• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

 एउटा खसीको कर एकसय रुपैयाँ !

बैतडी । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले खसीबोका र राँगाभैँसी देख्नेबित्तिकै सडकमा तेस्र्याएको ढाटको डोरी तानेर सडक बन्द गर्छन् । खसीबोका र राँगाभैँसी गनेर खनखनी पैसा लिएपछि मात्र ढाट खुल्छ । 

 

पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाले कार्यपालिकाबाट निर्णय नै गरेर खसीबोका हिँडाएको निकासी कर लिने निर्णय गरेको छ । पाटन नगरपालिकाले दशरथचन्द मार्गको अनार खोली र दोगडाकेदार गाउँपालिकाले महाकाली मार्गको सिल्लेगाडा सडकमा ढाट राखेका छन् । नगरपालिका भएर जाने खसीबोका र राँगाभैँसीमा निकासी कर लिने नगर कार्यपालिकाको निर्णयअनुसार कर लिने गरेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल महराले बताउनुभयो । 

 

दोगडाकेदार गाउँपालिकाले खसीमा एक सय र राँगाभैँसीमा पाँच सय रुपियाँका दरले कर लिने निर्णय गरेर ठेकेदारलाई तीन लाख रुपियाँमा ठेक्का दिएको छ । २०७६ साउनदेखि पुससम्म डेढ लाख रुपियाँ कर असुल भएको दोगडाकेदार गाउँपालिकाका कर्मचारी अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

 

पाटन नगरपालिकाले लगाएको अनार खोली ढाटमा तरकारीको समेत निकासी कर तिर्नु परेको किसानले गुनासो गरेका छन् । गाउँगाउँबाट तरकारी सङ्कलन गरेर जिल्लाबाहिर पठाउँदै आउनुभएका किसान केशवदत्त भट्टले एक गाडी तरकारी निकासी गर्दा पाँच सय रुपियाँ कर तिर्नु परेको दुःखेसो पोख्नुभयो । तरकारीमा अन्त कतै कर छैन, बैतडीमा मात्रै कर तिर्नुपर्ने बाध्यता रहेको भट्टले गुनासो गर्नुभयो ।

 

बाख्रापलन गर्न किसानले फर्म दर्ताको सिफारिस माग्दा समेत स्थानीय सरकारलाई एक हजार रुपियाँ कर तिर्नु परेको पाटन नगरपालिकाका स्थानीय प्रेम भाटले गुनासो गर्नुभयो । भाटले स्थानीय सरकारले ढुङ्गा, बालुवा, काठ निकासी र सल्लाको खोटोमा कर लिनु स्वाभाविक भए पनि किसानलाई नै मर्का पर्ने गरी कर लिन थालेको बताउनुभयो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार