• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

कुमारीको हीराजडित मुकुटको खोजी तीव्र 

काठमाडौं । वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो । 

 

गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठीमा सुन नै नभएको पाइएको थियो । विसं १९९१ मा सरकारका तर्फबाट गुठी जाँच अड्डाको नामको लगतमा तत्कालीन राजा जयप्रकाश मल्लले यो मुकुट श्रीकुमारीलाई चढाएको अभिलेख छ । 

 

कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार जयप्रकाश मल्लले कुमारीलाई चढाएको हीराजडित छतख्ते मुकुट हराइरहेको छ । कुमारीलाई झट्ट हेर्दा मल्लले चढाएजस्तोे झुक्यानमा पार्न सकिने अर्को मुकुट पहि¥याइएको छ । 

 

पुजारी कर्माचार्यले राजा जयप्रकाश मल्लले चढाएको मुकुटको यकिन अवस्था सार्वजनिक हुन नसकेको जानकारी दिनुभयो । केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीका सूचना अधिकारी श्रीरत्न शाक्यका अनुसार लगतअनुसार कुमारीको छतख्ते मुकुटमा पहिलोमा हीरा दाना १३०, दोस्रोमा पन्ना ३ वटा, नीर, माणिक, मुगा, मोती एक÷एकवटा, गोमेद दुईवटा र हीरा १३ वटा जडित छन् । 

 

तेस्रो तख्तामा हीरा ९० दाना र माणिक २८ वटा जडिएका छन् । चौथोमा हीरा ५५ दाना, माणिक ४२ वटा छन् भने पाँचौँमा हीरा दाना ९६, छैटौँ तख्तामा नौरत्न दाना छवटा, माणिक २९ वटा र सानो पन्ना १२ वटा जडिएका छन् । 

 

श्रीकुमारीको नित्यपूजा गर्नुहुने हनुमानढोका तलेजुका मूल पुजारी उद्धव कर्माचार्य स्पष्ट गर्नुहुन्छ, “लेखक रोवट एन्ड लिन्डा फेलिङले लेख्नुभएको ‘काठमाडौँ भ्याली’ नामक पुस्तकमा विसं २०३२ मा श्रीकुमारीले लगाएको यो मुकुटसहितको फोटो प्रकाशित छ तर यो फोटोमा देखिएको मुकुट कहाँ छ, अत्तोपत्तो छैन । ” यसपछिका नियुक्त कुमारीले यो मुकुट लगाएको पाइएको पनि छैन । 

 

गहना जाँचमा संलग्न गुठी संस्थानका अधिकृतत्रय हरिप्रसाद जोशी, जयप्रसाद रेग्मी र राजेन्द्र दाहाल तथा संस्थानका सहप्रशासक दीपकबहादुर पाण्डेले आफूहरूले यो मुकुट जाँचका क्रममा अवलोकन नगरेको बताउनुभयो । गुठी लगत कार्यालय प्रमुख दाहालले बेचल्तीका गहना मात्र जाँच भएको बताउनुभयो । गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठी सुन नै नभएको पाइएको सहप्रशासक दीपकबहादुर पाण्डेले स्पष्ट पार्नुभयो । 

 

मुकुटबाट जोडिएर दुवै कानतर्फ लत्रने हीराजडित लर्कन पनि कहाँ छ रु खोजीको विषय भएको जानकार बताउँछन् । २०३२ सालयताका कुमारीलाई मुकुटको सट्टा फूलको गुच्छा आकारको भुवादार रातो कपडाको मुकुट लगाएर रथयात्रा गराउने गरिएको छ । 

 

सिद्धिचरणचोक न्युरोड दफ्तर क्लबका अध्यक्ष राकेश शाही यो मुकुट सहरवासीका लागि कौतुहल र जिज्ञासाको विषय भएको बताउनुहुन्छ । रथयात्राबाहेक विभिन्न पर्वमा सहरयात्रा गराउँदा पनि यो मुकुट कुमारीको शिरमा देख्न नपाएको शाहीको भनाइ छ ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार