• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
प्रविधी

के मान्छे मेशिन हो ?

-सुनिल पौडेल

मान्छे मेशिन त होइन बिग्रनलाई । त्यही पनि यो शब्द प्रयोग हुन्छ मान्छेलाई व्याख्या गर्दा र सोच्दा अचम्म लाग्छ । त त बिग्रिस नी ।  यो कुरा आमाबुबाले आफ्ना छोराछोरीलाई भनेका हुन्छन् । पढाईमा होस् वा कुनै काम गर्दा नराम्रो महशुस भएमा बिग्रिस भन्ने शब्द प्रयोगमा आउँछ ।

 

बिधार्थी जीवनको उदाहरण लिंदा कुनै पनि बिधार्थी चाहेर फेल हुदैनन् । फेल त केवल कमजोरीले गर्दा हुने हो । बिधार्थीलाई त्यो बिषयमा त्यती ध्यान थिएन वा त्यो बिषयमा उसलाई चाहना भएन ।  । फेरी फेल भयो भन्दैमा बिग्रियो भन्ने त हुदैन । यसमा सबै एकैनाश हुन्छन् भन्ने छैन । घरमा जब छोराछोरी रिजल्ट लिएर आउँछन् तब सुरु हुन्छ सोधपुछ, कस्तो भयो ? के भयो ? किन भयो ? भन्ने प्रश्नहरु एकमाथि अर्को थपिदै जान्छ ।  यो कुनै ठुलो बिषय पनि होइन किनकि हरेक छोराछोरीले यो प्रश्नहरुको सामना गरेकै हुन्छन् र नराम्रो हुने खालको उत्तर आएमा पुन ः बिग्रिस भन्ने शब्दको प्रयोग हुन्छ ।  त्यो पनि एकदम उदास मुन्द्रामा लाग्छ संसार नै उल्टिन लग्यो वा कुनै प्रलय आउन लग्यो ।  त्यो परिस्थितीलाई ब्याख्या गर्न कुनै अर्को शब्दहरु पनि थिए तर बिग्रिस भन्ने शब्द नै प्रयोग हुन्छ ।

 

गुण्डागर्दी गर्ने, लागूऔषध सेवन गर्ने, परिवारको इज्जतको सम्मान नगर्नेलाई बिग्रियो भन्दा खासै फरक पर्दैन किनकी समाजको मानमर्यादा भित्र नरहेकालाई व्याख्या गरेर भन्न मिल्छ तर सोचेभन्दा नराम्रो रिजल्ट आउँदा बिग्रियो भन्न मिल्दैन । खेलमा हारजित त हुन्छ त्यसैले सबै बिधार्थी पास हुन्छन् भन्ने पनि हुदैन । चाहना र लक्ष्य सबैको बेग्लै हुन्छ । विज्ञानमा चाहना नभएका बिधार्थीलाई विज्ञान पढ्न बाध्य बनाइन्छ भने त्यो बिधार्थीको रिजल्ट अवश्य नै नराम्रो आउँछ । यस्तै कक्षामा अन्तिम बेन्चमा बस्ने बिधार्थी गुरुसंग बोल्न डराउँछ र नबुझेको कुरा पनि सोध्न डराउँछ भने यसको मतलब यो होइन उ बिग्रेको तर उ भित्र कुनै नौलो प्रतिभा लुकेको होला र उसलाई अरुमा चाहना हुनसक्छ भन्ने पनि बुझ्नु पर्छ । यसरी बारम्बार उसलाई हेपेर बोल्ने वा उसलाई गाली गर्दा उसको लुकेको प्रतिभा कहिल्यै बाहिर आउँदैन । यो सबै उदाहरण एकचोटी सोचौ र भनौ के बिग्रिस भन्ने शब्द प्रयोग गर्दा हुने रहेछ त ?

 

हामी रिजल्ट बिग्रियो भन्छौ, सामान बिग्रियो भन्छौ तर रिजल्टलाई आधार बनाएर सप्रियो वा बिग्रियो भनेर छुट्टाउन भने मिल्दैन । विश्वमा धेरै व्यक्तिहरु पनि छन् जो फेल भएर पनि आफ्नो लक्ष्यमा सफल भएका छन् । एउटा बिषय लाएर फेल भयो भने सामाजले बिग्रियो भन्छ तर बाँकिका अरु बिषयमा पास भएको भने देख्दैन । यसरी रिजल्ट नराम्रो आउँदा बिग्रियो भनिन्छ भने हामीले गुण्डागर्दी गर्ने, झगडा गर्ने र समाजको नियम तोड्नेलाई के भनेर व्यख्या गर्ने  त । अब सोचौ कुनै व्यक्तिको रिजल्टमा ९० प्रतिशत आएको छ र उ अपराधिक गतिविधिमा संलग्न छ, के हामीले त्यो व्यक्तिलाई के भनेर व्यख्या गर्ने उसको रिजल्ट त एकदमै राम्रो छ भन्ने हो । 

 

समाजले आशा राखेको रहेछ , हामी समाज मै बस्ने पर्यौं । जो मान्छेले समाजमा केहि योगदान दिदैन जस्तो लग्यो भने मान्छेलाई बिग्रेको भनिँदो रहेछ । जतिसुकै मेरो जीवन मेरो चहाना भनेर मनमानी गरे पनि मान्छेलाई स्थर दिने समाज नै रहेछ । कोहि मान्छे जसले मापसे गरोस, नियम तोड़ोस् र यदी उसले समाजमा केहि योगदान गरेको छ भने त्यो मान्छेलाई बिग्रेको भनिदैन तर कोहि मान्छे जो सोझो छ र नियममा बसेको छ तर समाजमा केहि पनि योगदान दिएको छैन भने उसलाई समाजले बिग्रेको भन्छ । यसलाई सरल रुपमा भन्नुपर्दा यदी हामी कोहि आफन्तको गयांै भने आफन्तले प्रश्न गर्छन के गर्दैछौ ? यसको उत्तर यदी हामीले दिन सकेनौ वा केहि गरेको छैन भन्यौ भने उनीहरु सोच्चछन् हामी बिग्रियौ । हामीहरु भन्छौ धनी बाउको बिग्रेको छोरा, किन भनियो त ? किनकि उसले केहि काम गरेको हुदैन, कामको मतलब कुनै व्यस्ततामा सामेल हुने हो जसले समाजमा केहि योगदान दियोस् जस्तै कलाकारहरुले रमाइलो गराउन, व्यवसायीले उपभोग्य समान प्रदान गर्छन, गाडीका सह–चालक नै किन नहोस् उनीहरुले पनि समाजमा योगदान दिन्छन् र यसरी कुनै योगदान दिन नसके बिग्रियो भन्ने सोचाई राख्छ यो समाज । 

 

विकसित मुलुकहरुमा भने नीट भन्ने शब्द रहेछ । यसको मतलब काम, शिक्षा र तालिममा सामेल नभएको भन्ने हो । जसले काम गरेको छैन, शक्षा छैन र कुनै तालिम लिएको छैन त्यस्तो मान्छेलाई नीट भनिन्छ । यो शब्दले मान्छेको जीवन स्थर चिनाउँछ र हामीले जस्तो बिग्रेको भनेर भनिदैन । नेपाली समाजमा तपाईसँग थुप्रो सम्पति किन नहोस, तपाईको परिवारको इज्जत जति नै ठुलो किन नहोस्, तपाईले नराम्रो काम गर्नु भएको छैन तर तपाईले नीटको आवश्यक पुरा गर्नु भयो भने के तपाई विग्रिएको हो ? केहि पढिरहेको छ, तालिमहरु पनि गरिरहेको छ वा सानी बच्चाहरुलाई किन बिग्रेको भनिदैन, उत्तर समाजले उनीहरुले राम्रो गर्छन् भन्ने आशा राखे्का छौं । 

 

यी सबै समाजमा सिमित छ । यदि तपाई कुनै ठाउँमा गएर बस्नुस ।  त्यहाँ समाज छैन तपाई त्यहा मनलाग्दी गरेर बसे पनि तपाइलाई बिग्रिस भनेर भन्न कोहि आउँदैन । त्यहाँ तपाई बाहेक अरु कोहि हुदैनन् तपाई प्रति आशा राख्न धेरै हुन्छन् । यो कल्पनामा मात्रै हुनेछ किनकि हामी सामाजिक प्राणी हौ र हामी समाज बिना बस्न सक्दैनौं, के गर्ने?

 

त्यही भएर मान्छे बिग्रेको छ कि छैन भनेर पहिला नै मुल्याङकन गर्न मिल्दैन । कोहि पनि बिग्रेको छ भन्ने हुदैन किन भने किताबलाई त्यसको बाहिरी बनावटबाट मुल्यांकन गर्नु मुर्खता हो । मान्छे कुनै मेशिन होइन बिग्रनलाई त्यही भएर मान्छेको मुल्यांकन गर्दा बिग्रियो भन्ने शब्द प्रयोग गर्न मिल्दैन र यसको मतलब मान्छेले म त मान्छे हो म आफनै तरिकाले जिउँछु भन्नु पनि ठिक होइन । यसरी कुनै पनि मान्छेलाई नबुझीकन मुल्यांकन गर्नु भनेको किताबलाई नपढिकन बाहिरी पृष्ट हेरेर मुल्यांकन गरे बराबर हो  । उनीहरुलाई बुझ्न जरुरी छ र मुल्यांकन गर्दा बिग्रिस वा बिग्रियो भन्नु पनि गलत हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार