माध्यम कलाको– अभियान मानवताको

काठमाडौं । यो ‘दि म्यानेकेन सिभिलाईजेशन’ श्रृङ्खलाको ‘सबलाईम’ नामक चित्र हो जुन सन् २०१७ मा मैले बनाएको हुँ । क्यानभासमा एक्रेलिक कलर,आल्मुनिएम पाता र इनामेल कलरबाट मिक्स मिडियामा बनाइएको यो चित्र सन् २०१९ मा भएको म्यानेकेन सभ्यताका नकोरिएका अनुहारहरु नामक एकल चित्रकला प्रदर्शनीमा सामेल थियो ।
म्यानेकेन सभ्यता श्रृङ्खला मेरै एउटा कवितामा आधारित कलाहरुको श्रृङ्खला हो। जुन एक मानव सभ्यता अर्को मानव शक्तिबाट तहसनहस पार्ने क्रम विरुद्धको एउटा आवाज हो।
सबलाईममा अन्तरनिहित मौलिकतामा हामीले प्राप्त गर्ने स्वर्गीय आनन्दको क्षणिक पललाई देखाइएको छ। यसमा बाङ्लादेशको रिक्सा आर्टको पनि प्रयोग गरिएको छ। जसले त्यस भेगको गौरवमय शहरी लोककलाको प्रतिनिधित्व गर्दछ। तर बिडम्बना, यो सँस्कृति पनि अरु स्थानीय सँस्कृति एवं परम्पराहरु जस्तै बाह्य साँस्कृतिक अतिक्रमणबाट प्रभावित हुँदै गएको छ ।
कविता
म्यानेकेन सभ्यता
समुन्नत सतहमा एकत्रित मस्तिस्कहरु क्रमशः ताछिनेछन् ।
धर्म, सँस्कृति र सभ्यताको अचानोमा राखि
बगरेहरुले फेरि टुक्राटुक्रा पार्नेछन् ।
स्वतन्त्रता र अस्तित्वका लागि चिच्याउने गलाहरु
निर्ममतापूर्वक निमोठिनेछन् ।
तिमी टुक्रनेछौ, म टुक्रनेछु र हामीहरु टुक्रनेछौँ ।
हाम्रो पहिचान निर्जन मरुभुमिमा छरिनेछ ।
इतिहास तर्साउने हिटलरहरुका भीमकाय हातहरुले
युगौँका लागि फेरि थिच्नेछन् ।
फेरि एकपटक स्टालिनहरुको ठाडो आदेशमा
फासिस्टहरुको कुरुप हातहरुवाट हाम्रो दाहसंस्कार गरिनेछ ।
दानव दाँतहरुले हाम्रा मासंपेशीका प्रत्येक त्यान्द्राहरु लुछ्नेछन् ।
मानव अस्तित्वका लागि मात्र हामीहरुलाइ उभ्याइनेछ ।
र कुरुप म्यानेकेनका रुपमा विकसित गरी
मानव सभ्यताको कथित नयाँ खोल ओडाइनेछ ।
म्यानेकेन सभ्यता हामीलाई अपाच्य हुनसक्ला ।
तर, हिटलर र स्टालिनहरुले बुख्याँचा बनाई
हाम्रो आँगनमा गाड्नेछन् ।
र हामीलाई म्यानेकेनयुगीन जीव बन्न बाध्य बनाउनेछन् ।
म्यानेकेन युगिन जीवको रुपमा हाम्रो बयान इतिहासमा गरिनेछ ।
फेरि एकपटक हामी अजन्ताका अँध्यारा भित्ताहरुमा
आफ्नो पहिचान कोर्न प्रयेत्न गर्नेछौँ ।
दाभिन्चिहरु अन्तिम भोजको निर्माणमा जुट्नेछन् ।
अनि पिकासोको जन्म हुन्छ र ग्वर्निकाको पुर्ननिर्माण हुन्छ ।
तर एक काल्पनिक दन्त्यकथाको रुपमा ।
किनभने यस युगमा अजन्ताका अँध्यारा गुफाहरु
नागासाकी र हिरोसिमाका तीता अतित सम्झाउने
भग्नावशेषमा परिणत गरिनेछ ।
दाभिन्चि र पिकासोहरु भ्रुण अवस्थामा नै मारिनेछन् ।
जुपिटर प्रधानको कलामा सानैदेखि रुची थियो । उनी विशेष शिल्प कलामा ध्यान दिन्थे । पिता साहित्यकार र हजुरबुवा भुवनलाल प्रधान पनि इतिहासविद् तथा कला मर्मज्ञ भएकाले सानैदेखि यिनमा कला र साहित्यसँग साइनो गाँसियो ।
एसएलसी उत्तीर्ण गरेपछि इन्जिनियरिङ पढ्ने अभिलाषा बोकेका थिए, तर भर्ना भए अमृत साइन्स क्याम्पसमा । रुचीको विषय पढ्न नपाएकाले विज्ञानमा यिनले राम्रो गर्न सकेनन्। उनमा चित्रकलाको नशा चढेको थियो । जुन देखेर पिताले आफूलाई निकै हौस्याएको यिनको सम्झनामा छ । कला सिक्न भनी सिर्जना कलेज पुगेका जुपिटरलाई त्यहाँ पनि प्रवेश परीक्षा दिनुपर्ने थाहा भयो । उनी त्यसपछि परीक्षा नै नदिई बाहिरिए । त्यसपछि पिताकै दवाबमा २०५४ सालमा ललित कलामा क्याम्पसमा भर्ना हुन पुगे ।
अनेकौं पटक सामूहिक र एकल कला प्रदर्शनी गरिसकेका जुपिटरले कलाको सर्वाङ्गीण विकासका लागि ‘स्पेस ए’ नामको संस्था पनि खोलेका छन् । क्याम्पस प्रवेश गरे लगतै यिनी विभिन्न कला प्रतियोगितामा कला कार्यशालामा भाग लिन सुरू गरे। केही समय विद्यार्थी राजनीतिमा पनि सक्रिय रहे । प्रमाणपत्र तह पास गरेपछि स्नातकसम्म आइपुग्दा यिनमा कलाका बारेमा मानसिक उथल पुथल सुरू भइरहेको थियो। यिनी परम्परागत भन्दा बेग्लै किसिमले आफ्ना सिर्जनालाई अगाडि बढाउन चाहन्थे, तर क्याम्पसमा उही पुरानै ढर्राको अध्यापन शैलीमा पढ्नुपर्ने बाध्यताले यिनी निराश हुँदै गए। नयाँ सोच र अध्यापन शैलीका बारेमा बेलाबेलामा यिनको प्राध्यापकसँग बैचारिक बहस नै चल्थ्यो।
स्नातकपछि स्कूलको व्यवसायमा सरिक हुँदै गर्दा बाङ्लादेशमा सामूहिक कला प्रदर्शनी गर्ने निमन्त्रणा आयो। त्यहाँ उनलाई विश्वविद्यालय घुम्ने र वातावरण बुझ्ने अवसर मिल्यो। प्रदर्शनीका लागि सँगै गएकी अर्की कलाकार सौरगङ्गा दर्शनधारीको विशेष अनुरोधमा यी दुवै त्यहीँकै विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भए।
सधैं नयाँ सोच र शैलीमा काम गर्न रूचाउने हुदाँ त्यहाँ यिनले निकै प्रयोग गर्न पाए। विशेष गरी बाङ्लादेशको जीवन शैलीबाट प्रभावित जुपिटरले त्यहीको जीवन शैली र कच्चा सामग्रीलाई नै आफ्नो कला प्रस्तुतिको माध्यम बनाउन थाले। स्नातकोत्तर तह उत्तीर्ण गरेर नेपाल फर्कंदा आफ्नो साथमा विशिष्ट श्रेणीको प्रमाण –पत्रसहित सर्वोत्कृष्ट भई फर्किए ।
प्रतिकृया दिनुहोस