• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
मनोरञ्जन

आखिर किन गरे सुशान्तले आत्महत्या ?

फ्रेसन्युज संवाददाता, काठमाडौं । कोरानाको महामारीको त्रास संगै अहिले बलिउडमा एक पछि अर्को गरेर कलाकारहरुको मृत्युले पुरै बलिउड फिल्म जगत स्तव्ध बनेको छ ।

 

नायक सुशान्त सिंह राजपुतको मृत्युले बलिउडलाई अर्को ठुलो झटका लागेको छ । उनको आत्महत्याको खबरले उनका फ्यानलाई मात्र नभएर पुरा बलिउड जगतलाई नै चतिक तुल्याइदिएको छ । अहिले बलिउडमा मात्र नभएर पुरै देशमा नै सुशान्तको आत्महत्याको कारण के हो भन्ने बिषयको खुबै चर्चा चलिरहेको छ । 

 

सुशान्त सिंह राजपुतको क्यारियर बलिउडमा राम्रोसंग चलिरहेको थियो । बलिउडमा उनको अभिनय रहेको पहिलो फिल्म ‘काया पो छे’ हो । यही फिल्मबाट बलिउडले उनलाई चिन्ने मौका पाएको थियो। यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता फिल्महरुमा अभिनय गरे । यी फिल्महरुबाट पनि सुशान्तले राम्रै चर्चा बटेलेका थिए । 


सुशान्तले अभिनय गरेको फिल्म ‘एमएस धोनी : अनटोल्ड स्टोरी’ ले बक्स अफिसमा धेरै राम्रो व्यापार गरेको थियो । यो फिल्मपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, बलिउडमा उनको माग पनि ह्वात्तै बढेको थियो ।


सुशान्तले अभिनय गरेको ‘बेल्कम टू न्यू योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता फिल्म पनि हिट दर्जामा छन् । उनले बलिउडमा अहिलेसम्म एक दर्जन भन्दा बढि फिल्महरुमा काम गरिसकेका छन् । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्ते बलिउडका चर्चित नायक थिए ।

 

बाहिरबाट चमकदमक देखिने बलिउड स्टारहरूको जीवनलाई भित्रभित्रै निराशा, एक्लोपन र भयले गाँजेको हुन्छ भन्ने विगतका थुप्रै उदाहरणले देखाउँछन् । कोही क्यारियरले गति समात्न नसकेको चिन्तामा डुब्छन् । कोही उचाइमा पुगेको क्यरियर धर्मराउन थालेपछि असन्तुलित हुन्छन् । कोही भने ‘रियल’ र ‘रिल’ जीवनबीच सन्तुलन मिलाउन नसकेर लर्खराउन थाल्छन् । हुन त यस्तै असहज स्थिति अरू क्षेत्रमा पनि भोग्नु नपर्ने होइन । तर, अरू क्षेत्रमा मान्छेलाई आफ्नो हिसाबले स्वाभाविक भएर बाँच्ने छुट हुन्छ । बलिउडकर्मीहरूले त्यो छुट पाउँदैनन् । सुशान्तको मृत्युले पनि बलिउडमा यही कटु यथार्थ जाहेर गरेको छ । 

 

सुशान्त पनि डिप्रेसनको उपचार गराइरहेका थिए भनी भारतीय सञ्चारमाध्यमहरूले लेखेका थिए । सुशान्तको मृत्युलाई लिएर बलिउडमा तरह–तरहको अड्कलबाजी छ । धेरैले उनको असामयिक निधनलाई कठिन संघर्ष गरेर बलिउडमा पाउ जमाएका एक होनहार युवाको ‘सपनाको अन्त्य’ भनेका छन् ।  

 

बिहारको पूर्णिया जिल्लाबाट आएका उनले आफ्नै प्रतिभा र मिहिनेतको दममा सफलताको बाटो खनेका हुन् । सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज हुन बाँकी छ, जसमा उनले क्यान्सर बिरामीको भूमिका गरेका छन् । ३४ वर्षीय सुशान्तको जन्म पटनामा भएको थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेका थिए । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् । 

 

सुशान्त त्यस्ता कलाकार हुन्, जसले टेलिभिजनबाट अभिनय यात्रा सुरू गरे । बलिउडमा न कसैसँग उनको सम्बन्ध थियो, न उनी कुनै स्थापित निर्देशकको समूहभित्रै पर्थे । ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका सुशान्तको टिभीमो पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियल मार्फत् उनले चर्चा बलिउडमा चर्चा बटुलेका थिए । उनी डान्स रियालिटी शो ‘जरा नच के दिखा’ र ‘झलक दिखलाजा’ मा पनि देखिएका थिए । 

 

सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण बलिउडमा परिवारवादको राजनीति हावी भएको भन्दै अहिले सामाजिक सञ्जालमा अनेकन बहस सुरू हुन थालेका छ । बलिउड अभिनेत्री कंगना रनावटले सुशान्तको हत्याको चर्को आलोचना गरेकी छन् । उनले आफनो इन्स्टाग्राम मार्फत एक भिडियो पोस्ट गर्दै ‘सुशान्तको दुखद अवसान आत्महत्या हो या योजनाबद्ध रुपमा गरिएको हत्या हो’ भनेर बलिउड जगतलाई प्रश्न उठाएकी छन् ।

 

यता भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार, वकिल सुधिर कुमार ओझाले सुशान्त सिंह राजपुतको मृत्युको कारण देखाउँदै बलिउड अभिनेता सलमान खान, करण जोहर, एकता कपुर सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेश  विरूद्ध फौजदारी मुद्दा दायर गरेका छन् । यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको भनेर मुद्दामा उल्लेख भएको जनाइएको छ । 

 

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । उक्त मुद्धाको सुनुवाई आगामी जुलाई ३ मा गरिने बताइएको छ ।  

 

यस्तै बलिउड नायक रणवीर कपुरको प्रेमिका आलिया भट्को पनि सुशान्त सिंह राजपुतको निधनसँगै सामाजिक सञ्जाल इन्स्टाग्राममा अनफलो गर्नेको संख्या ह्वातै बडेको छ ।आलियाको इन्स्टाग्राममा चार करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले चार करोड ८० लाख पुगेको छ । उनलाई इन्स्टाग्राममा धेरैले अनफलो गरेका छन् ।

 

आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जलि दिँदै पोस्ट गरेको एक तस्वीरमा तीन लाख ७३ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ उनलाई अनेकन गाली गर्नेको संख्या धेरै छ । अधिकांशले बलिउडमा ‘परिवारवाद’ लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन् ।

 

कुनैपनि जीवनको अन्त्य हुनु एकदम दुखलाग्दो कुरा हो । अझ संघर्षपूर्ण जीवनयापन गरि सधै अगाडी बढ्न खोज्ने सुशान्त जस्ता व्यक्तिको मृत्युले धेरैको मन पक्कै दुखेको हुनुपर्छ । यस्तो बेला सायद उनलाई मन पराउने उनका दर्शकले उनका फिल्म हेरेर उनको जीवन र कामलाई सम्मान व्यक्त गर्न सक्नेछन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार