• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

बाल मन्दिरका निर्देशक कै योजनामा बेचिए शिशु

काठमाडौं । तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ ।

 

सोही आरोपमा होटल याक एन्ड यतीको स्टोर शाखामा कार्यरत महेन्द्र खत्री पनि समातिएका छन् । शिशुको अवैध कारोवारमा मुख्य भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई नियन्त्रणमा लिइसकेको छ ।

 

कलंकीमा सञ्जीवनी गर्भपतन केन्द्र चलाएर बसेकी थापाले आफूकहाँ गर्भपतन गर्न आएकी एक किशोरीलाई प्रसूति गराउन थापाथलीस्थित परोपकार प्रसूतिगृह पठाएकी थिइन् । त्यहाँ जन्मिएकी शिशु निर्मलाले बाल मन्दिरका निर्देशक बालकृष्णलाई दिएकी थिइन् । बालकृष्णले ४ लाख ५० हजार रुपैयाँ लिएर बेलायती नागरिक डिना स्मिथलाई शिशु दिएका थिए । बेलायत जान हिँडेकी स्मिथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि शिशुको अवैध कारोबारमा बालकृष्णको संलग्नता खुलेको थियो ।

 

प्रहरीका अनुसार निर्मलाले शिशु दिएलगत्तै बालकृष्णबाट १ लाख ३५ हजार रुपैयाँको चेक बुझेको देखिन्छ । खातामा पर्याप्त मौज्दात नभएकै कारण निर्मलाले उक्त चेक साट्न सकेकी थिइनन् । उनले अनिच्छापूर्वक जन्मिएको शिशुलाई संरक्षणका निम्ति बाल मन्दिरमा बुझाउने क्रममा बालकृष्णसँग कुराकानी भएको र किशोरीलाई दिनका निम्ति चेक बुझेको दाबी गर्दै आएकी छन् । उनको गर्भपतन केन्द्रले बाल मन्दिरलाई शिशु बुझाउँदा कुनै कागजी प्रक्रिया गरेको प्रहरीले फेला पारेको छैन । बालकृष्णबाट चेक बुझेका कारण शिशुको अवैध कारोबारमा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।

 

याक एन्ड यतीमा कार्यरत खत्रीले विदेशी नागरिक र बालकृष्णबीच सहजीकरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले शिशुको अवैध कारोबारमा खत्रीको भूमिका देखिएको जनाउँदै भने, ‘अनुसन्धान दायरा फराकिलो बनाउँदै जाँदा उनको शंकास्पद भूमिका देखिएको छ ।’ अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बेलायती नागरिक विमानस्थलबाट पक्राउ परेपछि बालकृष्णले नेपाल छोडने तयारी गरेको सूचना प्रहरीले पाएको थियो । बालकृष्णले यसअघि पनि विदेशी नागरिकलाई बालबालिका बेचेको हुन सक्ने आशंकासहित प्रहरीले उनको विगतबारे समेत अनुसन्धान थालेको छ ।

 

उपनिर्देशकका रूपमा बाल मन्दिर छिरेका उनी यसअघि पनि विभिन्न विवादमा तानिएका थिए । ०७२ माघमा उनी बाल मन्दिरको सिफलस्थित संरक्षण गृहमा रहेका चार बालबालिका निजी संस्थालाई बुझाएको विवादमा परेका थिए । संरक्षण गृहका चार बालबालिका फिर्ता नआएपछि केन्द्रीय बाल कल्याण समितिका तत्कालीन कार्यक्रम व्यवस्थापक नमुना भुसालले सिफल शाखाका प्रमुखलाई पत्र काटेकी थिइन् ।

 

सिफल केन्द्रका प्रमुख सुरज खनालले आफू दसैं बिदामा रहेका बेला उपनिर्देशकले आवश्यक प्रक्रिया पूरा नगरी बालबालिका लगेको जवाफ दिएका थिए । बाबुआमा जेल परेपछि बाल मन्दिरको संरक्षणमा रहेका चार बालबालिकालाई डंगोलले नीतिगत निर्णयबेगर निजी गैरसरकारी संस्थालाई दिएको तथ्य अनुसन्धानबाट खुलेको थियो । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार