• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

कृषिमा वेयरहाउस र बजार व्यवस्थापनको महत्व

दशैँको लागि खाद्य संस्थानले भेँडा–च्याङग्रा र खसी–बोका राजधानी भित्राउने’, ‘पुर्वी सिमानामा अदुवा बोकेका ट्रकहरु भारतीय भन्सारले धेरै दिनदेखि रोकिदिँदा अदुवा कुहिन थालेर किसानहरु चिन्तित’, ‘बङ्गलादेशले उपहार स्वरुप दिएको चामल खाद्य संस्थानको गोदाममा कुहियो’, गोदाममा चिनी बिग्रने अवस्थामा हुँदा हुँदै नेशनल ट्रेडिङले बैङ्कहरुबाट ऋण लिएर ठूलो परिमाणमा चिनी आयात गर्न लाग्यो’, ‘नुनको आपुर्ति गर्न खुलेको साल्ट ट्रेडिङले टायरको पनि कारोवार गर्न थाल्यो’, ‘अदुवा, अलैँची, चिया, उखु किसानहरु समयमा आफ्ना उत्पादन नबिकेर बिचौलियालाई उत्पादन लागत भन्दा कममा बेच्न वाध्य’, ‘किसानलाई वित्तिय संस्थाहरुले ऋण दिन पत्याएनन्’,‘आलुको बिउ नपाएर खेती प्रभावित’, ‘बन्दा, टमाटर र दुध नबिकेर किसानहरुले सडकमा फ्याँके’आदि, इत्यादि । यी कुराहरु हामीले अक्सर छापाहरुमा पढ्ने समाचारका शिर्षकहरु हुन् । अब हामी यसो घोत्लिउँ, यो सब कुराको चुरो कारण के हो त ? हो हामीकहाँ विभिन्न प्रकारका कृषि उपजहरु भण्डारण गरेर राख्ने तथा किसान र खाद्यान्नको सुरक्षण गर्ने गोदामहरु (वेयरहाउस) छैनन् र कृषिको बजार पनि व्यवस्थित छैनन् भने कृषि विमा पनि भने जस्तो गरेर फैलिन सकेको छैन ।

 

आजभन्दा कैयन् दशक पहिले खुलेका खाद्य संस्थान, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ जस्ता संस्थाहरु त्यतिबेलाकै पुरातन सोच राखेर सञ्चालन भइरहेका छन् वा बन्द भइसके भने आज पनि यिनका मुलुकभर भएका विशाल गोदामहरु र जमीन विना काम खाली बसिरहेका छन् वा केही भ्रष्ट मन्त्री र प्रशासकहरुको व्यापारीहरुसँगको मिलोमतोका कारण विशाल व्यापारिक भवन, पार्टी प्यालेस वा गाडी पार्किङ स्थलमा परिणत भइरहेका छन् कतिका त जग्गा हिनामिना पनि हुँदै गएका छन् । त्यस्तै कैयन् बन्द भएका सरकारी कलकारखानाहरुका जग्गा र कारखाना भवनहरु पनि त्यसै बेवारिसे अवस्थामा छोडिएका छन् । जबकी यस्ता संरचना छँदाछँदै र कृषिको लागि कृषि उपज, विउ–विजन र मलखाद राख्ने आधुनिक संरचना, बजार, प्रशोधन र अनुसन्धानका निम्ति आवश्यक पुर्वाधार नभएर कृषि क्षेत्र छटपटाई रहेको छ । यो अति नै दुख लाग्दो कुरा हो । सरकारलाई यी कुरामा मतलब छैन भने यो बारे बुझेका विशेषज्ञहरु यस्ता कुरा उठाए उनका कन्सल्टेन्सीले काम नपाउने भयले तैँ चुप मै चुप भएर बस्छन् र आफ्ना रिपोर्टहरुमा पनि यीनको जिकिर समेत नगरेर पाँडे कुराले भरेर सरकार र दातृ संस्थाहरुको दराजमा सजाउने वस्तु बनाएर आफ्नो पारिश्रमिक पकाउँछन् ।

 

नेपाल खाद्य संस्थान खाद्य सामग्री तथा यसको बजार व्यवस्थापन र खाद्य सुरक्षा गर्ने हेतुले दशकौँ पहिले स्थापना गरिएको थियो। केही वर्ष अघिमात्र यस संस्थानसँग विभिन्न सामग्री आयात गरेर बजारमा विक्री वितरण गर्ने हेतुले खोलिएको अर्को सस्थान नेशनल ट्रेडिङ लिमिटेड समाहित हुन पुगेको थियो। दुइ रूग्ण संस्थानहरु एकापसमा मिलेपछिको नयाँ संस्थानको नाम खाद्य व्यवस्था तथा व्यापार कम्पनी राखिएको छ तर यसले पनि खासै ठोस कार्य भने गर्न सकेको देखिँदैन । त्यतिखेरको राजधानी समेत हालका गाउँघर समानको नै भएकोले दशैँ र अन्य चाडवाडमा बोका–खसी समेत उपलब्त्र गराउने काम यसले पाएको थियो । त्यतिबेला जग्गा जमीन सस्तोमा उपलब्ध हुने भएकोले यिनीहरुअन्तर्गत देशभरी थुप्रै सम्पत्ति छुट्टाइएको थियो । मुलुकका दुर्गम स्थानहरुमा खाद्यान्न उपलब्ध गराउने जिम्मा पाएको भएपनि खाद्य संस्थान बेला बेलामा चरम गैरजिम्मेवारीपूर्ण कार्यहरुका कारण विवादमा परिरहेको हुन्थ्यो भने नीजि क्षेत्र कमजोर भएको समयमा विभिन्न मुलुकबाट आवश्यक सामान आयात गरेर विकास आयोजना र नीजि उपभोक्ताहरुलाई विक्री गर्ने हेतुले स्थापना गरिएको नेशनल ट्रेडिङ पनि भ्रष्टाचारको अड्डा नै बन्न पुगेको थियो । मित्रराष्ट्र बङ्गलादेशले सहयोग वापत दिएका खाद्यान्न होस् वा यिनले आपैmले खरिद गरेको अनाज, चिनी, मल वा मेसिनरी र औजार हुन्, विक्री वितरण नै गर्न नसकेर यिनको गोदामहरुमा सडेर बसिरहेका हुन्थे । एकताका विदेशी मदिरा आयात गरेर बेच्ने काम पनि गरेको नेशनल ट्रेडिङमा फुटेका बोतलहरु ल्याएर जम्मा गरेर सग्ला बोतल गायब गरेर पैसा बनाउने धन्दा समेत चलेको थियो । हालैको घटनालाई नै लिउँ, चलिरहेको बोइङ ७५७ काम नलाग्ने भयो भनेर लिलाम गर्ने नेवानीलाई आफुसँग चालीस करोड भन्दा बढी रकम बराबरको स्पेयर पार्टपुर्जा र झण्डै एक अर्ब पर्ने एउटा डल्लै इन्जिन छ भन्ने कुरा पनि थाहा नभएको भनेर लुकाउनु पर्ने वाध्यता किन पर्न गयो ?तर पनि यस्ता संस्थानहरुमा काम गर्ने कर्मचारी वा यसका उच्च प्रशासकहरु कोही पनि दण्ड वा सजायमा परेको कुरा सुन्नमा आएको थाहा भएन । किनकी तिनीहरु भन्दा माथिका अदृश्य शक्तिहरु पनि यो सब बदमासीमा सामेल भएका हुन सक्छन् ।

 

आजको खुला प्रतिष्पर्धी जमानामा यस्ता धनी र सुविधा सम्पन्न संस्थाको भूमिका शहरमुखी हुनुभन्दा पनि नीजि क्षेत्र पुग्न नसकेका विकट स्थानका बासिन्दा र अति विपन्न जनताहरुलाई खाद्यान्न उपलब्ध गर्ने देखि लिएर विकास कार्यमा आवश्यक सामग्री र कृषि उपजहरुको व्यवस्था गर्नुका साथै खाद्य सुरक्षणको सही अर्थमा जिम्मा लिने निकाय हुनु पर्ने हो। त्यस्तै किसानले उब्जाएका उपजहरु खरिद गरिदिएर भण्डारण गर्ने र बजारको उचित व्यवस्था गरेर विक्री गरिदिनु पर्ने जिम्मा पनि लिनु पर्ने हो यिनीहरुले। जुम्लाबाट केही हजार केजी मार्सी चामल र विभिन्न प्रकारका दालहरु पनि ल्याएर बेचेका हुन्, तर उनीहरुको गोदाममा गएर आजको व्यस्त जमानामा कसले खरिद गर्न जाने ? आधुनिक वितरण प्रणालीमा गएको खै ? निर्यात प्रवद्धन गर्न सकेको खै ?

 

इन्धन आयात गर्ने सम्पूर्ण एकाधिकार आपूmले लिएको आयल निगमले चरम भ्रष्टाचार र चुहावटका कारण न त गुणस्तरिय इन्धन वितरण गर्न सकेको छ, न नै मूल्य समायोजन गर्न । भारतको सिमाना देखि पाइपलाइनबाट तेल भित्रिए पनि उसको ढुवानी खर्च घट्न सकेको छैन भने परिआएको बेलाको लागि यथेष्ट भण्डारण क्षमता बढाउने भने पनि सो गर्न सकेको छैन ।

 

व्यवस्थापकीय कमजोरी र मजदूर हडताल तथा सरकारी अकर्मण्यताका कारण वर्षौँदेखि बन्द भएका गोरखकाली रवर उद्योग, वीरगञ्ज चिनी कारखाना, कृषि सामग्री संस्थान, हेटौँडा सिमेन्ट कारखाना, जुटमिल, हेटौँडा कपडा उद्योग, ट्रलिबस, रोपवे, रेल, आदिका स्वामित्वमा भएका जमिन र ठूला ठूला संरचनाहरु त्यसै सडेर खाली बसिरहेका छन् ।

 

माथि उल्लेख भएका विभिन्न प्रकारका संस्थानहरु मध्ये साल्ट ट्रेडिङ लिमिटेड भने आजभन्दा चार दशक भन्दा पहिले सरकारी र नीजि साझेदारीमा स्थापना भएको संस्था भएर होला यो अरूको दाँजोमा निकै चुस्त र स्फुर्त तवरले कारोवार गरिरहेको पाइन्छ। नाम अनुसार नुनको कारोवार गर्ने संस्था भएपनि यसले नुन देखि सुनसम्मको कारोवार भनेझैं अनेक थरीका व्यापारिक कारोवारहरु देशव्यापी स्तरमा गरिरहेको छ । मुलुकका सबैजसा उपभोक्ताहरुका चाहनाहरु परिपूर्ति गर्ने लक्ष्य सहित यसले आफ्नो व्यापार विविधिकरण गर्नुका साथै आफ्नै प्रशोधन र उत्पादन केन्द्रहरु समेत सञ्चालन गर्ने गरेको छ। तर पनि मल आपुर्ति जस्ता अहम् विषयहरुमा यो संस्था पनि चुक्ने गरेको छ र खेती गर्ने र मलखाद चाहिएको बेलामा सँधै छापाहरुमा तीनको अभावको नै समाचार बढी देखिने गर्दछ । 

 

हामीले माथि पढेजस्तै आज कृषिका विभिन्न खाले समस्याहरु जस्तै वीउ र उपज भण्डारण, प्रशोधन, बजार तथा वितरण प्रणाली आदि झेल्न परेकोले नेपालको कृषि क्षेत्र निकै दयनीय अवस्थामा छ । त्यसमाथि मौषम परिवर्तनले गर्दा कहिले अप्रत्यासित रूपले सुख्खा त कहिले अधिक वर्षाका कारण डुवाल, बाढी र पहिरोको चपेटामा कृषि क्षेत्र र कृषक नै बढी पर्न जान्छन् । आफ्ना उत्पादन केही समयको निम्ति उपयुक्त स्थानमा भण्डारण गर्न पाए मात्र पनि बजार नपाउन्जेलसम्म हतासमा विक्री गर्नुपर्ने थिएन । तर अनेक ऋण गरेर लगाएका नगदे बाली पनि बजारको उचित व्यवस्था नभएको कारणले भण्डारण गर्न नपाउँदा बिचौलियाहरुको फन्दामा परेर नगण्य पैसामा बेच्नु पर्ने हुन आउँछ । चियाका केही निकै राम्रा प्रशोधन केन्द्रहरु खुलेका भएपनि आजसम्म मुलुकमा अदुवा धुने एकाध मेसिन बाहेक यसको प्रशोधन तथा विविध सामग्री उत्पादन गर्ने उद्योगहरु खुलेका छैनन् । कफीको उत्पादन भने भर्खरै मात्र शुरु भएकोले यसको बजार निकै राम्रो छ । अलैँची पनि खेतका आलीमा उत्पादन भएपछि यसलाई मेसिनबाट सुकाउने, छुट्टाउने वा यसका विभिन्न वाइप्रोडक्ट बनाउने कुनै उद्यम नेपालमा छैनन् । त्यसैले भण्डारणको समेत व्यवस्था नहुनाले छिटो छिटो विक्री गर्नुपर्ने वाध्यताले गर्दा यस्ता नगदेवालीहरु त्यसै बिग्रेर खेर जाने समस्याहरु आउन थालेका छन् ।

 

विभिन्न थरीका तरकारी तथा फलफुल पनि नेपालमा प्रचुर मात्रामा फल्दछन् तर यिनको पनि बजार नमिलुन्जेलसम्म वातानुकुलीत भण्डारण गर्ने राम्रो व्यवस्था नेपालमा छैन । त्यसैले त्यस्ता वस्तुहरु गाइवस्तुलाई खुवाउने र बढी भएको फ्याँक्ने बाहेक अन्य उपाय छैन। हुर्केर मासुको लागि तयार भइसकेका पशुपंक्षीहरुलाई उचित व्यवस्थापन गर्न नसके किसानहरुको खर्चमा निकै वृद्धि हुन जान्छ। त्यसको निम्ति पनि यथेष्ट आधुनिक वधशाला, मुलुकका विभिन्न भागहरुमा मासु भण्डारण गर्ने वातानुकुलीत वेयरहाउसहरु र ढुवानी गर्ने वातानुकुलीत सवारी साधनहरु भएका निकायहरुको स्थापना हुनु अति नै जरुरी छ । हाल यस्तो किसिमको संरचना नेपालमा नगण्य मात्रामा छ ।

 

दुधका भने विभिन्न सहकारी तथा डेरीहरु मुलुकका विभिन्न भागहरुमा खुल्दै गएकाले केही हदसम्म यसको भाउ पाउने गरेका छन् कृषकहरुले। यसमा सरकारी र नीजि ठूला डेरीहरुको पनि राम्रै भूमिका रहेको पाइएको छ भने गाउँ गाउँमा चिलिङ भ्याट र चिज र छुर्पी बनाउने साना साना कारखानाहरु समेत थपिँदै गएबाट दुध र दुधबाट बन्ने केही उपजहरुको उत्पादन बढ्दै गएको छ । तैपनि अझ धेरै चिस्यान केन्द्रहरु, दुध संकलन गर्ने डेरीहरु, ढुवानीको राम्रो व्यवस्था, धुलो दुध बनाउने उद्योगहरु तथा दुध र यसका अन्य उपजहरुको उचित विक्री वितरण र निर्यात समेत गर्न सक्ने निकायहरुको निकै कमी महसुस भइरहेको छ। 

 

नेपालको कृषि अति साना साना खेतका टुक्राहरुमा हुने भएकोले त्यहाँ हुने उत्पादनमा कमी हुनुका साथै त्यहाँ आधुनिक कृषिका साधनहरुको उपयोग गर्न समेत कठिन हुन्छ । यस्तो परिस्थितिमा गाउँ गाउँमा कृषकहरुलाई एकिकृत कृषि प्रणालीमा आवद्ध हुने वातावरण बनाउन सके कृषिको विकासका साथै कृषकहरुको आय र आर्थिक सुरक्षामा पनि अप्रत्यासित बढोत्तरी हुने थियो। साथै गाउँ गाउँमा साना साना भण्डारणका केन्द्रहरु र सदरमुकाम तथा शहरहरुमा ठूला तथा आधुनिक वेयरहाउसहरुको लागि सरकारी तथा नीजि साझेदारी हुन सकेमा हालका खाद्य संस्थान, नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङका गोदामहरु तथा बन्द भएका संस्थानहरुका संरचनाहरुलाई पनि आधुनिकिकरण गरेर यस्ता प्रयोजनमा लगाउन सकिन्थ्यो । यस्तो अवस्थामा यी संस्थानहरुले देश–विदेशमा बिक्री वितरण गर्नको लागि कृषि उपजहरु पनि सहज तरिकाले प्राप्त गर्न सक्थे भने उनीहरुकै तजबिजले यस्ता वस्तुहरुको प्रशोधन र ययसबाट विविध ववस्तुहरु पनि उत्पादन गर्न सकिने थियो । किसानहरुलाई यस्ता वेयरहाउसमा जम्मा गरिएका वस्तुहरु नबिकुन्जेलसम्म त्यहाँ भाँडा तिर्न परेपनि तिनकै जमानतमा बैङ्कहरुबाट केही ऋण (लोन अगेन्स्ट वेयरहाउस रिसिप्ट) लिने बन्दोवस्त पनि मिल्ने थियो र नीजि क्षेत्रका साझेदारहरुको लागि पनि सरकारी संस्थानहरुसँग हाल भइरहेकै संरचना र जग्गामा वेयरहाउस, प्रशोधन केन्द्र, बजार आदिको पुर्वाधार निर्माण गर्न पुँजी प्रवाह गर्दा निकै सहज र सुरक्षित हुने थियो ।

 

कृषि क्षेत्र संगठित र व्यवस्थित हुँदै गयो भने नै यसको विमा तथा सुरक्षण, वीउ–विजन तथा मल–खाद, सिँचाई, गुणस्तर, बजार व्यवस्थापन, निर्यात आदिका व्यवस्थित प्रणालीहरुको विकास हुँदै जाने थियो । यसो हुन सकेमा कृषि उद्यमलाई आवश्यक उपकरणहरु विक्री गर्ने तथा भाँडामा दिने निकायहरु र तिनका साथै समग्र कृषि उद्यमलाई ऋण प्रवाह गर्न वित्तिय संस्थाहरु पनि अझ बढी इच्छुक हुने वातावरण बन्दै जान्छ। कृषि व्यवसायमा एकमात्र पात्रको भूमिका नगण्य हुने भएकोले यसरी सामुहिक तवरमा साना, मझौला र ठूला किसान तथा उद्यमीदेखि नीजि क्षेत्र र सरकारी लगानी समेतको सहभागिता जुटेको विशाल सञ्जाल बनाउन सके यो नै नयाँ नेपाल बनाउने एउटा मूख्य कडी हुनसक्ने छ।

  

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार