• बुधबार १०-९-२०८१/Wednesday 01-22-2025
देश/प्रदेश

रवि र छविसहित २२ जना विरुद्ध मुद्दा दायर

रुपन्देही । जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरू माथि दुईवटा अभियोजन दर्ता भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पेश गरेको थप अभियोजन र पुरक अभियोजन जिल्ला अदालत रुपन्देहीले आज दर्ता गरेको हो ।

 

अदालतले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राई ९जीवी० सहित १७ जनाविरुद्ध थप अभियोजन र गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता गरिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । दुवै मुद्दा आज साँझ ५ बजेतिर मात्र दर्ता भएको श्रेस्तेदार ज्ञवालीले बताए । थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३२ र थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३३ रहेको अदालतले जनाएको छ ।

 

रवि लामिछाने, छविलाल जोशीसहित जोडिएको पूरक जाहेरी अनुसारको अभियोजन पनि आजै दर्ता गरिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप सङ्गठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उनको भनाइ छ ।

 

सरकारी वकिलको कार्यालयले मुल अभियोगमा ८६ करोड बढी, थप अभियोगमा २ करोड ७ लाख बढी र पुरक अभियोगमा ५५ करोड ५८ लाख बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको जिल्ला न्यायधिवक्ता पौडेलले जानकारी दिए ।  सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको बताइएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार