• बिहीबार ११-२०-२०७७/Thursday 03-04-2021
डबली

‘पुस्तक प्रतिको लगावले लेखनतर्फ डोहोर्‍यायो, लेखनले प्रकाशनतर्फ’

काठमाडौं । साहित्यका पुस्तक अध्ययनको हुटहुटीले पुस्तक प्रकाशनमा हात हालेका अजित बराल कोरोना कहर पछि थप पुस्तक प्रकाशनमा जुटेका छन । बराल र लिटरेचर फेस्टिभल एक अर्काका परिपुरक जस्तै भईसकेका छन । सन् २०११ नेपाल लिटरेचर फेस्टिभलको पहिलो संस्करण थियो। फेस्टिभल आयोजना गर्नु आफैूमा चुनौतीपूर्ण र जोखिमको कार्य हो। देश विदेशबाट १५० बढी लेखक, विद्वान, पत्रकार, कलाकार, राजनीतिज्ञहरुको सहभागितामा हरेक बर्ष फेस्टिभल आयोजना हुनेगर्छ। 

 

मल्टिपल टाक्समा रमाउने बराल पव्लिकेशन हाउस, फेस्टिभल सबैमा उत्तिकै खटिन मन पराउँछन्। लकडानको समयमा पुस्तक प्रकाशन हुन सकेन। अहिले अजित यीनै पुस्तकका काममा व्यस्थ छन्। साहित्यका पुस्तकमा घण्टौं रमाउने उनको त्यो बानी हिजो आज उदियमान व्वसायमा परिणत भएको छ। पुस्तक लेखन र प्रकाशन गृहहरु बढेसंगै पाठकलाई पनि पुस्तक छनोट गर्ने सुविधा छ। पछिल्लो समयको साहित्य लेखन तथा प्रकाशनबारे प्रकाशक बरालले आफ्ना अनुभवहरु फ्रेसन्यूज नेपालसँग बाडेका छन।

 

पछिल्लो समय केमा व्यस्थ हुनुहुन्छ ?
खासै केही नयाँ गरिरहेको छैन। नियमित हुने अफिसको काम। कोरानाले गर्दा खासै पुस्तकहरु प्रकाशन गर्न सकिएको थिएन। थुप्रिएर बसेका ती पुस्तकहरुमा गर्नुपर्ने काममा साबिक भन्दा अलि बढी व्यस्त  छु। 

 

अनलाइन किताब, पव्लिकेशन हाउस र प्रत्येक वर्ष लिटरेचर फेस्टिभल, यो कसरी सम्भव भयो ? एकैपटक सबैमा हात हाल्दा केहि छुट्यो भन्ने लाग्छ कि लाग्दैन? 
लाग्दैन। मानिसले जिन्दगीमा थुप्रै कुराहरु गरिरहेको हुन्छन,गर्नुपर्ने हुन्छ । एकैजनाले अनेकौं व्यावसायिक, सिर्जनात्मक कामहरु गरिरहेको हामीले देखिरहेकै छौं। हाम्रो प्रयास पनि उस्तै उस्तै प्रकृतिका धेरै काम गर्ने भन्ने हो। पुस्तक पसल (जुन हामीले अहिले बन्द गरिसकेका छौं), प्रकाशन गृह र साहित्य महोत्सव एकआपसमा जोडिएका क्रियाकलाप भएकाले हामीलाई त झन् सजिलो नै भएको छ । 

 

पब्लिकेशनमा झुकाव बढाउने तत्व के थियो ?
पुस्तक प्रकाशन गर्नु तथा पुस्तक पसल खोल्नु र वर्षेनी आइएमई नेपाल लिटरेचर फेस्टिभल गर्नुको पछाडी एउटै कारण छ- पढन तथा लेखन प्रतिको झुकाव। कुनै समय पुस्तक अति नै धेरै पढ्थें। आफ्नो दिन कति सार्थक भयो/भएन भन्ने आधार आफूले पढेको पुस्तकका पाना बनाउँथे। पुस्तक प्रतिको त्यही लगावले लेखनतर्फ डोहोर्‍यायो,लेखनले प्रकाशनतर्फ।

 

अहिले पव्लिकेशन हाउसहरुको संख्या बढ्दो छ, यसमा कतिको चुनौती देख्नुहुन्छ ?
हो, तपाईंले भनेझैं प्रकाशन गृहहरुको संख्या बढ्दो छ। यसले प्रकाशन उद्योगलाई प्रतिस्पर्धात्मक बनाउँदै लगेको छ। फलत : राम्राराम्रा पुस्तकहरु आईरहेका छन्। पुस्तकको बजार विस्तार भईरहेको छ। लेखकहरुले आफैं पुस्तक छाप्ने पर्ने अवस्था हट्दै गएको छ। यसलाई राम्रो मान्नुपर्छ। तर प्रकाशन गृहहरु धेरै आएकाले कमसल पुस्तकहरु पनि छापिन थालेका छन्। बजारमा अहिले गुणस्तरहीन पुस्तकहरु छ्यापछ्याप्ती छन्। ती पुस्तकले पाठकलाई भड्काइरहेको छ कि भन्ने आशंका उब्जिन थालेको छ । यदि यस्तो भइरहेको हो भने त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौती  हो ।

 

प्रत्येक वर्ष लिटरेचर फेस्टिभल आयोजना गर्नुहुन्छ। फेस्टिभल गर्न कत्तिको चुनौती छ ? 
धैरै नै चुनौतीपूर्ण छ। सबैभन्दा ठूलो चुनौती त आर्थिक स्रोत जुटाउनु नै हुन्छ । नेपालमा उद्योगहरु खासै छैनन्, जसले आफ्नो ब्राण्ड प्रोमोशनका लागि कार्यक्रमहरुलाई सहयोग गर्छन्। फेरि कर्पोरेट सेक्टरले साहित्यलाई हेर्ने दृष्टिकोण खासै सकारात्मक छैन। त्यसैले महोत्सवका लागि आर्थिक संकलन दुरुहपूर्ण काम हो। त्यस्तै व्यवस्थापनको काम पनि उत्तिकै चुनौतीपूर्ण छ। देशविदेशबाट १५० जति लेखक, विद्वान, पत्रकार, कलाकार, राजनीतिज्ञलाई पोखरामा भेला गर्ने, खानेबस्ने व्यवस्था मिलाउनुपर्छ, जसका लागि ठूलो टिमको आवश्यकता हुन्छ । हामी दुई, तीन महिना अफिसको काम छोडेर यसैको तयारीमा लाग्नुपर्ने हुन्छ। गहिरो लगाब बिना यस्तो कार्यक्रमलाई निरन्तरता दिन असम्भव नै छ ।

 
प्रत्येक वर्ष लिटरेचर फेस्टिभल गर्नुहुन्छ, यसको मुख्य उदेश्य के हो, लेखकहरुलाई एकजुट बनाउन कतिको सजिलो छ ? यसमा तपाईलाई कसले सहयोग गरेको छ ?
नेपाल लिटरेचर फेस्टिभलको मुख्य उद्देश्य साहित्यिक, बौद्धिक, सामाजिक, राजनीतिक विषयहरुमा गहन बहसका प्रजातान्त्रिक मञ्च तयार गर्नु हो, जहाँ सबै किसिमका विचारधाराले स्थान पाउँछन्, जसले ज्ञान उत्पादन र प्रसारणमा महत्वपूर्ण भूमिका खेल्दछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखक, प्रबुद्ध व्यत्तित्वहरुलाई एकजुट गरेर महोत्सव स्थलमा लगी कार्यक्रम सञ्चालन गर्नु जटिल काम हो । यो जटिल कार्यलाई सहज बनाउने काम हाम्रो टिम, स्वंयसेवक भाइबहिनीहरु, विभिन्न संघसंस्था, शभेच्छुक साथीभाइले गरेका छन् । त्यसैले पनि महोत्सवले निरन्तरता पाएको छ, हामी महोत्सवको दशौं संस्करणसम्म आइपुगेका छौं ।

 

पछिल्लो समय लेखकको संख्या बढेको छ, यो तपाईहरुका लागि पनि अवसर हो भन्ने कतिको मान्नु हुन्छ ?
सतप्रतिशत मान्छु । प्रकाशन गृहहरुको बृद्धिसँगै नयाँनयाँ लेखकको जन्म भएको छ । धेरै पुस्तकहरु लेखिन थालेका छन् । पुस्तकमा विधागत तथा विषयगत विविधता आएका छन्। यसको लाभ पाठक र प्रकाशन दुवैले पाइरहेका छन् । 

 

अबको लेखन कस्तो रुपमा अघि बढ्ने देख्नुहुन्छ ?
नेपाली लेखनको ट्रेण्ड कसरी अगाडि बढ्ला भनेर म ठ्याक्कै भन्न सक्दिनँ । तर समकालीन लेखन परम्परा भन्दा फरक रुपमा नेपाली लेखन अगाडि बढ्ला भन्ने मलाई लाग्दैन।


नेपाली साहित्य क्षेत्रमा यहाँलाई खड्केको कुरा केही छ कि ?
नेपाली साहित्य लेखन त भइराखेको छ, तर त्यसमा गुणात्मक सुधार जुन रुपमा हुनुपर्ने हो त्यो भइराखेको छैन । यसले गर्दा नेपाली साहित्यप्रति पाठकको रुची कम हुँदै गइराखेको हो कि भन्ने मलाई लाग्न थालेको छ।

 

तपाईको बुवा बरिष्ठ कार्टुनिष्ट हुनुहुन्छ, तपाईको झुकाव यता कसरी भयो ?
बुवा कला, कार्टूनको क्षेत्रमा हुनुहुन्छ, म बुबाको भन्दा भिन्न क्षेत्रमा छु तर त्यति भिन्न क्षेत्रमा पनि होइन किनकी कला, कार्टून झैं लेखन र प्रकाशन पनि सिर्जनात्मक विधा नै हुन् । म एउटा ख्याती प्राप्त कलाकार कार्टूनिस्टको छोराले विज्ञान विषयका विविध चित्र बनाउन बाहेक अरु बेला एकपटक पनि पेन्सिल र कुची समाएको छैन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर प्रतिभा इनबर्न हुन्छ भन्ने सोच्ने बुबाले आफ्नो पथमा लाग्न हामीलाई कहिले पनि भन्नुभएन र कला सिकाउने चेस्टा पनि गर्नुभएन । म आफूलाई पनि चित्र बनाउनुपर्छ भन्ने कहिले लागेन। त्यसैले समयक्रममा बनेको मेरो रुची अनुसारको पेशा, क्षेत्रमा म लागें ।

 

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुहुन्छ ? 
एकदम तरल छ, नेपाली राजनीतिको वर्तमान स्थिति । पटकपटक गरिएका आन्दोलनहरुको उपलब्धिहरुलाई संस्थागत गर्न सकिएको छैन। राजनीतिक प्रणालि फेरियो, सत्तामा जाने मानिसहरु बदलिए तर शासनको मूल चरित्र बदिलिएन। अहिले आएर त झन् हामीले बनाएको संविधान माथि प्रहार भएको छ। देश संवैधानिक संकटबाट गुज्रिरहेको छ। निराशा व्याप्त छ। लाग्छ, सधैं चरम निराशामा बाँच्न हामी अभिशप्त छौं । 

 

प्रस्तुती : सुकृत नेपाल

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

अबोध

१५ फाल्गुण, २०७७

त्यो लालिमा कहाँ छ ?

८ फाल्गुण, २०७७