• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

अनाथ बालबालिकालाई टहरोमा राखेर बालमन्दिर प्रहरीलाई दिने तयारी

काठमाडौं । भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।

 

कमलपोखरीबाट वृत्त कार्यालय हटाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ,’ उनले भने ।

 

भवन रहेको जग्गाको क्षेत्रफल चार रोपनीभन्दा धेरै छ । २८ वर्षदेखि त्यो भवनमा शिक्षा मन्त्रालयले शिक्षाका लागि खाद्यान्न परियोजना चलाउँदै आएको छ । बालबालिकालाई टहरोमा राखेर संगठनको भवनमा प्रहरी कार्यालय सार्नु गलत भएको बाल संगठनका कोषाध्यक्ष रामकृष्ण कँडेलले बताए । ‘शिक्षा मन्त्रालयले बहुदल आएदेखि नै हाम्रो भवन प्रयोग गर्‍यो । यसबापत संगठनलाई मन्त्रालयले केही दिएको छैन,’ उनले भने ।

 

मालीगाउँका स्थानीय पवन केसीले गृह मन्त्रालयको निर्देशनपछि शिक्षाका लागि खाद्यान्न  परियोजना सञ्चालन भएको बाल मन्दिरको भवनमा कमलपोखरी वृत्त सार्न लागिएको बताए । यसका लागि गृहसचिव प्रेमकुमार राईले परियोजना भक्तपुरको ठिमीमा सार्न परियोजना प्रमुखलाई निर्देशन दिइसकेको उनको भनाइ छ । उनले भने, ‘परियोजना भएको भवनमा कमलपोखरी वृत्त सार्न गृहसचिवले नै निर्देशन दिएको सूचना आएको छ । त्यसलगत्तै हामीले यस क्षेत्रका सांसद गगन थापा, नेता डा। राजन भट्टराईलगायत नेतालाई ध्यानाकर्षण गराएका छौँ ।’नयाँपत्रिका

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार