• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

खतिवडाको 'अकथ्य' विमोचित

काठमाडौँ । रङ्गकर्मी प्रवीण खतिवडाको पहिलो कथा सङ्ग्रह अकथ्यको विमोचन गरिएको छ । विश्लेषक सिके लाल, साहित्यकार एवम् कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकको लोकार्पण गरेका थिए । खतिवडाको कथा सङ्ग्रहमा नौ वटा कथा समेटिएका छन् । 


पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ति कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे।  “केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरु पुस्तकमा छन्” विश्लेषक लालले भने, “सायद त्यहि भएर कथाहरुमा सहायक पात्र गौण छन् ।” 


यसैगरी साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथाहरु गम्भिर र गहन भएको टिप्पणी गर्नुभयो । कलाकार सौगात मल्लले खतिवडासँग रङ्गमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे । “कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो । म लेख्ने काममा अलमल गरिरहेको थिएँ,” मल्लले भने, “तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो ।” 


लेखक खतिवडा नेपाली रङ्गमञ्चका व्यस्त कलाकार र निर्देशक हुन् । अभि सुवेदीद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा ९२०६०० बाट उनले रङ्गमञ्चको अभिनय यात्रा अघि बढाएका थिए । त्यसयता उनले रशोमन, माक्र्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरव जस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मिमांशा, माक्र्स फर्किए, विमोक्ष आदि नाटकको निर्देशनसमेत गरिसकेका छन् । 


खतिवडाले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आएका छन् । लुटबाट चलचित्र अभिनय यात्रा थालेका खतिवडाले लटु २, ढुवानी, विना कारण, कालो पोथी, जात्रा, रङ्गेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रहरूमा अभिनय गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार