• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

विशिष्टको सवारी व्यवस्थित बनाइने

काठमाडौँ । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ। अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो । 

 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि आमजनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न प्रस्ताव मन्त्री परिषद्मा स्वीकृतिका लागि लैजाने तयारी गरिएको बताउनुभयो ।

 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् र अनावश्यक तामझाम गर्नु आवश्यक नभएको भन्दै सोहीअनुसार व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशनसमेत दिइसक्नुभएको र सोहीअनुसार कार्यविधि संशोधन तयारी भएको प्रवक्ता बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि संशोधन छिट्टै हुन्छ । त्यसपछि विशिष्ट पदाधिकारीको सवारी समयमा सर्वसाधारणले दुःख झेल्नुपर्ने छैन ।” 

 

उहाँले विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको जानकारी दिनुभयो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार