• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

दामन घटनामा ज्यान गुमाएकालाई क्षतिपूर्ति दिन केरलाका मुख्यमन्त्रीको माग

नयाँदिल्ली । भारतको दक्षिणी राज्य केरलाको सरकारले मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ जना भारतीय नागरिकहरुको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन माग गरेका छन् । उनले केन्द्र सरकारबाट तत्काल आवश्यक पहल थाल्न विदेश मन्त्री एस जयंशकरलाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन् । 

 

‘नेपाल सरकारलाई पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनका लागि समेत आग्रह गर्छौं,’ मुख्यमन्त्री विजयनले विदेशमन्त्री जयशंकरलाई लेखेको चिठी उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । त्यसैगरी उनले घटनाको विस्तृत छानबिनको समेत माग गरेका छन् । ‘उनीहरुको असामयिक निधनले परिवारलाई अत्यन्त ठूलो चोट पुगेको छ । झट्ट हेर्दा यो घटनामा प्रस्ट रुपमा सेवा प्रदायक ९रिसोर्ट० लापर्वाही र नियमनकारी निकायको कमजोरी देखिन्छ,’ मुख्यमन्त्री विजयनले भनेका छन् ।

 

गत मंगलबार एभरेस्ट पानोरमा रिसोर्टमा बसेका दुई परिवारका चार नाबालकसहित आठ सदस्यले ज्यान गुमाएका थिए । ती सबै जना भारतको दक्षिण राज्य केरलाको थिरुवनान्तथापुरम र कोजिकोडे जिल्लाका थिए ।

 

केरलाबाट काठमाडौं हुँदै पोखरा पुगेका उनीहरु माघ ६ गते साँझ दामनको एभरेस्ट पानोरमा रिसोर्टमा रात बिताउन पुगेका थिए । पन्ध्र जनाको संख्यामा त्यहाँ पुगेका ती भारतीय पर्यटकहरुले चारवटा कोठा बुक गरे पनि मृत्यु भएको दुइटै परिवार भने एउटै कोठामा सुत्न गएको थियो । बाँकी सात जना अन्य कोठामा सुते । अत्याधिक जाडोका कारण ग्यास हिटर बालिएको थियो र सबै झ्याल ढोका बन्द थियो । त्यही हिटर नै उनीहरुको मृत्युको कारण बन्यो ।

 

माघ ७ गते बिहान आठै जना बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई तत्काल हेलिकप्टरबाट काठमाडौं पुर्‍याइए पनि मृत घोषित गरिएको थियो । चिकित्सकले उनीहरुको मृत्यु अक्सिजनको अभाव हुन गई निस्सासिएर भएको जनाएका छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार