• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

बालुवाटारको जग्गा किनवेच भएको छैन : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । बालुवाटारको जग्गा किनबेच भएको पाइएमा जतिसुकै ठूला पद वा हैसियतले छानबिनलाई प्रभावित पार्न नसक्ने उनले स्पष्ट पारे ।

 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकारी जग्गा सरकारको नाममा ल्याएरै छाड्ने घोषणा गरे । ‘ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस्, कारबाही हुन्छ, सरकारको नाममा जग्गा आउँछ,’ मन्त्री बाँस्कोटाले भने, ‘कुनै पद, ओहोदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्तिको रक्षा गर्ने कुरालाई प्रभावित पार्न सक्दैन ।’

 

मन्त्री बाँस्कोटाले जग्गा विवाद प्रधानमन्त्री निवास नभई सँगै जोडिएको ललिता निवासको भएको समेत बताए । उक्त जग्गा रोक्का भइसकेको जानकारी गराउँदै उनले सरकारी सम्पत्तिको संरक्षणमा कुनै सम्झौता नहुने बताए । संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंअन्तर्गत रसुवा जिल्लाको रसुवागढी तथा काठमाडौं जिल्लाको नागढुंगामा अस्थायी पशु क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने सरकारले निर्णय गरेको जानकारी दिए ।

 

त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा, संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायम मुकायम गरी प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा, अतिरिक्त समूहमा सचिव रहेका डा.हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ ।

 

नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् पेस गर्न सरकारले स्वीकृति दिइएको पनि उनले बताए । राजधानी दैनिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार