• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

सरकारको काम-कारवाही पीडादायी र निराशाजनक: विवेकशील साझा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टीले बधाई दिएको छ ।

 

पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकोमा भने चिन्ता ब्यक्त गरेको छ ।

 

बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र आफ्नो पार्टीले समेत ठूलो अपेक्षा राखेको उल्लेख गर्दै ऐतिहासिक शक्ति बोकेको सरकार हुँदाहुँदै पनि सरकारको काम–कारवाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा विवेकशील साझा पार्टीले चिन्तित भएको जनाएको छ ।

 

‘भ्रष्टाचार चुलिंदो छ । दण्डहीनताले प्रश्रय पाईरहेको छ । अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन् ।

 

निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन । विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

समाजवाद उन्मुख भनिएको हाम्रो राज्य विपन्न र गरिव जनताको झुपडीमा पुग्ने कुनै संकेत देखिएको छैन भन्दै समग्रमा भन्नु पर्दा विकास र समृद्धिको मूल नारा बनाएको सरकारले सो हासिल गर्नका लागि रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन नसकेको विवेकशील साझाको ठहर छ ।

 

‘भ्रष्टाचार चुलिंदो छ । दण्डहीनताले प्रश्रय पाईरहेको छ । अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन् । निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन । विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ ।’

 

लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण हुँदै गरेको देखिंदै गएको भन्दै वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटक–पटक चुकेको उल्लेख छ । ‘हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

विगत एक वर्षको गंभिर समीक्षा गरी अगाडिको बाटो तय गर्नका लागि विवेकशील साझाले सरकारलाई आग्रह समेत गरेको छ ।

 

‘यो घडिमा सरकारका कामकारवाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनु भन्दा आलोचनालाई सकारात्मकरूपमा ग्रहण गरी आम जनताको मन जित्ने कार्यशैली अपनाउन हामी सरकारलाई सुझाव दिन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार