• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
शिक्षा

आईटी हब बन्दै नेपालः पुराना कानुन बदल्न र स्टार्टअप प्रवर्द्धन गर्न ‘घर-दैलो’ यात्रा सुरु

काठमाडौं । पछिल्ला केही वर्षहरुमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विकास हुँदै आएको छ। प्रविधिले फड्को मारिरहँदा संघीय राजधानी काठमाडौं उपत्यका मात्र होइन प्रादेशिक सहरहरु बुटवल, धरान, जनकपुर र सुदूर ग्रामीण क्षेत्रहरुमा समेत आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन केन्द्रहरु स्थापना हुन थालेका छन्।

 

युवा पुस्ताले प्रविधि क्षेत्रमा रोजगार खोज्नु सामान्य भएको छ भने विदेशबाट लगानीकर्ताहरु नेपाली आईटी उद्योगप्रति आकर्षित भइरहेका छन्। उनीहरुले धमाधम प्रविधिमा आफूलाई अब्बल साबित गर्दै नेपाली सीप र कलालाई विश्वस्तरमा पहिचान र प्रतिनिधित्व गर्दै आइरहेका छन्।

 

सफ्टवेयर निर्यातदेखि पर्यटन प्रवर्द्धनसम्म प्रविधिलाई टुल्स बनाइ नेपालीको मौलिक पहिचान प्रविधिमार्फत दैनिक रुपमा प्रवर्द्धन गरिरहेका छन्, नेपाली युवाहरु। यतिमात्र नभई सस्तो, भरपर्दो र विश्वमै नम्बर वान भइहेको प्रविधि भएको मुलुक नेपाल आइटीको हब बन्ने दिशामा उन्मुख छ। तर, यो उत्साहका बीच, क्षेत्रका वास्तविक चुनौतीहरु अझै अपरिहार्य छन्। संरचनागत कमजोरी, पुराना कानुनी संरचना, नीतिगत अस्पष्टता र संस्थागत समन्वयको कमीले नेपाली आईटी उद्योगको पूर्ण क्षमता प्रदर्शन हुनबाट रोक्दै आएको छ।

 

यही यथार्थलाई दृष्टिगत गर्दै नेपालका अग्रणी आईटी अभियन्ता फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान फेडरेसन)का वरिष्ठ उपाध्यक्ष र साइबर सुरक्षा विशेषज्ञ चिरन्जीवी अधिकारीले ‘सूचना प्रविधि घर–दैलो यात्रा’ नामक अभियानको औपचारिक सुरुआत गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गरिएको यो अभियान केवल व्यक्तिगत पहल मात्र नभएर समग्र नेपाली आईटी क्षेत्रसँग गाँसिएको नीतिगत आन्दोलनका रुपमा लिइएको छ। अधिकारीको लक्ष्य भनेको सरकार, नीतिनिर्माता र राजनीतिक दलहरुसम्म आईटी क्षेत्रका वास्तविक समस्यालाई पुर्याउनु हो।

 

नेपाल सरकारले केही वर्षअघि ‘डिजिटल नेपाल फ्रेमवर्क’ घोषणा गरेको थियो। यसले डिजिटल पूर्वाधार, डिजिटल साक्षरता, ई–गभर्नेन्स, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विकासलाई प्राथमिकता दिने वाचा गरेको थियो। तर, कार्यान्वयनमा विभिन्न चुनौतीहरुले डिजिटल नेपालको सपना पूर्ण रुपमा साकार हुनबाट रोकिरहेका छन्। मन्त्रालय र सरकारी निकायबीच समन्वयको अभाव, स्पष्ट नीति र कार्ययोजनाको कमी, पुराना कानुनी संरचना र प्रविधिमा नयाँ चुनौतीहरुको सामना गर्न असमर्थता यस योजनालाई कागजमै सीमित राख्ने खतरा बढाएको छ।

 

नेपालमा सूचना प्रविधि क्षेत्रमा कानुनी संरचनाको मुख्य आधार भनेको ‘विद्युतीय कारोबार ऐन, २०६३’ हो। तर यो ऐन लगभग दुई दशक पुरानो भइसकेको छ। त्यस समय कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ, ब्लकचेन, बिग डाटा, इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता प्रविधिहरुको कल्पनासमेत गर्न सकिँदैनथ्यो।

 

आजको डिजिटल युगमा डाटा नै नयाँ ‘तेल’का रुपमा लिइन्छ। तर, नेपालका कानुनी संरचनाले डाटा संरक्षण, गोपनीयता, एल्गोरिदमिक उत्तरदायित्व र डाटा नैतिक प्रयोगजस्ता अत्यावश्यक विषयलाई स्पष्ट रुपमा सम्बोधन गर्न सकेको छैन। यसले विदेशी लगानीकर्तालाई अन्योलमा पार्दै आएको छ भने स्थानीय स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ सिर्जना गरेको छ।

 

‘हामीसँग प्रतिभाशाली युवाहरु छन्, उत्कृष्ट स्टार्टअप आइडिया छन्, तर पुरानो कानुन र नीतिगत अस्पष्टताले हाम्रो क्षमता सीमित बनाएको छ। डिजिटल नेपालको सपना केवल कागजमा रह्यो भने युवाहरुको उत्साह बिथोलिन सक्छ।’

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार