• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

त्रिविको परीक्षा लापरबाहीबारे अख्तियारमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरका विद्यार्थीले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको र पाठयक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । डिन कार्यालयमा उजुरी गर्दा सुनुवाइ नभएको भन्दै उनीहरूले सतर्कता केन्द्र र अख्तियारलाई गुहारेका हुन्।

 

विषयविज्ञहरूका अनुसार उक्त तहको क्वान्टम मेकानिक्स विषयमा पाठयक्रमभन्दा बाहिरको प्रश्न सोधिएको छ। परीक्षार्थीले ४५ पूर्णाकको परीक्षामा ३० अंकभन्दा बढी पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको दाबी गरेका छन्। त्यही विषयको प्रश्नपत्र परीक्षा समयभन्दा डेढ घण्टाअगावै बाहिरिएको थियो। गत पुस ९ गते काठमाडौंको महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा प्रश्नपत्र आउट भएको परीक्षार्थीहरूले बताए।

 

१२ बजे परीक्षा सुरु गर्न प्रश्नपत्र बाँडियो, पाठयक्रमभन्दा बाहिरबाट प्रश्न आएपछि विद्यार्थीले विरोध गरे, परीक्षार्थी नीरज सिंहले भने, प्रश्नपत्र संकलन गरियो, डेढ घण्टापछि पुनः सोही प्रश्नपत्रबाट परीक्षा लिइयो। पुराना र नयाँ कोर्सका विद्यार्थीलाई समेत त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान र परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रश्नपत्रबाट परीक्षा लिएका हुन्।

 

नयाँ र पुरानो कोर्सको पाठयक्रममा धेरै फरक छ, एउटै प्रश्नपत्रबाट परीक्षा लिनु लापरबाही हो, एक प्राध्यापकले भने। विद्यार्थीले परीक्षामा लापरबाही गरेको आरोपमा डिन रामप्रसाद खतिवडा, परीक्षाका सहायक डिन तेज बीसी, विषय समितिका अध्यक्ष विनिल अर्याल र विषयविज्ञ नारायण अधिकारीविरुद्ध सतर्कता केन्द्र र अख्तियारमा उजुरी दिएका हुन्। विद्यार्थीले प्रश्नपत्र बाहिरिएको र पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको विषयमा डिन कार्यालयमा उजुरी दिएका थिए। विद्यार्थीले उक्त परीक्षा रद्द गरेर पुनः परीक्षा गर्न माग गरेका छन्।

 

विषय समितिका अध्यक्ष अर्यालले पाठयक्रम बाहिरको प्रश्न नसोधिएको व्यहोराको प्रतिवेदन बुझाएपछि डिन कार्यालयले उक्त दिनको परीक्षालाई वैधता दिएको छ। स्रोतले भने प्रश्नपत्र निर्माणमा उनको संलग्नता रहेका कारण झूटो प्रतिवेदनु तयार गरेको जनाएको छ।

 

बीसी र अधिकारीले भने परीक्षा केन्द्रमा पुगेर बाहिरिसकेको प्रश्नपत्रमा परीक्षा दिन आग्रह गरेका थिए। बीसीले विषय समितिको प्रतिवदेनअनुसार प्रश्नपत्रमा पाठयक्रम भित्रबाटै रहेको बताए। सो विषयमा प्राध्यापक र विद्यार्थी भने तेस्रो सेमेस्टरको पाठयक्रमबाट प्रश्न सोधिएको बताउँछन्।

 

डिन कार्यालयले उजुरी सुनुवाइ नगरेपछि विद्यार्थी केन्द्र र अख्तियार पुगेका हुन्। परीक्षा केन्द्रमा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी आएर पास गराइदिने आश्वासन दिएका छन्, हेरौं नतिजा कस्तो आउँछ, परीक्षार्थी सुरेन्द्र सिंह ठगुन्नाले भने। कान्तिपुर दैनिक 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार