• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

‘महाजात्रा’ : तीन दिनमा चार करोड २६ लाखको व्यापार

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।


निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र संदेशलाई दर्शकले रुचाउनु भएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ

 

। फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ, उहाँहरूले हामी प्रति गरिरहनुभएको विश्वास घटेको छैन । यो हाम्रो सबै भन्दा ठुलो उपलब्धी हो’, निर्देशक भट्टराईले भने । उनले हलमा फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको खुसीलाई आफ्नो समूहको ठूलो सफलताको रुपमा लिएका छन् ।


यस्तै, आइतबार बेलुकी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।


‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने । उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर फिल्म हेरेका हुन् ।फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार