सादगी नायक ‘किसुनजी’
काठमाडौं । प्रजातन्त्र पुनर्स्थापानाका लागि २००७ सालको जनआन्दोलनका नायक, सन्त नेता, पूर्र्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सोमबार १०१ औँ जन्मजयन्ती । उदीयमान राजनीतिमा मौलाउँदै गएको ‘पपुलिजम’,लोकरिझ्याइँपूर्ण तडकभडकमा रमाइरहेको पछिल्लो पुस्ताका लागि सन्त नेता भट्टराईको जीवनशैली, दृढता, सादगी र राजनीतिक निष्ठा अनुकरणीय हुन सक्छ ।
राजनीतिमा सन्त नेताका रूपमा परिचित भट्टराई राणा शासनविरुद्ध नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुरको कमान्डर हुनुहुन्थ्यो । सन्त नेताका रूपमा नेपालमा मात्र नभई विश्व राजनीतिमा समेत चिरपरिचित भट्टराई राणा शासनविरुद्ध क्रान्तिमा कठोर हुनुहुन्थ्यो । विसं २०६२/६३ को जनआन्दोलनमा नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाको अन्त्य र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अँगाल्ने निर्णय गरेसँगै भट्टराईले नेपाली कांग्रेस नै परित्याग गर्नुभयो । अनि उहाँ राजनीतिक जीवनबाटै निष्क्रिय रहनुभयो । २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री रहनुभएका भट्टराईले सक्रिय राजसंस्थालाई भने कहिल्यै स्वीकार गर्नुभएन।
भट्टराईको १०१ औँ जन्मजयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराई केन्द्रले सोमबार आयोजना गरेको ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीका वक्ताले भट्टराईको राजनीतिक जीवन दर्शन, व्यक्तित्व र उहाँले अनुसरण गर्नुभएका विविध पक्षबारे चर्चा गर्नुभयो । गोष्ठीका प्रमुख वक्ता नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भट्टराईले प्रजातन्त्र पुनस्र्थापानाका लागि गरेको सङ्र्घषको चर्चा गर्दै उहाँको दृढता, सङ्कल्प, त्याग र सादगी जीवन नयाँ पुस्ताका राजनीतिकर्मीका लागि मार्गदर्शन हुने बताउनुभयो । कोइरालाले भन्नुभयो, “कांग्रेस स्थापनासँगै बिपी कोइराला, सुवर्ण शमशेर, सूर्यनाथ उपाध्याय, किसुनजीबिच सहकार्य र आन्तरिक सङ्घर्ष सुरु भयो तर राजनीतिक निष्ठा र प्रजातन्त्र पुनस्र्थापना गर्ने साझा सङ्कल्पबाट उहाँहरू अलग हुनुभएन ।”
कांग्रेसभित्र पछिल्लो समय भइरहेको सङ्घर्ष र सहकार्य पनि यसैको एक निरन्तरता रहेको बताउँदै डा। कोइरालाले आन्तरिक सङ्घर्ष र सहकार्यलाई कतिपयले द्वन्द्व र असहमतिका रूपमा मात्र बुझ्नु र यसले पार्टी नै सकिन थाल्यो भनेर प्रचार हुनु गलत रहेको बताउनुभयो । उहाँले कांग्रेसभित्र मुलुकका मूल मुद्दामा कुनै मतभेद नरहेको बताउँदै आन्तरिक प्रतिस्पर्धा र सङ्र्घषले पार्टी कमजोर र विभाजित नहुने धारण राख्नुभयो ।
इतिहासविद् डा.राजेश गौतमले नेपालको राजनीतिमा निष्ठा र आदर्शको अभाव देखिँदै गरेको बताउँदै नयाँ पुस्ताका लागि सन्त नेता किसुनजीको व्यक्तित्व राजनीतिर्मीका लागि आदर्श रहेको बताउनुभयो । राजनीतिक जीवनमा किसुनजी पटक पटक षड्यन्त्रको सिकार बनेको स्मरण गर्दै डा। गौतमले भन्नुभयो, “किसुनजीलाई आफूविरुद्ध षड्यन्त्र गर्नेबारे जानकारी हुँदा पनि त्यसविरुद्ध न त उहाँले कुनै प्रतिक्रिया दिनुभयो, न त कुनै प्रतिशोधपूर्ण व्यवहार नै गर्नुभयो । उहाँ सधैँ भन्नुहुन्थ्यो, सहयोग असहयोग गर्नेसँग मेरो कुनै गुनासो छैन ।”
नेता भट्टराईसँग लामो सङ्गत गर्नुभएका डा। गौतमले किसुनजीको त्याग, समर्पण, प्रेम, राजनीतिक निष्ठाको चर्चा गर्दै उहाँको आदर्शलाई बिर्सिंदै गए कांग्रेस कमजोर बन्ने दाबी गर्नुभयो । अर्का वक्ता इतिहास तथा संस्कृतिविद् डा। रमेशकुमार ढुङ्गेलले नेता भट्टराई राणासँग कठोर र संवैधानिक राजतन्त्रप्रति भने सधैँ नरम र सद्भाव राख्ने गरेको बताउनुभयो ।
भट्टराईको राजनीतिक यात्रा क्रान्तिबाट सुरु भई शासन सत्ता सञ्चालन गर्ने जिम्मेवारीमा आइपुग्दा सादगी, पारदर्शी, दृढ, सन्त नेताका रूपमा उहाँले आफूलाई स्थापित गरेको डा. ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा आउने हरेक व्यक्तिलाई किसुनजी सादगी जीवनमार्फत पनि राजनीति गर्न सकिन्छ भन्ने दृष्टान्त हुनुहुन्छ ।” उहाँले अहिलेको राजनीतिमा भ्रष्टाचार, बेथिति र स्वार्थ हाबी हुँदा मुलुक झन् झन् पछाडि पर्दै गएको बताउँदै किसुनजीको आदर्श हरेक राजनीतिक पार्टीका लागि अनुसरणयोग्य रहेको पनि बताउनुभयो । गान्धीवादी नेता भट्टराई स्वच्छ छविका नेताका रूपमा पनि परिचित हुनुहुन्छ । गोरखापत्र
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस