• शुक्रबार ६-१-२०७८/Friday 09-17-2021
डबली

समर्पण श्रीका दुई कविता

१.यादहरू


०००


पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन् कलकल बगिरहेको नदीको संगीतजस्ता
चन्द्रमा डुबेको तालको मुस्कानजस्ता

 

जब अस्ताउँदै गरेको जुनले
मलाई अँध्यारोमै छाडेर गयो

 

त्यतिबेला तिम्रा यादहरू भए
अँध्यारोमै पढिएका जटिल कविताजस्ता
अँध्यारोमै गाइएका मधुर गीत जस्ता

 

म सोच्थें
तिमी विना उज्यालाहरू निभ्छन् आँखाबाट

 

जब निभी नै त गए...
त्यतिबेला तिम्रा यादहरू भए
सिताराले ढाकिएका बेहुली रातजस्ता
परेलीभित्र नाचिरहेका स्वप्निल दुनियाँजस्ता

 

हाम्रै आँखाबाट छुटिगएका दिन
अहिले हाम्रै आँखामा अल्झिबसेका छन्

 

मेरो अंगालोबाट तिमीलाई छुटाउने साँझले
जब तिम्रै सम्झना गराइरहेका थिए

 

त्यतिबेला तिम्रा यादहरू भए
आफैंलाई खोज्दै हिँडेका जुनकिरीजस्ता
एकान्तमा कथाहरू सुनाइरहेका झ्याउँकिरीजस्ता

 

कहिलेकाहीँ
पातमा खसिरहेका झरीका थोपाहरू देख्छु
र आफ्नै हत्केला खोल्छु

 

हत्केलामा खसेको तिम्रो आँसु
अहिले सुकिसकेको छ

 

तिम्रै गह सम्झेर
जब मेरै आँखाबाट पनि आँसु आए

 

त्यतिबेला तिम्रा यादहरू भए
पानीमा रुझेको पहेँलो घामजस्ता
हिउँले नुहाएको मरुभूमि चट्टानजस्ता

 

तिमी नभएपछि 
मेरो मुटु चल्न छाडेको थियो
र म मृत खुसीहरूको मलामी हिँडेको थिएँ
जब हिँड्दा हिँड्दै मैले
चिहान खनिरहेका मानिसहरूको आँखामा हेरेँ

 

त्यतिबेला तिम्रा यादहरू भए
मृत्युकै छेउमा बसेर देखिएका सपनाजस्ता
अन्तिम प्रहरमा ब्यूँतिएको जिजिविषाजस्ता 

 

पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन् कलकल बगिरहेको नदीको संगीतजस्ता
चन्द्रमा डुबेको तालको मुस्कानजस्ता


०००

 

२. एक बाबुको स्वीकारोक्ति

मलाई ऊ धेरै बोलेको मनपर्दैन थियो
ऊ चप्पल फाट्ने गरी दौडँदा पनि झर्को लाग्थ्यो
उसले खेलेको, उफ्रिएको
उन्मुक्त हाँसेको 
केही केही पनि सह्य हुँदैन थियो

 

उसले ठूलो आवाजमा पढेको मन पर्दैन थियो
घोसेमुन्टो लगाएर पुस्तकमा घोरिएको मन पर्दैनथ्यो
कापीका पाना च्यातेर चंगा बनाएको मन पर्दैनथ्यो
खाली पन्नाहरू केरेर यसै सकाएको मन पर्दैनथ्यो   
फाटेको मोजालाई भकुन्डो बनाएर गुडाएको
मन पर्दैथ्यो
स्कुलमा पेन्सिल हराएर रूँदै आएको मन पर्दैनथ्यो
झोलाको फित्ता चुँडाएर फर्किएको मन पर्दैनथ्यो
सर्टभरि धुलो बोकेर उभिएको मन पर्दैनथ्यो

 

आमालाई घुर्की लगाएको मन पर्दैनथ्यो
टिभीमा जोसिँदै कार्टुन हेरेको मन पर्दैनथ्यो

 

उसका हर क्रियाकलापहरू मन नपरेपछि
मैले अंकुश लगाउन खोजें 
उसलाई दपेटें
घिसारें र
बन्द कोठामा थुनिदिएँ

 

ऊ चिच्याएर रून्थ्यो, कराउँथ्यो
तर म कान थुनेर बस्थेँ 

 

धेरै वर्षपछि
अब ऊ रून छाडेको छ
कराउन छाडेको छ

 

ठूलो स्वरले बोल्न पनि छाडेको छ
हिँड्न, खेल्न, उफ्रिऊन, हाँस्न
सबै-सबै कुराहरू छाडेको छ


सबै कुराहरू छाड्दा छाड्दै
संगै एउटा कुरा पनि छाडेको छ
उसले मलाई 'बा' भन्न छाडेको छ !


०००

 

(पत्रकारितामा आबद्ध समर्पण श्रीको 'अनुहारको भीड' संयुक्त कवितासंग्रह प्रकाशित छ)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार