• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

'डेनीको अभिनयलाई हामीले बिर्सन हुँदैन'

मिथिला शर्मा, अभिनेत्री

काठमाडौं । नृत्यबाट क्यारियर सुरुवात गरेकी मिथिला शर्मालाई बलियो र सशक्त अभिनयले मात्रै तान्छ। चलचित्रहरुमा कहिले दिदी, कहिले भाउजू त कहिले आमा बनेर उनको अभिनय यात्रा अघि बढिरहेको छ । वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र ‘विश्वास’ बाट शर्माले आफनो अभिनय करिअर सुरु गरेकी थिइन् । डेढ सयभन्दा बढी चलचित्र र केही नाटकमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी मिथिला शर्मा पछिल्लो समय अभिनेता तथा अभिनेत्रीको आमाको भूमिकामा देखिँदै आएकी छन्। चलचित्रमा उनी भएपछि अरु कलाकार छायाँमा पर्ने चर्चा समेत हुने गरेको छ । उनी आफ्नो अभिनयले दर्शकलाई हलमा बाँधेर राख्न सिपालु छिन् । 

 

स्वर्गीय शिव रेग्मी निर्देशित चलचित्र ‘सुख—दुःख’ मा अभिनय गरेपछि मिथिला शर्माको करिअरले उचाइ दिएको थियो। अभिनेत्री शर्माले ९ वर्षको उमेरमा गोपाल योन्जानको गीतमा स्वर्गीय राजा वीरेन्द्र शाहको अगाडि नृत्य प्रस्तुत गरेकी थिइन् । ‘विश्वास, पच्चिस बसन्त, भुमरी, चेलीबेटी, अधिकार, लहना, जे भयो राम्रो भो, मुग्लान, दुनियाँ, मिस्टर मंगले, आधा लभ, अझै पनि, मंगलम, कोहिनूर, उमा, आमा लगायतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । उनलाई मन परेका पाँच चलचित्र :

 

माईतीघर 
पुरानो मध्य मलाई एकदमै मन परेका चलचित्र हो । सिपी लोहनी र माला सिन्हाको अभिनय एकदमै राम्रो थियो। चलत्रिचका कति कुराहरु त म अहिले पनि सम्झन्छु। धेरै सम्झिरहने भनेको यस चलचित्रको गीत संगीत नै हो । ‘यो हो प्राण भन्दा प्यारो माईतीघर माईतीघर’ गीत अहिले पनि म सम्झन्छु । 

 

मनको बाँध
प्रकाश थापाले निर्देशन गर्नुभएको यो चलचित्रको कथावस्तु साधारण भएपनि मन छुने खालको थियो। चलचित्रमा भैरव बहादुर थापा, कुलदिप शेरचन बसुन्धरा भुषालको अभिनय रहेको चलचित्रको कथा देखि लिएर सबै कुराहरुलाई एकदमै गहन थिए। त्यतिबेला बनेका चलचित्रहरुमा यो पनि राम्रो बनेको चलचित्र थियो । श्याम श्वेत चलचित्र भएपनि हेर्दा बेग्लै मजा आएको थियो। 

 

सिन्दुर
चलचित्रको कथावस्तु एकदमै मौलिक थियो। चलचित्रका कलाकार मिनाक्षी आन्नद र विश्व बस्नेतको अभिनय राम्रो थियो। यसका साथै स्वर्गीय गोपालराज मैनाली र बसुन्धरा भुषालको अभिनयको जति तारिफ गरेपनि कम हुन्छ। 

 

साईनो
चलचित्रको कथा र त्यसको विषयबस्तु एकदमै राम्रो थियो। चलचित्रमा एकअर्का प्रतिको मायाप्रेमको कथावस्तु छ। चलचित्रमा नेपालीपन ढल्किएको छ । नायिका तृप्ती अभिनय राम्रो छ। अन्य कलाकारहरु भुवन केसी, डेनीको अभिनयलाई पनि हामीले बिर्सन हुँदैन । रन्जीत गजमेरको संगीत र उगेन छोपेलको निर्देशन एकदमै मिलेको थियो । 


कन्यादान 
चलचित्रको संवाद एकदमै घतलाग्दो थियो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, भुवन केसीको अभिनयले चलचित्रलाई बेजोड बनाएको थियो। नायिका गौरी मल्लको अभिनय र डान्सले झन चलचित्रमाथी सुनमा सुगन्ध थपेको थियो । कथावस्तु पनि मन छुने खालको थियो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार