• आइतबार ७-७-२०७८/Sunday 10-24-2021
डबली

सम्झनामा भानुभक्त

आदिकवि भानुभक्त आचार्यको जन्महालको तनहुँ जिल्लाको चुन्धी, रम्घामा आजभन्दा दुई सय सात वर्ष अगाडि यानी वि.सं. १८७१ मा भएको थियो । बडामहाराज पृथ्वीनारायण शाहको देहावसानको चालिस वर्ष पछि र सुगौली सन्धी हुनुभन्दा दुईवर्ष अघि भानुभक्तले यस धरतीमा पाइला टेकेका थिए । यस अर्थमा उनी नेपालको एकिकरण कार्यको दुखद अन्त्य भए पश्चात बच्न सकेको नेपाल र भारतमा गाभिएको नेपालमा बस्ने नेपालीहरुको घाउमा मल्हमको रूपमा पैदा भएका थिए र आफ्नो चौवन्न वर्षे जीवनमा नेपाली भाषा र साहित्यको विकासमा एउटा अविष्मरणीय छाप छोडेर र कैयन् राष्ट्र प्रेममा आधारित कविताहरु समेत लेखेर नेपाली भाषा र साहित्य मार्फत नेपाली मात्रलाई एकताको डोरीले बाँध्न सफल भएका थिए । त्यसैले पनि होला कवि लेखनाथ पौडेलले “भानुले साहित्य मार्पmत नेपालीहरु माझ एकता ल्याए। नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्” भनेका।

 

भानुभक्तले घरैमा हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृतमा शिक्षा हासिल गरेका थिए भने पछि उच्च शिक्षाको निम्ति भारतको वाराणसी गएका थिए । उनी बालककाल देखि नै कविता लेखनमा निकै माहिर थिए भने कविताकै भाकामा बोल्ने पनि गर्दथे । एकचोटी कुनै बटुवाले भानुभक्तको परिचय माग्दा उनले यसरी कविताको शैलिमा आफ्नो परिचय दिएका थिए ।

 

पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया ।
खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया।
इन्को नाति म भानुभक्त भनि हुँ यो जानी चिन्ही लिया।

 

बालककालमा नै गाउँका डाँडा–काँडा,पाखा–पखेरा, कुना–कन्दराहरु घुम्ने क्रममा उनले विभिन्न किसिमका व्यक्तिहरुसँग भेट्ने तथा तीनका कुराहरु सुन्ने मौका पाए । एकचोटी एक जना घाँसी दिनहुँजसो घाँस काट्दै, घासको भारी बोक्दै हिँडीरहेको तथा एउटा कुवा खन्ने काममा लागिरहेको देखेर उनले यतिका घाँस दिनका दिन काटेर घरैका गाईवस्तुलाई मात्र हाल्ने हो र ? भनेर बुझ्न खोज्दा, घाँसीले मेरा घरमा भएका गाईवस्तुलाई खुवाउन त यति धेरै घाँस किन चाहिन्थ्यो र, यो त गाउँमा अरुलाई बेच्नको लागि पनि हो । घाँस र घरमा बढी भएका कृषि उपज बेचेर आएको आम्दानीले एउटा कुवा खन्नु छ, ताकी गाउँका मानिसहरु र बटुवाहरुलाई पानीको दुख नहोस् अनि आफुले यो धरतीमा जन्म लिएको पनि सार्थक भएर लामो समयसम्म नाम रही रहोस् । यस्तो कुरा सुनेर भानुको कलिलो मन निकै आन्दोलित भयो। एउटा घाँसीले त समाजको निम्ति यति ठूलो काम गर्न सक्छ भने म एउटा दिक्षित र सम्पन्न परिवारको पढे लेखेकै ठिटोले मुलुक र समाजको निम्ति के गर्ने सोच बनाएँ त अहिलेसम्म। यही कुरालाई मनमा राखेर उनले यसलाई कविताको रूपमा कोरेर टिपोट बनाई हाले र जुन टिपोट आज उनको “घाँसी” शिर्षकको प्रख्यात कविता भएको छ । 

 

भर् जन्म घाँस तिर मन् दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा इनार,न त सत्तल, पाटी क्यै छन्, जे धन् चिजहरु छन् घर भित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिएछ अर्ति, धिक्कार हो मकन बस्नु नराखि किर्ती ।

 

अचम्म त के छ भने, भानुको यो कविताले धन नहुने सफा मनहरुलाई आज पनि केहि न केहि पूण्य गर्न पाए हुन्थ्यो जस्तो लाग्दछ, तर धन भएका लोभी मनहरु अझ धेरै धन कमाएर ढुकुटी भरौँ भन्ने धुनमा नै हुन्छन् । भानुले पछि पनि धुमधाम भौतिक धन त कमाउन सकेनन् र कमाउने धुनमा पनि लागेनन् तर बौद्धिक रूपमा उनले नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधी कविका रूपमा नेपाली भाषा र साहित्यको उत्थानको निम्ति जे जति पनि कार्य गरे त्यसबाट उनि नेपाली भाषी, नेपाली भाषा र संस्कृति रहुञ्जेलसम्मका लागि नेपाली भाषा र साहित्यलाई मन पराउनेहरुको नजरमा एक अमर व्यक्ति नै भएर रहने भए ।यही नै उनको विशाल धन–आर्जन थियो ।

 

भानुभभक्तको निधन हुनु भन्दा दुईवर्ष अगाडि अर्थात् वि.सं. १९२३ भाद्र कृष्ण औँसीमा जन्मेर ३० वर्षको मात्र जीवन पाएका मोतीराम भट्टले भानुभक्तको निधन भएको झण्डै बीस वर्ष पछि वीर शमशेरको शासनकालमा भारतको वाराणसीमा उनको जीवनी छपाउनुका साथै उनका कृतिहरुको पाण्डुलिपि खोजेर तथाउनका रामायण रअन्य कृतिहरु जनजिब्रोबाट उतारीकनछपाईदिए पछि नै उनैले भानुभक्तलाई आदिकविको संज्ञा दिएका हुन् भने राष्ट्रले उनलाई राष्ट्रिय विभूतिको सम्मान दिएको हो। भानुभक्तले संस्कृतमा लेखिएको रामायणलाई सरल नेपाली भाषमा उल्था गरिदिएकाले नै संस्कृत पढ्न नपाएका आम नेपालीहरुले पनि रामायणको नेपाली पुस्तक घर घरमा राखेर वाचन गर्न पाए भने नेपाली भाषाको पनि राम्रै प्रचार र विकास हुन पायो ।  

 

मोतिराम भट्टले पनि आफुले कलिलो उमेरमा प्राण त्याग्ने बेलामा आफ्नी आमालाई आफुबाट कुनै सन्तान नभएको भएता पनि आफ्ना कृतिहरु जस्तै गजेन्द्रमोक्ष, प्रह्लादभक्ति, शकुन्तला, पिकदूत आदि नै आफ्ना सन्तान जस्ता भएका र यिनकै कारण नेपाली भाषा र साहित्य प्रेमीहरुले आफुलाई सयौँ वर्षसम्म सम्झिरहने कुरा बताएका थिए रे । छोटो उमेरमा नै उनी साहित्यको माध्यमिक कालका प्रवद्र्धक र मोति–मण्डलीका जन्मदाता बन्न पुगे भने साहित्यमा प्रथम गजलकार, समालोचक तथा जीवनीकार पनि बन्न पुगे । राज्यले पनि उनलाई युवाकवि तथा राष्ट्रिय विभूतिको सम्मान दियो ।जङ्गबहादुरले बेलायत यात्राबाट फर्कँदा ल्याएको गिद्धे प्रेस सञ्चालनमा आएको झण्डै तीन दशक पश्चात नेपालमा पहिलो पटक नीजि क्षेत्रको प्रेस पनि मोतिराम र उनको मण्डलीले नै शुरु गरेको हो ।

 

भानुभक्तका कृतिहरु निकै सरल भाषा तथा छन्दमा लेखिएका हुन्थे । उनका कविताहरुमा धर्म, दर्शन, संस्कृति, रिती–रिवाज, दुख–सुख, परम्परा, राष्ट्र प्रेम आदि सबै खालका व्यावहारिक परिवेशहरु सामेल हुने गर्दथे । साहित्यलाई जटिल तवरले लेख्दैमा  स्रस्टाहरु ठूला र प्रख्यात हुँदैनन् । साहित्य भनेको आम जनताले पनि बुझ्ने हुनु आवश्यक छ । साहित्य एउटा आलेख मात्र नभई समाजमा असल सन्देशहरु दिने निकै सशक्त माध्यम पनि हो । कविताहरु पनि यस्ता होउन् कि यी जनजिब्रोमा बसिरहुन् तथा बेला बेलामा वाचन भइरहुन् र असल कुराको सन्देश पीँढी दर पीँढीलाई दिइरहुन् । भानुभक्तका सम्पुर्ण कविताहरु यस्तै प्रकारका सरल भाषामा लेखिएका छन् । पछिल्लो समयका आआफ्ना क्षेत्रका स्रस्टाहरु जस्तै कवि शिरोमणी लेखनाथ पौड््याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, जनकविकेशरी धर्मराज थापा, गाइने लोक गीत गायक झलकमान गन्धर्व आदिले निकै सरल भाषामा लोकका समस्या, रमाइला क्षण, दुख, सुख आदि बारे वर्णन गरेकाले उनिहरु सबै खाले पीँढीहरुका प्रिय स्रस्टा हुन पुगे ।

 

भानुभक्तले वाल्मीकिय रामायणलाई नेपाली भाषामा उल्था गरेपछि सार्दूलविक्रिडीनी छन्दमा ढालेर यसको वाचनमा एक प्रकारको सांगीतिक माधुर्यता प्रदान गरे । नेपाली भाषामा नै रामायणका श्लोकहरु भन्न र सुन्न पाएपछि कुनाकाप्चामा बस्ने नेपालीहरुले राम र सिताका आर्दशहरुबारे जान्ने मौका पाए भने विविध भाषा र संस्कृति बोकेका नेपालीहरुबीच बोलिने साझा भाषाको रूपमा नेपाली भाषाले स्थान पाउन थाल्यो । प्रजातन्त्र र स्वतन्त्रताको नाममा पछिल्लो समयमा नेपालमा विभाजन ल्याउने उच्छृङ्खल तत्वहरुले नेपालको एकिकरण गर्ने बडामहाराज पृथ्वीनारायण शाह र आदिकवि भानुभक्तलाई तथानाम गाली गलौज गर्दै उनिहरुका शालिकहरु तोडफोड गर्दै हिँडेका भएता पनि अधिकांश नेपालीहरुको मनमा यस्ता वीर तथा इतिहास रच्ने र नेपाली मनहरुलाई एकतामा बाँधेर राख्ने व्यक्तिहरु प्रति सँधै अगाध श्रद्धा र माया छ ।

 

परापूर्वकालदेखि नै घर घरमा हुने गरेको पारिवारिक भैmँझगडा र कलहलाई कम गर्नको निमित्त घर व्यवहारमा सबै भन्दा बढी योगदान दिने महिलाहरुको ठूलो हात हुने देखेर भानुभक्तले “वधूशिक्षा” नामको कृति लेख जुन पुरुषहरुको निम्ति पनि त्यतिकै उपयोगी छ । त्यतिमात्र होइन, उनि रुढीवादका पनि विरोधी भएको कुरा उनका केही कविताहरुबाट प्रष्ट हुन्छ । काठमाडौँको भ्रमणको बेला उनले देखेको सुन्दर र विविध सामाजिक परिवेश बोकेको काठमाडौँको वर्णन विश्वका विभिन्न शहरहरुसँग दाँजेर गरी उनले निकै सुन्दर र सरल कविता लेखेका छन् ।

 

चपला, अवलाहरु एक सुरमा, गुनकेशरीको पूmल लिई शिरमा 
हिँडन्या सखी लिईकन वरीपरी, अमरावती कान्तिपुरी नगरी ।

यति छन् भनी गन्नु कहाँ धनीयाँ, खुशी छन् मनमा बहुतै दुनिया
जनकी यसरी सुखकी सगरी, अलकापुरी कान्तिपुरी नगरी ।

कहीँ भोट र लण्डन, चीन सरी, कहीँ कालभरी गल्ली छ दिल्ली सरी
लखनउ, पटना, मदरास सरी, अलकापुरी कान्तिपुरी नगरी ।

तरवार, कटा र खुँडा, खुकुरी, पिस्तोल र बन्दुक सम्म भिरी
अति सुर र वीर भरी नगरी, छ त कुन सरी कान्तिपुरी नगरी ।

रिस–राग, कपट, छल छैन जहाँ, तब धर्म कति छ, कति छ यहाँ 
पशुका पति छन् रखवारी गरी, शिवकी पुरी कान्तिपुरी नगरी ।

 

त्यस्तै जागीर तथा विभिन्न कामको सिलसिलामा भानुभक्त जस्ता सोझा तथा विद्वान व्यक्ति विभिन्न समयमा छली तथा कपटीहरुको जालमा पर्ने गर्दछन् । स्पष्ट वक्ता उनले आफ्नो कविता मार्पmत सरकारी काममा हुने गरेको ढिला सुस्ती बारे पनि बोलेका थिए । उनी पनि एकचोटी षडयन्त्रको जालोमा पर्न गए र केही समय काठमाडौँको कुमारी चोक कारागारमा बस्न वाध्य बनाइए । उनको मुद्दाको सुनुवाई नै नभएर उनलाई लामो समयसम्म कठोर कारावासमा राखिएपछि उनको स्वास्थ्य पनि बिग्रन थाल्यो र त्यसैले उनले कविताकै भाकामा तत्कालीन प्रधानमन्त्री जङगबहादुर राणालाई चिठी लेखे । उनको लामो कवितामय चिठीबाट प्रभावित भएर तत्कालीन सरकारले उनलाई कारागार मुक्त गर्नुका साथै नगद पुरस्कार समेत दिएको थियो । कारागारमाबस्नु पर्दा समेत उनले धेरै कविताहरु लेख्न भ्याए भने वास्तवमा रामायणलाई उनले नेपालीमा उल्था गरेको पनि कारागारको यही फुर्सदिलो समयमा नै हो भन्छन् कतिले । सकारात्मकताका धनी भानुभक्तले आफ्नो कविता मार्पmत निकै हाँसो उठ्ने तरिकाले कारागारको असहज बसाईँ बारे समेत व्यङ्ग्यात्मक बयान गरेका छन् । एउटा त्यस्तै कवितामा उनी भन्छन :

 

लामखुट्टे, उपियाँ, उडुस, यी संगी छन्, यिनकै लहडमा बसी ।
लामखुट्टेहरु गाउँछन्, उपियाँ नाच्दछन्, म हेर्छु बसी बसी ।

 

भानुभक्तको कलम कविता र साहित्यमा मात्र चलेको होइन । उनि आयुर्वेद चिकित्सा प्रणालीका पनि ज्ञाता भएका र ज्योतिष शास्त्रमा पनि उत्तिकै माहिर भएको कुरा उनका विभिन्न आलेखहरुबाट प्रष्ट हुन्छ । आयुर्वेदबारे उनि चरक ऋषिबाट प्रभावित भएको कुरा उनले लेखेको “चरकसंहिता” बाट पनि प्रष्ट हुन्छ । 

 

मोतीराम भट्टले भानुभक्तलाई नेपालीहरु माझ चिनाइदिएको निकै समयसम्म पनि भानुभक्तको खासै कदर गर्न थालिएको थिएन । तर उनका कृतिहरु बारे विभिन्न स्रस्टाहरुले लेख्न थालेपछि र भारत तथा नेपालका विभिन्न छापाखानाहरुले छापेर सार्वजनिक गर्न थालेपछि भने भानुभक्त एकाएक नेपाल भित्र र बाहिर बस्ने नेपालीहरु बीच निकै प्रख्यात हुँदै गए । बालकृष्ण समले वि.सं. २००२ सालमा “भक्त–भानुभक्त” नाटकको मञ्चन गरेपछि भानुभक्तको ख्याती झनै बढ्न गयो । त्यस्तै वि.सं. २०१२ सालमा साहित्यकार गोपाल पाँडे “असिम” ले भानुभक्त आचार्यको जन्म जयन्ती सोही सालको असार २९ गतेको दिन देखि प्रत्येक वर्ष मनाउनु पर्ने प्रस्ताव साहित्य क्षेत्रमा राखेपछि भने त्यही वर्ष देखि मनाईँदै आएको हो।उनको नामबाट विद्यालयहरु पनि खुले, नेपालका केही ठाउँहरुमा उनका शालिकहरु पनि स्थापना गरिए र विभिन्न शहरका चोकहरुको नाम पनि उनको नामबाट बने । तर ती सबै एक प्रकारले औपचारिकता पुरा गर्न मात्र गरिएको जस्तो भएको छ । बरु भारतको दार्जिलिङको चौरस्तामा भानुभक्तको भव्य शालिकको स्थापना सूर्यविक्रम ज्ञवालीको पलहमा गरिएको थियो र आजसम्म पनि भानु जयन्तीको दिन त्यहाँ भव्य रूपमा साहित्यिक सम्मेलन आदिको आयोजना गरेर उनको जन्म जयन्ती मनाइन्छ। प्रवासी नेपालीहरुको वाहुल्य भएको भारतको उत्तर पूर्वी र उत्तर पश्चिमी इलाकाहरु, म्यानमार आदि ठाउँहरुमा पनि प्रत्येक वर्ष भानुभक्तलाई सम्झने गरिन्छ । म्यानमारमा यस पटक कोरोनाले गर्दा भानु जयन्ती जुममार्फत मनाइयो । त्यस्तै सिक्किममा पनि त्यहाँका गभर्नर, मूख्य मन्त्रि र अन्य उच्च पदस्थ व्यक्तिहरु र साहित्यकारहरु भेला भएर यसपाली पनि भानु जयन्ती मनाए तथा स्रस्टा दिलकुमारी भण्डारीलाई यस पटकको भानु पुरस्कार पनि प्रदान गर्ने कुराको घोषणा गरे । तर नेपालमा खासै कुनै कार्यक्रम भएको पाइएन । प्रज्ञा प्रतिष्ठानबाट समेत कुनै पहल भएको देखिएन । यो निकै दुखको कुरा हो ।

 

उनको जन्मथलो तनहुँको चुन्धी, रम्घामा उनको एउटा शालिक त ठडिएको छ तर उनको घर र कृतिहरुको संरक्षण तथा उनका जे जस्ता सरसामान पाइन्छन् वा पुर्ननिर्माण गर्नु पर्ने हुन्छ, त्यस्ता वस्तुहरुको संकलन गरेर त्यहाँ एउटा भव्य संग्रहालय बनाउन अझैपनि किन ढिला भएको हो, बुझिनसक्नुछ । त्यस्तै घाँसी कुवामा उनको सम्झनामा केही संरचना र पार्क बनेको भएपनि त्यो ठाउँलाई अझ बढी विकास गरेर सो ठाउँ भएर यात्रा गर्ने यात्रुहरुलाई त्यहाँ केहीबेर रोकिएर आराम गर्ने, खानपिन गर्ने तथा भानुभक्तको बारेमा विभिन्न तवरले ऐतिहासिक ज्ञान प्राप्त गर्ने, उनका कृतिहरु छापिएका पुस्तक तथा अन्य सोभेनियर जस्तै उनले लगाउने गरेका जस्ता परिहन, उनको नाम भएका कापी–कलम, कप, व्याज तथा उनका मिनिएचर मूर्ति आदिखरिद गर्ने वातावरणको सिर्जना गर्न सकेकति राम्रो हुने थियो । यस्तै प्रकारले आफ्ना स्रस्टाहरुलाई देश–विदेशका जनतासँग परिचित गराउन अन्य राष्ट्रले कति सिर्जनशील तरिकाहरु अपनाएका हुन्छन् । तर हामीले नजानेको हो वा बुझ पचाएको हो थाहा नै हुन सकेन ।

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

दुई किलो चामल 

६ कार्तिक, २०७८

जे भने नी हुने    

६ कार्तिक, २०७८

बुढ्यौलीपन

३० असोज, २०७८