• शनिबार ७-२-२०७६/Saturday 10-19-2019
पत्रपत्रिका

विषादी परीक्षण अनिवार्य गर : चिकित्सक

काठमाडौं ।  चिकित्सक संघ र नेपाल भेटनरी एसोसिएसनले भन्सार नाकामा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण गरेर मात्र तरकारी र फलफूल भित्र्याउन माग गरेका छन् । दुई संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै विषादीको अत्यधिक उपभोगले मुलुकमा बाँझोपना, स्मरणशक्तिमा ह्रासलगायत विभिन्न स्वास्थ्य समस्या बढदै गएको औंल्याएका छन् । 

 

स्वदेशी कृषक, विषादी प्रयोगकर्तालाई समेत कुन बालीमा कहिले, कति पटक, कुन मात्रामा प्रयोग गर्नेबारे आधारभूत ज्ञान हुनुपर्ने एसोसिएसनले जनाएको छ । ‘हाम्रा किसानले सहजै विषादी पाउने परिपाटीसमेत अन्त्य हुनुपर्छ,’ डा। श्रेष्ठले भने, ‘सम्बन्धित विज्ञ, प्राविधिक वा जिल्लास्थित सरकारी निकायका अधिकृतले सिफारिस गरेका आधारमा मात्र विषादी उपलब्ध गराउनुपर्छ ।’

 

विज्ञका अनुसार हालसम्म मुलुकमा विषादी नष्ट गर्ने प्रविधि छैन । म्याद नाघेका विषादी पुनः उत्पादक मुलुकमै फर्काउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने श्रेष्ठले बताए । मुलुकमा कति विषादी छ भन्ने यकिन तथ्यांक पनि सरकारसँग छैन । ‘जनस्वास्थ्य संरक्षण, स्वच्छ व्यापार र स्थानीय कृषि उपजको प्रवर्द्धनमा सहयोग पुग्ने महत्त्वपूर्ण निर्णयबाट सरकार पछि हट्नु आपत्तिजनक छ,’ श्रेष्ठले भने, ‘जतिसक्दो चाँडो आवश्यक तयारी पूरा गरी पूर्वनिर्णय कार्यान्वयन गर्नुपर्छ ।’

 

चिकित्सक संघले तरकारी र फलफूलमा विषादी परीक्षण प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्रीवितरणलाई गुणस्तरीय र स्वस्थ बनाइने उल्लेख छ ।

 

चिकित्सकका अनुसार विषादीयुक्त फलफूल, तरकारी सेवनले मानव शरीरमा अल्पकालीन र दीर्घकालीन समस्या देखा पर्न सक्छन् । मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या, छालामा संक्रमण तत्काल देखा पर्न सक्छन् ।

 

दीर्घकालीन रूपमा मुटु, कलेजो, मृगौलामा गम्भीर असर पार्नुका साथै क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउन सक्छ । बाँझोपनलगायत प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पनि विषादीले निम्त्याउन सक्ने चिकित्सक बताउँछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार