• बिहीबार १२-२०-२०८१/Thursday 04-03-2025
बिश्व

म्यान्मार भूकम्पः भग्नावशेष हटाएर जीवितको खोजी जारी,अत्यावश्यक उपकरणको अभाव

म्यान्मारमा विध्वंसकारी भूकम्पमा हालसम्म १६ सय व्यक्तिको ज्यान गएको पुष्टि हुँदा कतिपय ठाउँमा खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेको स्थानीयवासीले बताएका छन्।

 

शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ।अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।

 

सन् २०११ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्टाले चार वर्षदेखि जारी गृहयुद्धका कारण मुलुकको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ। त्यहाँ विद्रोही समूहहरू र भ्रष्टचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन्।

 

शुक्रवारयता उद्धार प्रयासहरू जारी रहे पनि र अन्तर्राष्ट्रिय सहायता पुग्न थालिसकेको भए पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा ती सहयोग पुग्न सकेको छैन र सर्वसाधारण मानिसहरूले खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेका छन्।

 

उद्धारकर्ताहरूले म्यान्डलेमा एउटा १२ तले भवनबाट ३० घण्टापछि एक महिलालाई भग्नावशेषबाट जीवितै निकालेका छन्।तर रेडक्रसले त्यहाँ भग्नावशेषभित्र अझै ९० जनाभन्दा बढी व्यक्ति फसेको बताएको छ।

 

नजिकै पर्ने एउटा नगरमा प्रिस्कूल का १२ जना बालबालिका र एक शिक्षकका शव भग्नावशेषबाट निकालिएको अधिकारीहरूले बताएका छन्।संयुक्त राष्ट्रसङ्घले चिकित्सकीय आपूर्तिहरूको चरम अभावले सहायता प्रयास प्रभावित भएको जनाएको छ।बीबीसी

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार