• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपालमा

काठमाडौं । भारतको मोतिहारीबाट पाइपलाइन मार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए बिहीबार मध्यराति नै पेट्रोलियम पदार्थ नेपाल आइसकेको हुनेछ ।

 

नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक मोतिहारीबाट डिजेल पठाइएको हो । सो पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा खस्ने व्यवस्था मिलाइएको छ । अमलेखगन्जबाट डिजेल पठाउनु अघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइन मार्फत डिजेल पठाइएको हो ।

 

मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल अमलेखगन्जमा आइसकेपछि प्रशोधन गरिनेछ । पानी र तेल छुट्टाएपछि डिपोमा राखिनेछ । यसका लागि चारवटा ट्यांकीलाई तयारी अवस्थामा राखिएको छ । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

 

सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो । सो परियोजना २०७२ भदौमा मात्र अघि बढेको थियो । २०७४ पुसमा भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थालेको थियो । असारमा मात्र पाइपलाइन निर्माण सम्पन्न भएको हो ।
पाइपलाइनको दूरी ६९।२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७।२५ र भारततर्फ ३२।६५ किलोमिटर पर्छ ।

 

नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार ३६ लाख लिटर तेल मौज्दात रहन सक्ने गरी पाइपलाइन निर्माण गरिएको हो । पाइपलाइनबाट तत्काल प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिनेछ । सो तेललाई अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने भएको छ ।

 

अमलेखगन्जमा डिजेल भण्डारणका लागि निर्माण गर्न लागिएको चार भण्डारण केन्द्र निर्माण कार्य पनि सम्पन भइसकेको निगमले जनाएको छ । सो भण्डारण केन्द्रमा १६ हजार किलोलिटर डिजेज भण्डारण हुनेछ । यसअघि निगमसँग अमलेखगन्जमा १९ हजार ८ सय किलोलिटर तेल भण्डारण गर्न क्षमता थियो ।

 

निगमले जनाए अनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा हुनेछ । पाइपलाइनबाट डिपोमा भण्डारण ढुवानी कटाएर प्रतिलिटर १ रुपैयाँ नाफा हुने भएको हो । राजधानी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार