• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

जोखिममा आकस्मिक कक्ष

काठमाडौं । काठमाडौंको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ । दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन । कोरोना भाइरस ९कोभिड–१९०को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो । आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ ।

 

कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरी बताउँछन् । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शय्या रहेको वीरको आकस्मिक कक्ष उनले भनेझैँ शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो । अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो ।

 

कोभिड अस्पताल बनेपछि परीक्षण कक्ष बनाउने विषयमा अस्पतालले स्थान अभाव खेप्नुपरेको छ । विगत केही समयअघि चार जना चिकित्सकले काम छाडेकाले चिकित्सकको अभाव समेत देखिएको छ । वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा.विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहेंलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । 

 

मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

 

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन् । ‘डिउटी’मा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ । “उनीहरुले अप्ठ्यारो पर्दा फोन गर्नुहुन्छ, अनि आउन सक्ने भएमा फोन गर्नुहुन्छ, जसअनुसार अनकल र नियमित डिउटी साटफेर हुन्छ”, उनले थपे। साथै आपत्कालीन समयमा समेत अनकल चिकित्सक सक्रिय रहन्छन् । कुन बिरामीको अवस्था के छ र कसरी उपचार गरिने भन्ने सल्लाह अनकल चिकित्सकले दिएपछि सोही अनुसार काम चल्छ ।

 

वीर अस्पताल दुई महिनाअघि कोभिड अस्पताल बनेको हो । कोभिड लागेको हो भनेर सुरुवातमा बिरामी चिनिँदैन । भयग्रस्त अवस्थामा कोभिड लागेको शङ्कास्पद बिरामी जाँच्न चिकित्सक डराउने अवस्था थियो, विस्तारै सहज भएको छ । आएका शङ्कास्पद बिरामीको पीसीआर निःशुल्क हुन्छ । पीसीआर गरेपछि आकस्मिक कक्षको एककुनामा रहेको छुट्टै पाँचवटा आइसोलेसनको शय्यामा राखिन्छ । पोजेटिभ आएको खण्डमा अस्पतालको अर्को खण्डमा व्यवस्था गरिएको शय्यामा सारेर उपचार गरिन्छ । “उपचार नपाएर फर्कनुपर्छ भन्ने सुनेको थिएँ तर त्यस्तो रहेनछ”, तराईबाट आकस्मिक कक्षमा उपचार गराउन आइपुगेका एक बिरामीको भनाइ छ ।

 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आकस्मिक कक्षमा पनि महिला बिरामीको अत्यधिक चाप छ । गर्भवतीदेखि बच्चा जन्माउने समय पुगेका महिलाको भीड हरेक दिन हुने गरेको छ । शनिबार पनि आकस्मिक कक्षमा आउनेको भीड उस्तै थियो । आएका बिरामीलाई सेवा दिन सुरक्षा अपनाउँदै स्वास्थ्यकर्मी निरन्तर खटिरहेका भेटिए ।

 

अत्यधिक चाप रहने शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आकस्मिक कक्ष उस्तै व्यस्त छ । नयाँ बिरामीलाई बेड पाउनै गाह्रो छ । सातवटा भेन्टिलेटरमा सधैँजसो बिरामी रहने गरेका छन् । निःशुल्क सुविधा पाइने भएकाले पनि अत्यन्त भीडभाड रहने गरेको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए । चौबिसै घण्टा खुला रहने आकस्मिक सेवा सक्रिय छ । शङ्कास्पदले लक्षण बताउँदै फोन गरेपछि परीक्षण गरिन्छ । त्यसपछि जटिल रहेमा आईसीयूमा भर्ना गरिन्छ नत्र आइसोलेसनमा पठाइन्छ । त्यो पनि नभएमा आकस्मिक कक्षमै भए पनि राखिन्छ ।

 

राजधानीमै रहेको काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षमा व्यवस्थित सेवा दिइरहेको अस्पतालका सञ्चार संयोजक दीपक बस्नेतले जानकारी दिए । “चौबिसै घण्टा चिकित्सक र नर्सहरू अलर्ट रहेर काम गरिहेका छौँ, अझ क्यान्सर देखिने बिरामीलाई राम्रो सेवा दिनका लागि क्विक एक्सन टिम खटाइएको छ”, उनले भने । जसका कारण अन्यत्र उपचारका प्रक्रियाका लागि सघाउने गरेको छ । पीसीआर परीक्षणका लागि छुट्टै काउन्टर रहेकाले आकस्मिक कक्षमा चाप कम छ । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार