• बिहीबार १२-२०-२०८१/Thursday 04-03-2025
डबली

काठमाडौं उत्सवमा गौतम र चौधरीबिच संवाद

काठमाडौँ । साहित्य, संस्कृति र कलाको उत्सव, काठमाडौं उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वैरागी काइँला, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, तुलसी दिवस, होमनाथ सुवेदी र दिनेश अधिकारीले आफ्ना कविता सुनाउनुभएको थियो । दुई दिनसम्म चल्ने उत्सवमा जम्मा १५ सत्र हुनेछन् । उत्सवको पहिलो दिनको पहिलो सत्र काठमाडौंकै संस्कृति विशेष भएको थियो । ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नुभएको थियो । उक्त सत्रको सहजीकरण पत्रकार राजेन्द्र बाँनियाले गर्नुभएको थियो ।  

 

त्यस्तै लेखक धु्रवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’ शीर्षकमा छलफ भएको थियो । उत्सवमा गौतम पहिलो पटक कार्यक्रममा प्रश्नकर्ताका रुपमा प्रस्तुत भए । नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा उनका प्रश्नहरुको सामना गर्ने अतिथि थिए, व्यवसायी तथा लेखक वसन्त चौधरी । भारतीय गायक गायिका कैलाश खेर, श्रेया घोषाल गीतकारको परिचय बनाएका चौधरीबीचको कुराकानी पनि संगीतबाटै सुरु भयो। गौतमले नारायणगोपालसँगको अन्तिम भेटको स्मरण गर्दै सोधे, तपाईंका गीतहरु नेपाल र भारतका धेरै चर्चित गायक गायिकाले गाएका छन् । 

 

नारायणगोपाललाई गीत गाउन दिन मन लागेन ? जवाफमा चौधरीले भने, मैले नारायणगोपालका लागि गीत लेख्न आफूलाई परिपक्व ठानिनँ। ठट्टा गर्न माहिर लेखक गौतमले थपे, तपाईंसँग नारायणगोपालले गीत माग्नुभएन। मैले भने गाउन दिँदा पनि गाउनुभएन । छलफल वक्ता चौधरीको साहित्यिक लेखनको सेरोफेरोमा केन्द्रित रह्यो । चौधरीले भने, मलाई व्यवसायभन्दा सधैं कला साहित्यले तानिरह्यो । मेरा गीत कविता सुनेर दर्शक स्रोताले दिने प्रतिक्रियाले मलाई अरु सबै कुराले भन्दा बढी ऐश्वर्य दिन्छ । पत्रिका प्रकाशनमा समेत समय र पैसा लगानी गरेका व्यवसायी चौधरीले पत्रकारितामा पनि आफूलाई विशेष लगाव भएको बताए। व्यवसाय, पत्रकारिताबाहेक साहित्यका गीत कवितालगायत विधामा कलम चलाएका चौधरीलाई गौतमले सोधे, तपाईंले लेखनका धेरै विधालाई छुनुभएको छ, यसमा कुनचाहिँ नजिक छ ? चौधरीले भने, सबैभन्दा नजिक कविता नै हो ।  

 

गायिका शान्तिश्री परियारको संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मका कुराहरु पनि उत्सवमा सुनिएका थिए । शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गरेका थिए । ‘ज्ञान विवेक र विज्ञान’ विषयलाई लेखक विमल आचार्यले सहजीकरण गर्नुभएको थियो । विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गरिएको थियो ।

 

त्यस्तै राजेन्द्र सापकोटा, जिस्वन तुलाधर श्रेष्ठ र लक्ष्मण गौतमबीच पर्यटनमा पहल शीर्षकमा छलफल भएको थियो । उक्त छलफलको सहजीकरण पत्रकार विराट अनुपमले गरेका थिए । उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको थियो । दशकौंदेखि मकै र चिया बेचेर लामो अनुभव सँगाले दुई वक्ताहरुको अनुभव समेटिको भुइँका कुरा शीर्षकलाई लेखक विना थिङले सञ्चालन गर्नुभएको थियो । संवाद र कविता गजल प्रस्तुति बाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिएका छन् ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार