• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

प्रहरीले अनुसन्धान थालेपछि र्‍यापर भिटेनले प्राइभेट गरे भिडियो ‘पारा’

काठमाडौं । भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। 

 

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारवाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

 

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरेका छन्। भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।

 

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भने । साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बतायो।

 

‘चिठी आइसकेको छ, त्यो भिडियो कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को(को संलग्न छन्, हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं,’ ब्युरो प्रमुख एसएसपी नवीन्द अर्यालले भने। केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ। 

 

यस्तै भिटेनले आफुलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडियो प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ।

 

भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्।  उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन।    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार