• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
शिक्षा

अनलाइन फाराम आह्वान गरेपछि त्रिविको ४५ औँ दीक्षान्तमा १० हजार बढी आवेदन

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

 

 यस वर्र्ष हुने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

गत वर्र्ष नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको छ । पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे ।

 

उहाँका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब सात हजारको सङ्ख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए । आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

 

सदस्य सचिव अधिकारीका अनुसार त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरेको थियो तर तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन् । आगामी पुस ३ गते हुने समारोहमा छ हजार ९ सय अभिभावकसमेत सहभागी हुने सदस्य–सचिव अधिकारीले जानकारी दिए ।

 

सहभागी प्रतिअभिभावकका लागि रु ३ सय तोकिएको छ । त्रिविले स्नातक तहका लागि रु दुई हजार २००, स्नातकोत्तर तहका लागि रु दुई हजार ७०० र एमफिल ९दर्शनाचार्य० र पिएचडी ९विद्यावारिधि०का लागि रु तीन हजार २०० शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि रु एक हजार ५०० धरौटी तोकिएको छ ।

दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् । यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।

यसैगरी त्रिवि ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी र सदस्यसचिवमा परीक्षा सहनियन्त्रक पशुपति अधिकारी रहनुभएको छ ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार