव्ध थिए । एक प्रकारले भन्नु पर्दा जे जस्तो सामग्रीको खोजी गरेपनि दुवईका बजारमा प्रचुर मात्रा तथा निकै आकर्षक मूल्यमा पाइने । केही आवश्यक सामानहरुको खरिद पनि गर्न भ्याएँ ।

 

हाम्रो होटेल डेइरातिर र दुवई म्यूजियम बुर दुवईमा पर्छन् भने यी दुई ठाउँको बीचमा दुवई क्रिक यानी समुद्रबाट आएको पानी पस्ने इलाका पर्छ । डेइरा क्षेत्रमा विभिन्न मुलुकका धनाढ्यहरुले घर बनाएर पनि बसेका छन् । यहाँ पुराना किसिमका सून तथा अन्य कपडा तथा क्यूरियोका सामानका पसलहरु पनि धेरै छन् । डेइरामा नै अवस्थित हेरिटेज हाउसले यहाँका पुरातन परिवारहरुका घरहरुको सजावटको झल्को दिन्छ । यो भवन शुरुमा यानी सन् १,८९० मा एक फारसी व्यापारीले आफु बस्न बनाएका रहेछन् भने पछि एक प्रख्यात मोती व्यापारी केही समय यहाँ बसेका रहेछन् । यही क्रिकमा त्यहाँका काठका पारम्परीक तर इन्जिन जडित डुङ्गाहरु (आव्रा) मा शयर गर्न निकै रमाइलो हुने । यही क्रिकको किनारामा यहाँको पुरानो सभ्यता विगत ४,००० वर्ष अघिदेखि बसेको मानिन्छ र यहीँ पानी भित्र डुबुल्की मारेर मोती र माछा निकालिन्थ्यो । 

 

जविल पार्कमा हालसालै बनाइएको १५० फिट अग्लो फोटो फ्रेमभित्र आफुलाई पारेर दुवई शहरको व्याकग्राउण्डमा फोटो खिचाउने मज्जा पनि आफ्नै ठाउँमा छ । यहीँ नजिकमा अवस्थित फ्यूचर दुवई ग्यालरीमा भविश्यमा दुवई शहर कस्तो हुनेछ भन्ने परिकल्पनाका दृश्यहरु निकै आकर्षक थिए ।

 

दुवईको मुटु भनेकै शेख जायद रोड हो । विभिन्न कोणतिर जाने आठलेनका सडकहरुको विशाल सञ्जाल भएको यो सडकको वरीपरी विशाल गगनचुम्वी भवनहरु र प्रख्यात व्यापारिक केन्द्रहरु पर्दछन् । दुवई वल्र्ड ट्रेड टावर, बुर्ज खलिफा टावर, विशाल गोल्ड एण्ड डायमण्ड पार्क आदि महत्वपुर्ण व्यापारिक क्षेत्रहरु यसैको वरपर पर्दछन् ।

 

किनमेलको लागि शेख जायद रोडमा रहेको दुवई मल एक विशेष ठाउँ हो । क्षेत्रफलको हिसाबले यो मल विश्वकै सबैभन्दा ठूलो हो भने यहाँ १,२०० वटा विभिन्न खाले पसलहरु छन्।दुवई मलभित्र नै दुवई अक्वेरियम र अण्डर वाटर जु छन् । दुवई अक्वेरियममा विभिन्न खाले समुद्री माछा तथा अन्य जलचरहरु बाहिरबाट पनि अवलोकन गर्न सकिन्छ भने यसभित्र गएर गुफाहरुबाट आफ्नो चारैतिर जलचर र पानी हेरेर आनन्द लिन सकिन्छ । सिनेमा हेर्न पनि यो मल प्रख्यात छ । यहाँ २२ वटा सिनेमा हलहरु छन् । यहाँ डाइनोसरहरुको संग्रहालय, तर्साउने घर, पानीका फोहरा तथा बालबालिकाहरुका लागि विभिन्न प्रकारका थिम पार्कहरु पनि छन् । दुवई मल हुँदै नै दुवईको प्रख्यात मेट्रो रेल शहरका विभिन्न ठाउँहरुमा चल्छ । दुवई मल भित्र नै सूनका प्रख्यात पसलहरु पनि छन् ।

 

दुवई करमुक्त क्षेत्र भएकोले यहाँ मालसामानहरु निकै सस्तोमा पाइन्छ । आजकल पर्यटकहरुलाई कर मुक्त खरिददारीमा आकर्षित गर्न विश्वका धेरैजसो मुलुकहरुले आफ्नो मुलुकबाट बाहिर जाने नाकाहरु जस्तै विमानस्थल र स्थल तथा जलमार्गका नाकाहरुमा भ्याट रिफन्ड काउन्टरहरु पनि राखेका हुन्छन् ।

 

दुवई मलकै वगलमा स्थित विशाल बुर्ज खलिफा तालमा दुवई फाउण्टेन छ ।यो तालको चारैतिर हिँडेर घुम्न तथा किनमेल गर्न निकै रमाइलो हुने । साँझको समयमा विभिन्न थरी सांगीतिक धुनहरु र रङ्गी विरङगी बत्तीहरुको तालमा त्यहाँका निकै मनमोहक पानीका फोहराहरुले नाच्न थाले पछि आँखा झिमिक्क गर्न पनि मन लाग्दैन । यस्तै बेलामा बुर्ज खलिफा टावरमा विभिन्न राष्ट्रका झण्डाहरु र अन्य आकृतिहरु प्रदर्शित हुँदा निकै मजा आउँछ । आफ्नो देश नेपालको झण्डाको प्रदर्शन हुँदा मन निकै प्रसन्न भयो भने त्यहाँ उपस्थित सयौँ नेपालीले गद्गद् भएर ताली बजाए । फोहराको पानीका छिटाहरु आफुतिर आउँदा मन निकै रोमाञ्चित हुने ।

 

पुरानो पानी जहाजको आकारमा ठडिएको बुर्ज अल अरव विश्वकै सबैभन्दा अग्लो र महँगो होटल हो । त्यहाँ स्थित भूमिगत अल महरा रेष्टुरेन्टमा बसेर खाना खाँदा आफ्नै अगाडि पछाडि जलचरहरु घुमिरहेका जस्तो लाग्दो रहेछ । मेरो वजेटले त त्यहाँ पानी पिउन पनि गाह्रो पथ्र्यो तर एकजना कर्मचारीसँग विशेष आग्रह गरेर होटलको छोटो अवलोकन भने गरेँ। 

 

जुमेराह् बीचको निकै सफा र मिहिन बालुवामा केही बेर खाली खुट्टा हिँडेँ । त्यहाँ गएर उँट चढ्न पनि मानिसहरु रुचाउँदा रहेछन् । यसको किनारामा निकै धनीहरु बस्ने भव्य भवनहरु देखिए । समुद्रमा पौडेर रमाइलो गर्ने तथा सौर्यस्नान (सनबाथ) गर्ने विदेशीहरु पनि निकै रमाइरहेका थिए भने पर आकाशमा काइट सर्पिmङ गर्नेहरुको रमाइलो अर्कै थियो।

 

पाम जुमेराह्को प्रख्यात नामले त्यहाँ दुवईस्थित अरव खाडीमा पुरेर खजुरको रूखको विशाल आकृतिको टापुको निर्माण गरिएको छ । दोहाको लागि उडान भर्दा रात्रीको समयमा यसमाथिबाट विमान जाँदा भव्य दृश्यको आनन्द लिन पाइएको थियो कैयन् पटक । यहाँका बासिन्दाहरुको संख्या १०,५०० नाघिसक्यो ।  

 

सँगै ठडिएको बुर्ज खलिफा यानी खलिफा टावर विश्वकै सबैभन्दा अग्लो टावर हो । आबुधावीका सुल्तान खलिफा विन जायेद अल नह्यान, जो संयुक्त अरव इमिरेट्सका राष्ट्राध्यक्ष पनि हुन्, उनैको नाममा यो टावर बनाइएको हो । यसको उचाई ८२९.८ मिटरको छ भने यो १६३ तल्लाको छ । यसको १४४ तल्लामा विश्वकै सर्वोच्च स्थानमा रहेको नाइट क्लब छ भने १२२ तलामा विश्वकै सर्वोच्च रेष्टुरेन्ट । प्रत्येक नयाँ वर्षमा हुने आतिशवाजी र हर साँझ हुने साउण्ड एण्ड लाइट शोमा पनि बुर्ज खलिफा पहिलो नम्बरमा आउँछ । यस पटकको भ्रमणमा मैले बाहिरबाट नै यो विशाल भवनको अवलोकन गरेँ ।

 

जुमेराह् मस्जिद दुवईमा भएका मस्जिदहरुमध्येको सबैभन्दा सुन्दर रहेछ । कायरोको अल् अझर मस्जिदकै आकृतिमा बनाइएको यो मस्जिद पत्थरबाट बनेको छ र रातीको समयमा यो झनै भव्य देखिँदो रहेछ । यो मस्जिद परिसरमा नै अरव संस्कृति र इस्लाम धर्म वारेको एउटा निकै आकर्षक अध्ययन केन्द्र र सानो वस्ती बनाइएको रहेछ ।

 

घुम्ने तथा हेर्ने ठाउँहरु प्रसस्त भएको दुवईमा दुई दिनमा के मात्र हेर्न भ्याउनु र ? यहाँको डेजर्ट सफारी, चरा तथा जनावरहरुका सेंक्चुवरीहरु तथा कलकारखाना, कृषि व्यवसाय, सयौँ प्रकारका संग्रहालयहरु तथा मनोरञ्जन स्थलहरु हेर्न भ्याइएन ।

 

अकुत धन–सम्पत्ति भएको यो मुलुकका जनता पनि निकै शिक्षित र आरामदायी जिन्दगी बिताइरहेका रहेछन् भने सुविधाको हिसाबले यहाँका शहर युरोपका कुनै शहरहरूभन्दा कम रहेनछन् । १९५०–६० तिर तेलखानीहरू सञ्चालनमा आएपछि विकास हुन थालेका खाडीका मुलुकहरू मरुभूमिबाट सर्वसुलभ वस्तीहरूमा परिवर्तन हुँदै गएका धेरै भएको छैन। यस दौरान रहनसहनमा मात्र परिवर्तन नभई यी अरवहरू निकै शिक्षित पनि भइसकेको भेउ मैले यस पटकको भ्रमणमा पाएँ । धेरैजसोले आफ्ना पारम्परिक पहिरन नै लगाउने गर्दा रहेछन् । निकै किमती देखिने निख्खर सेता तथा सुकिला माथिदेखि तलसम्मका कपडा लगाउने युवाहरुले आफ्ना वृद्ध आमा बुवालाई निकै ध्यानका साथ शहर डुलाउन ल्याएको देख्दा यिनीहरुको सुसंस्कृत चालचलनको पनि केही भेउ पाउन सकियो । कपडा पारम्परिक भएपनि शिक्षा र आनीवानी कुनै विकसित मुलुकका पुरुष महिलाको भन्दा कम थिएन ।


संयुक्त अरब इमिरेट्समा मात्र करिव पाँचलाख नेपाली बसोबास गर्दारहेछन् । नेपाली कामदारहरू निकै इमान्दार र सोझा हुने भएकाले यिनलाई त्यहाँ निकै रुचाउँदा रहेछन् । आबुधावी र दुबईका सुरक्षा गार्ड तथा ट्याक्सी चालकमा नेपालीहरूको संख्या बिस्तारै बढ्दै गएको रहेछ । यस्तो काममा आम्दानी पनि राम्रै हुने रहेछ । ठूला–ठूला मल, फास्ट फुड पसल तथा बारहरूमा पनि नेपाली कामदारको माग निकै रहेछ । मलहरूका काउण्टरमा नेपाली महिला कर्मचारीहरू पनि निकै भेटेँ ।


धेरै नेपालीहरुसँग कुरा गर्दा खानपिनको लागि समस्या नहुने, आम्दानी पनि राम्रै हुने तर कोठा भाँडा अति नै महँगो भएकाले सात–आठजनासम्म एउटै कोठामा बस्न बाध्य भएको कुरा बताए । तर कुनै–कुनै कम्पनीले भने बस्ने पनि सुविधा दिएका हुँदा रहेछन् । वातानुकूलितस्थानहरूमा काम गर्न निकै सजिलो भए पनि निर्माण क्षेत्र तथा खुला ठाउँमा काम गर्नेहरूले भने निकै सकस भोग्नु पर्दोरहेछ, किनकि गर्मीमा यहाँ ५२–५५ डिग्री सेन्टिग्रेडसम्म तापक्रम पुग्दोरहेछ । त्यस्तै, सबैले आपूmले भनेजस्तै काम पनि पाउँदारहेनछन् । यहाँबाट एउटा काम र तलव भनेर लैजाने र उता पुगेपछि अर्कै काम र निकै कम तलव र त्यो पनि समयमा नपाइने । यस्तो अवस्थाको सामना गर्नु परेर दुःख पाएका तथा थुनामा समेत परेका नेपाली पनि हजारौँको संख्यामा रहेछन् । हुन त नेपालीहरूको कल्याण र मद्दतका लागि त्यहाँ नेपाली समुदायहरू पनि खोलिएका रहेछन् तर जहाँतहीँ राजनीतिको प्रभावले गर्दा होला संयुक्त अरब इमिरेट्समा मात्र यस्ता समुदाय सयभन्दा धेरै संख्यामा रहेछन् । पार्टी, जिल्ला, जातपात, आदिका आधारमा आआफ्ना समुदाय । यस्ता समुदाय सबै एक भएर एउटा बृहत् महासंघ बनाउन सके ५ लाखभन्दा बढी कामदारको हितका लागि अझ धेरै काम गर्न सकिने थियो कि ?


विदेशमा गएको बेला नेपालीहरू खुशी भएर हिँडेका, विमानस्थल, विशाल बजार तथा अन्य ठाउँमा ठाटसँग काम गरिरहेका र बिदाका दिन खुशीसाथ घुमफिर गरिरहेका देख्दा जोकोहीलाई पनि रमाइलो लाग्नु स्वभाविकै हो । कतारको दोहा विमानस्थलमा संयुक्त अरब इमिरेट्सका लागि विमान कुरेर बस्दा विमानस्थलभित्र सयौँ नेपाली दाजु–भाइ तथा दिदी–बहिनी सुरक्षादेखि वारुण यन्त्र र अन्य निकायका भिन्दा–भिन्दै पहिरनसहित हाँसखेल गरेर काम गरिरहेको देख्दा निकै खुशी लागेको थियो ।दुवईमा त नेपालीहरु होटल र रेष्टुरेन्ट खोलेर बसेका, व्यायाम तथा मार्सल आर्टका प्रशिक्षकहरु, डाक्टर, इन्जिनियर, बैंकर तथा अर्थशास्त्रीहरुका रूपमा प्रसस्त संख्यामा रहेछन् ।


नेपाल फर्कने दिन दुवईस्थित विश्वकै अति भव्य विमानस्थलको अवलोकन गर्ने इच्छा पनि पुरा भयो । थाइल्याण्डको सुवर्णभूमि, सिंगापुरको च्याङ्गी, नयाँ दिल्लीको इन्दिरा गान्धी, हङकङको चेक लाप कोक जस्तै दुवई विमानस्थल पनि निकै अत्याधुनिक र भव्य रहेछ । देश विदेशमा यात्रा गर्ने एशियाका महत्वपुर्ण ट्रान्जिट विमानस्थलहरु मध्येको यो विमानस्थलका कर्मचारीहरु पनि निकै मिजासिला र मद्दतगार थिए । आफ्नो विमानको प्रतिक्षामा बस्दा पनि त्यहाँ समय कटाउन कुनै गाह्रो भएन ।


प्रत्येक दिन त्रिभुवन विमानस्थलबाट मात्र सालाखाला १२–१५ सय नेपाली विदेशिन्छन् भने बिदामा वा सधैँका निम्ति नेपाल फर्कने नेपालीहरूको संख्या पनि दिनमा सयौँ हुन्छ । तर विडम्वना दिनहुँजस्तो एकाध नेपालीका लाश पनि आइपुग्छन् विभिन्न देशहरुबाट । अति नै गर्मी, चरम यातना, स्वस्थकर रहनसहन सम्बन्धी कुराको अनभिज्ञता, तथा दुर्घटना नै विदेशिएका नेपाली कामदारहरूको मृत्युका प्रमुख कारण हुन् । धेरैजसा अशिक्षित कामदार गलत वैदेशिक रोजगारी मिलाउने संस्था तथा उनका स्थानीय दलालहरूको जालमा सजिलै पर्छन् र उता पुगेर अलपत्रमा पर्छन् । सम्बन्धित देशहरूले पनि यस्ता अलपत्र कामदारहरूलाई थुनामा राख्छन् । खासगरी अरव र मलेसियामा भएका हाम्रा दूतावास यस्तै अलपत्र कामदारहरूको रिहाइ र मृत कामदारहरुलाई नेपाल फर्काउने समस्या सुल्झाउनमा नै धेरै जकडिइरहेका हुँदा रहेछन् । तर यसरी झुक्याएर मुग्लान पठाउने संस्था वा दलालहरूलाई हदैसम्मको सजाय भएको भने सुन्नमा आएको छैन ।


विदेशबाट नेपाल फर्कने खासगरी खाडी तथा मलेसियाजस्ता मुलुकमा काम गर्ने नेपाली कामदारहरूलाई त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीहरूले अति नै सकस दिएको सो भन्सार पार गर्दै आउने जो–कोहीले देखेका हुन्छन् । नानाथरिका दुःख पाएर आर्जेको सानो रकमबाट घर फर्कँदा ल्याएका केही सामानमा समेत गिद्देदृष्टि लगाएर रकम झार्ने अनेक प्रपञ्च रच्ने भन्सारका तथा अन्य कर्मचारीबाट धेरै यस्ता कामदार दिनहुँ शोषित हुन्छन् ।    


आजकल वैदेशिक रोजगारीमा विदेश जाने नेपाली महिलाको संख्या पनि दिनानुदिन बढ्दैछ । कोरिया, जापान, अरब, इजरायल, साइप्रस, माल्टा र यीभन्दा परका राष्ट्रमा गएर समेत काम गर्ने महिलाहरूको संख्या निकै छ । बेलाबखत उनीहरूलाई विभिन्न खाले हैरानीको सामना गर्नुपर्ने परिस्थिति पनि आउँछ । चरम हैरानीका धेरै किस्सा बेला–बेलामा सुनिन्छन् पनि। तर शिक्षाप्राप्ति र कार्यक्षेत्रमा भएका नेपाली समुदायसँग सम्पर्कमा भइराखे र हैरानीलाई नलुकाएर खुलासा गरे जहाँ बस्दा पनि उनीहरू खतरामुक्त हुन सक्छन्। महिलाहरूलाई सबैभन्दा बढी हैरानी केही कट्टरपन्थी अरब मुलुकमा हुँदारहेछन्। अरबहरूको घरको कामकाजमा रोजगारी गर्ने धेरैजसो महिलालाई अनेकन सास्ती दिने, जबरजस्ती करणी गर्नेदेखि लिएर तलव नदिई थुनेर राख्ने र कुटपिटसमेत गर्ने गरेका कुरा यस्तै कैयन्् महिलाले खुलासा गरेका छन् । सरकारले बेलाबखत यस्ता मुलुकमा महिलालाई जान नदिन विभिन्न कदम चालेको हुन्छ तर दलालहरूले राम्रा ठाउँमा रोजगारीका निम्ति लाने भनेर अति नै सकस दिने मुलुकहरुमा पठाउने तथा सञ्चार माध्यमहरुमा पनि सरकारले महिलाहरुलाई विदेश जान रोकेर महिला अधिकारको हनन ग¥यो भन्ने कुराहरु आउन शुरु हुन्छन् ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार