• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020
देश/प्रदेश

शक्तिकी प्रतीक नवदुर्गा

आश्विन शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्मको १० दिनलाई दसैं भनिन्छ । १० दिनमा नौ रात हुने हुँदा यो अवधिलाई नवरात्र भनिन्छ । नवरात्रमा भगवती दुर्गाको आराधनाको ठूलो महिमा छ । दुर्गा मातालाई असत्य माथि सत्यको जीत र अन्याय माथि न्यायको प्रतीकका रूपमा लिइन्छ। दैत्यहरूलाई नष्ट गर्न, आफूहरूमा विशेष शक्ति आर्जन गर्न देवताहरूद्वारा आह्वान गरिएका दुर्गा देवीहरूलाई नवरात्रिभर पूजा–आराधना गरिन्छ शिवपुराणअनुसार, शिवद्वारा पुत्र गणेशको शिरोच्छेदन गरिँदा देवी पार्वती अत्यन्त क्रुद्ध भइन्, आफ्नै शरीरबाट नवदुर्गाहरूको उत्पत्ति गरी चारै दिशाबाट देवताहरूलाई त्राहिमाम् पारिन् अनि देवताहरूले नवरात्रका अवसरमा क्रमैले पूजा–आराधना गरेपछि दुर्गाहरू शान्त भए । देवी भागवतमा उल्लेख भए अनुसार, इन्द्र, शिव, विष्णु एवं रामले क्रमशः वृत्तासुर, त्रिपुरासुर, मधु–कैटभ तथा रावणलाई नष्ट गर्न नवरात्रिभर देवीको व्रत गरेका थिए । शरद ्ऋतुमा मानिने शारदीय दसैं असोजमा धुमधाम सँग मनाइँदै आएको छ । दसैंकी मुख्य नायिका महामाया भगवती दुर्गा हुन्, तिनैका विविध स्वरूपले दुष्टताको प्रतीकका रूपमा रहेका दानवहरूलाई नष्ट गर्छन । उदाहरण स्वरूप, भगवान् शिवको अनुरोधमा भगवतीले रुरुका पुत्र दुर्ग नामक महादैत्यलाई भयंकर युद्धपश्चात् नष्ट गरिदिन्छिन् र उनको यो स्वरूपलाई दुर्गा मानिन्छ । ब्रह्माको प्रार्थनाबाट मधु र कैटभ नामक बलवान् महादानवहरूलाई नष्ट गरेपछिको देवीको स्वरूपलाई महाकाली भनिन्छ । तेत्तीसै कोटी देवताहरूले प्रार्थना गरे पश्चात उनीहरूको क्रोधरूपीतेजबाट उत्पन्न भएकी देवीले महिषासुर नामक महादैत्यलाई नष्ट गरे पश्चात उनको यो स्वरूप महालक्ष्मी (महिषासुरमर्दिनी) नामले प्रसिद्ध रह्यो । देवताहरूकै प्रार्थनामा सबै देवगण र तीनै लोकको कल्याणका लागि गौरी देवीको शरीरबाट उत्पत्ति भई शुम्भ, निशुम्भ र धूम्रलोचनजस्ता महादैत्यहरूलाई नष्ट गरेकी दुर्गा (देवी) को स्वरूपलाई महासरस्वती, चण्ड र मुण्ड नामक दैत्यहरूलाई नष्ट गर्ने स्वरूपलाई चामुण्डा भनिन्छ । चराचर जगत्को सृष्टिलाई निरन्तरता दिन महाकालीले संहार, महालक्ष्मीले जगत्को पालन र महासरस्वतीले जगत्को उत्पत्ति तथा ज्ञानको सञ्चार गर्ने कार्य पनि सँगसँगै गरिरहेका हुन्छन् ।

 

दुर्गासप्तशतीमा नवदुर्गाका नाम यस प्रकार लिइएको छ— १) प्रेतमा चढ्ने चामुण्डा, २) राँगोमा चढ्ने वाराही, ३) ऐरावत हात्तीमा सवार गर्ने इन्द्राणी, ४) गरुड वाहन हुने वैष्णवी, ५) साँढेमा चढ्ने माहेश्वरी, ६) मयूर वाहन हुने कौमारी, ७) हातमा कमलको फूल लिएर कमलमा बस्ने विष्णुप्रिया लक्ष्मी, ८) श्वेतवर्ण र साँढे वाहन भएकी ईश्वरी, ९) अनेक आभूषण धारण गरेर हंसमा बस्ने ब्राह्मी ।

 

भगवती दुर्गाले चण्डमुण्ड प्रचण्ड, शुम्भनिशुम्भ, रक्तबीज आदि दैत्यलाई वध गरेको ह’नाले द’ष्ट दानवको वध गरी सम्प“र्ण लोकको कल्याण गर्न’भएको सन्दर्भ, भगवान रामले रावणको वध गरेको प्रसङ्गलाई असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी  महिषासुरमर्दिनी, वत्सलादेवी, जयवागेश्वरी र गुह्येश्वरीलाई समेत राखेर पूजा–उपासना गरिन्छ । अपराजित पृच्छानामक ग्रन्थमा महालक्ष्मी, नन्दा, क्षेमंककरी, शिवदूती, महाचण्डा, भ्रमरी, सर्वमंगला, रेवती, हरसिद्धिलाई नवदुर्गाका नामका रूपमा प्रस्तुत गरिएको छ । आगम ग्रन्थ अनुसार, नवदुर्गाका नाम हुन्ः नीलकण्ठी, क्षेमंकरी, हरसिद्धि, रुद्रांश दुर्गा, वनदुर्गा, अग्नि दुर्गा, जप दुर्गा, विन्ध्यवासिनी दुर्गा, रिपुमारी दुर्गा ।

 

ब्रह्मवैवर्त्त पुराणको प्रकृति खण्डमा भगवान् विष्णुले नारद ऋषिलाई प्रकृतिकवचका रूपमा नवदिग्दुर्गाहरूले आ–आफ्ना दिशामा रहेर वरिपरिबाट सम्पूर्ण दिशाको रक्षा गरिरहेका हुन्छन् भन्दै ती अधिष्ठात्री देवीहरूका नाम यस प्रकार बताएका छन्— १) प्रकृति : पूर्व, २) चण्डिका : आग्नेयकोण, ३) भद्रकाली : दक्षिण, ४) महेश्वरी ः नैर्ऋत्यकोण, ५) वाराही : पश्चिम, ६) सर्वमंगला : वायव्यकोण, ७) वैष्णवी : उत्तर, ८) शिवप्रिया : ईशानकोण र ९) जगदम्बिका : जल, थल र आकाश ।

 

तन्त्रप्रधान नवदुर्गागणको मूल चरित्र र गुप्त रूप महिषासुर मर्दिनी दुर्गा भवानी हो । यीगणको जन्म, जीवन र मरणको मूल स्रोत तलेजु भवानी हो र गुप्त रूपमा उपासित रहिआएकी तलेजु भवानीको मूल रूप महिषासुर मर्दिनी दुर्गा भवानी हो । दसैंका अवसरमा नेपालमा महिषासुर मर्दिनीस्वरूपा दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ । उपत्यकाका केही प्रमुख शक्ति पीठ महिषासुर मर्दिनीस्वरूपकै छन्, जुन हुन् पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती, नाला भगवती आदि । काठमाडौंमा नवरात्रिभर सरकार प्रमुखद्वारा नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिका (कालिकास्थान), शोभा भगवती, रक्तकाली, तलेजु भवानी, भद्रकाली र दक्षिणकाली देवीहरूको दर्शन गर्ने परम्परा छ  । नवरात्रिमा गरिने देवीपूजामा दुईवर्षदेखि बाह्र वर्षसम्मका नौकन्यालाईपनि नौदिन सम्म पूजागर्ने परम्परा छ । पहिलो दिन देखि तिनको क्रम यस प्रकार छ– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, कालिका, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा ।

 

यी नवदुर्गा देवीहरू समस्त योगले सम्पन्न छन् भनिएको छ । यसै ग्रन्थमा नवदुर्गाहरूको अर्को समूहमा तल उल्लिखित देवीहरूलाई पनि लिइएको छ र नेपालमा दसैंका अवसरमा नवरात्रिभर क्रमशःयिनै देवीहरूको पूजा गरिन्छ ।

 

१) शैलपुत्री, २) ब्रह्मचारिणी, ३) चन्द्रघण्टा, ४) कुष्माण्डा, ५) स्कन्दमाता, ६) कात्यायनी, ७) कालरात्रि, ८) महागौरी, र ९) सिद्धमाता वा सिद्धिदात्री ।

 

शैलपुत्री : विधिपूर्वक घटस्थापना गरेर जौ, गहुँको जमारा राखी प्रारम्भ गरिएको दुर्गापूजाको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ। पहिलो जन्ममा दक्ष प्रजापतिका गृहमा सतीदेवीका रूपमा र अर्को जन्म हिमालयका घरमा शैलपुत्रीका रूपमा उनको प्रार्दुभाव भएको हो । वृषभ वाहनमा चढेकी, दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी यिनै देवीको आराधना गर्नाले अटल सौभाग्य, सुख, शान्ति, समृद्धि मिल्नेछ। आयुर्वेदमा शैलपुत्रीलाई हर्रोका रूपमा लिइन्छ ।

 

ब्रह्मचारिणी : नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूपको ध्यान र पूजा गर्ने गरिन्छ। ब्रह्मचारिणीको शाब्दिक अर्थ ब्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। ब्रह्मचारिणी सेतो वस्त्र धारण गरेकी, दाहिने हातमा जयमाला र देब्रे हातमा कमण्डलु लिएकी, खाली पाउमा सवार भएकी देवीको दिव्य स्वरूपको ध्यान गर्ने गरिन्छ। उनको आराधना गर्नाले आयु तथा स्मरण शक्ति वृद्धि र रक्त विकार शुद्ध गर्न तथा वाणीमा मिठास ल्याउन यी भगवतीको ध्यान गरिन्छ ।

 

चन्द्रघण्टा : दुर्गा देवीको तेस्रो रूप चन्द्रघण्टा हो । १० भूजा भएकी, शरीरको रङ सुनको जस्तो देदिप्यमान सिंहवाहन भएकी, सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवी मानवमा वाणीको प्रतिनिधित्व र राक्षसी प्रवृत्तिको विनाश गर्छिन ।

 

कुष्माण्डा : नवरात्रको चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ। जुन समयमा संसार अन्धकारमय थियो, सृष्टि भएको थिएन, यसै समयमा आफ्नो हाँसोद्वारा विश्व–ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कुष्माण्डा रहन गएको हो ।

 

कुष्माण्डा भनेको कुभिन्डो हो। तसर्थ पृथ्वी कुभिण्डाकार देखिन्छ । अष्टभूजा भएकी, हातमा चक्र, गधा र अमृतपूर्ण कलश, कमलको फूल, वाण, धनुष, कमण्डलु र जपमाला वाहन सिंह भएकी आदिशक्ति स्वरूपा भवानीदेवी मानव मात्रमा गर्भाधान शक्तिको स्वरूप प्रदान गर्छिन् । आयुर्वेद अनुसार कुभिण्डो मानसिक रोगीका लागि अमृतसमान रहन्छ । साथै कुभिण्डो पञ्चबलिअन्तर्गत बलि दिने प्रचलन छ ।

 

स्कन्धमाता : पाँचौं दिन स्कन्धमाताको पूजा र आराधना गरिन्छ । कार्तिकेय देवासुर संग्राममा देवताका सेनापति थिए । यिनै स्कन्दको आमा भएकाले भगवती दुर्गाको यस अवतारलाई स्कन्धमाता भनिएको हो । 

 

कात्यायनी : आद्यजगत् जननी दुर्गामाताको छैटौं दिन कात्यायनीको पूजा तथा आराधना गरिन्छ । कत नाम गरेका विशिष्ट महर्षि कात्यायनले पुत्री प्राप्तिका लागि कठोर तपस्या गर्दा माता प्रसन्न भई प्राकश्य भइन् । 

 

कालरात्री : यस दिन दुर्गामाताको कालरात्री स्वरूपको पूजा गरिन्छ । कालरात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास र विनाशिनी भनेको शुभकारी, फ्mलदायी भावमा कालरात्री नामकरण भएको पाइन्छ । 

 

महागौरी : नवरात्रको आठौं दिन महागौरी (महाकाली, महालक्ष्मी र महासरस्वती) को विशेष पूजाआजा गरिन्छ। महाअष्टमी र महानवमीबीचको रातभरि गुप्तपूजा गरिन्छ । शिवलाई पतिका रूपमा प्राप्त गर्न महागौरीले कठोर तपस्या गरेकी थिइन् । यस कारणले  यस्ती देवीको पूजापाठ र आराधना गर्दा असम्भव कार्यलाई सम्भव, असत्यमाथि सत्यको जित, अधर्ममाथि धर्मको विजय, निर्गुणीलाई सगुणीतर्फ लाग्न प्रेरणा मिल्छ । 

 

सिद्धियात्री : शारदीय नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भवानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। सम्पूर्ण सिद्धि प्रदान गर्ने देवी हुन् । महामाया भगवतीले मोहिनी रूप धारण गरी दानवहरूको संहार गरेकाले नवमीको दिनलाई मोहनी भनिन्छ।। सिद्धिदात्री देवीको आराधना गर्नाले अणिमा, महिमा, गरिमा, लद्यिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्। सृष्टिका क्रममा देवादिदेव महादेवले पनि आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले त्रिदेव क्रमशः ब्रह्मा, विष्णु, महेशको रूप धारण गरी जगत्को सृष्टि, स्थिति र प्रलय गरे ।

 

दसैंको अवधिभर यिनै देवीहरू नाममा  पूजा र आराधना  गरिन्छ महिलालाई दुर्गाको रूपमा सम्मान गरी आर्शिवाद समेत दिइन्छ । 

 

जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नमोऽस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी । 
जय सर्वगते देवि कालरात्री नमोऽस्तु ते ।।

 

अर्थात्, जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा रूप देवीहरूलाई नमस्कार छ । चामुण्डा देवीको जय होस । सम्पूर्ण प्राणीहरूको पीडाहरण गर्ने देवी तिम्रो जय होस् । सबैमा व्याप्त रहने देवी कालरात्रिलाई नमस्कार छ । जयन्तीको अर्थ होः सबैभन्दा उत्कृष्ट र विजयशालिनी । मंगलाको मतलब जन्म–मरणको बन्धन काटेर मोक्ष दिने । काली भनेको प्रलयकालमा सृष्टिलाई निल्ने । भद्रकाली अर्थात आफ्ना भक्तलाई दिनभद्र, सुख वा मंगल स्वीकार गर्ने । कपालिनीको अर्थ हुन्छ–हातमा माला र गलामा मुण्डमाला धारण गर्ने । दुर्गा भनेको अष्टांगयोग र कर्मोपासनारूप कठोर साधनाले मात्र प्राप्त हुने । क्षमाको मतलब सम्पूर्ण जगतकी जननी हुनाले आफ्ना भक्त वा अन्यको पनि अपराध क्षमा गरिदिने । शिवा अर्थात सबैको कल्याण गर्ने जगदम्बा । धात्री भनेको सबै प्रपञ्चलाई धारण गर्ने । स्वाहाको मतलब यज्ञभाग ग्रहण गरेर देवताहरूको पोषण गर्ने । स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकार गरेरपितृहरूलाई तृप्तगर्ने देवीलाई बुझ्नुपर्छ  । 

 

शक्तिकी प्रतिक नवदुर्गाहरुको नाम उच्चारण गरिन्छ। दशमीको दिन देवीहरुको पुजा गर्नुको साथै आर्शिवाद दिदै देवी आव्हान गरिन्छ। जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधारुपका शक्तिशाली देवी समान पुकारिन्छ तर  दशमी अवधिभर मात्र यदि हरपल हरक्षण यी नवदुर्गा जस्तै महिलाहरु शक्तिशाली हुने हो भने कञ्चनपुकी निर्मला पन्त र वझाङकी संझना वि.क. जस्तै वलात्कृत भएर मारिनु पर्दैन्थ्यो होला । त्यसैगरी आफुलाई जन्मदिने बाबुवाट वलात्कृत हुनुपर्दैन्थ्यो होला, आफन्तहरु, हजुरवुवा, काका, भतिजा, काका ससुरा, नन्दे ज्वाई आदिवाट वलात्कृत हुनु पर्देनथ्यो होला । यसैगरी एसिड आक्रमणवाट पिडित, हिंसा सहन, यौन दुरव्यवहार सहन पर्दैनथ्यो होला। यसैले दशै अवधिभर मात्र जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी नभएर प्रत्येक दिन शक्तिशाली नवदुर्गाको रुपमा, नरपशुहरुवाट आफुलाई संरक्षण गर्न जरुरी छ। साथै काली (सोझी केटी) मात्र हैन महाकाली, घाँटीमा टाउको माला लगाएर राता जिव्रो निकालेर महादेवको छातीमा टेकेर म महाकाली हुँ भने जसरी हरेक महिलाले आफ्नो रक्षाको लागि महाकाली बन्न जरुरी देखिन्छ ।

 

(लेखक अधिवक्ता हुनुहुन्छ)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार