• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

लिलामे माईलो

एउटा अनौठो प्राणी । गाउँका कसैको दुख देख्न नसक्ने दयालु स्वभावको , जसले जे भनेनी नरिसाउने, गाउँमा कसैले बिहे गर्यो भन्ने “अरु जे सुकै होस सन्तान तीनवटा त पाउँ है नत्र त माईलो नै उन्मुलन हुन्छ ” । उसको चाहाना भनेको माईलाको संख्या बढाउनु थियो । उसको यस्तै यस्तै कुराले गाउँमा उ हाँसोको पात्र बन्थ्यो । हुन त उसको नाम निलबहादुर हो तर गाउँलेले माईलो बनाईदिए अनि तिनै गाउँलेले अर्को उपाधी थपिदिए लिलामे  । यसरी निलबहादुरबाट माईलो हुँदै उ लिलामे माइलो बन्न् पुग्यो ।

 

दिनहरु बित्दै गए माईलो जिम्वालकोमा बसेको नी लगभग ९ बर्ष भईसकेछ । आज बल्ल माईलो घर फर्कदै छ । समयले उसलाई युवाबाट उभो कटाईसकेको छ । कान्छो भाईको समेत बिवाह भईसक्यो । तर पनि माईलालाई घरजम गर्ने इच्छा छैन । गाउँलेका लागि माईलो खिल्ली उडाउने पात्र बनिरहेको छ । “यो लिलामे आफनो भने घरजमसम्म गर्न डराउँछ अनि अरुबाट चाहीँ र्माइलाहरुको संरक्षण खोज्छ ।”

 

एक दिन खानखाई सुत्ने तर्खर गर्दै थियो माइलो । कान्छाको कोठाबाट आएको गुन गुन आवजले उसको ध्यान खिँच्यो । कान्छी आफनो बुढोलाई भन्दै थिइ “आज तपाई घर हुनु भएन दिउँसो म एक्लै काम गर्दै थिए के गर्दैछेस ए कान्छी भन्दै आए... मेरो त सातो गयो । डरले लुग लुग खुट काँपे न झयाप्पै समात्ने पो हो की भनेर । यसरी डराई डराई कतिन्जेल बस्ने ? ” लामो सुस्केरा पछि बोल्यो कान्छो “खै जति भनेनी मान्दै मान्दैन दाई बिहे गर्नलाई । हुँदा हुँदा घरकै त डरउँने अवस्था आइसकेछ गाउँलेको के कुरा गर्नु” कान्छी कुरा लम्याउँदै थिई नसुनेको झै गरि कोल्टे फर्कीन्छ कान्छो । कान्छी रिसले चुर हुन्छे  “अँ... अहिले काँना बतास नलाउ कुन दिन फलानाले बुहारी समात्यो रे भन्ने सुन्नुपर्ला अनि...” ओढने तान्दै अर्कोतिर फर्केर सुत्छे । कान्छीको कुरा माईलोलाई मुटुमा बाँण सरी बिज्छ । रातभर निदाउनै सक्दैन । कोल्टे फर्कन्छ । खुईय... सुस्केरा हाल्छ अँहँ निन्द्रा पर्दन उसलाई । 

 

बहिनी कै दर्जामा थी चन्दा कान्छी बुहारी 
उसैले नी बात लाई...देशै रमाइलो ।

 

उसका अतित फनफनी चलचित्रका दृष्य झै घुम्न थाल्छन् । आफु जिम्वालकोमा कमारो बस्न पुग्नुको परिस्थिती सम्झन्छ... 

 

त्यो साँझ उसका तीन भाई  जम्मा भएको बेला  बाउ दुधेले जिम्वालसँगको  कुरोको मेसो निकाल्छन् । “ल बाबै हो मैले श्रृण काढेको नी तिमीहरु कै लागि हो । जिम्वाल हाम्रो दुख देख्न नसकेर आका । फेरी उसै काम गर्देओ नी भनेका छैनन् बदलीमा अन्ननी आउने मैले त दिउँसै बचन दिएको छु । लु कन्छो कलीलै छ जेठो र माईलो  सल्ला गर । ”तर कुरो मिल्न सकेन जेठो माइलोको । दुबै छोरा आ आफनै निणर्यमा अडिग रहेर पछि पुन आफै निणर्य गरे उसका बाउले । “दुबै छोरा सार्मथ्य भईसके मेरो कुरा भुईमा खस्न नपाउँदै म जन्छु भनेर हानथाप होला भन्ने सोचेको...। लु भई गो मैले काँढेको श्रृण ,मैले दिएको बचन तिमीहरु यहि बस घर व्यवहार सम्हाल म जान्छु जिम्वालकोमा ” । फेरि कोल्टे फेर्छ माईलो र पुन पहिलेकै कुरा मनमा खेल्न थाल्छ । त्यो क्षण बाउले गरेको निणर्यले फेरि घोच्छ उसलाई । त्यतिखेर पनि यस्तै भएको थियो माइलोलाई र त लुगाको पोको बोकी आँगनको डिलसम्म पुगिसकेका बाउलाई रोकेर आफु कमारो बस्न गएको थियो उ ।

 

पोको बोकी हिड्यो नी हाउ निरबहादुर माईलो
कमारो बन्नलाई... देशै रमाइलो । 

 

आज उस्लाई ओछ्यानले तान्न् सक्दैन । छट्पटि र कोल्टेसँगै बिहान भईसकेको हुन्छ । 

 

उ उठेर सरासर पल्लो गाउँ प्याकुलीको घर तर्फ लाग्छ । प्याकुली आँगनमा बसि तोरी चुट्दै हुन्छे । माइलो प्याकुलीलाई नियालेर हेर्छ र मनमनै गम्छ...सिउँदो खाली, गलामा पोते छैन... फनक्कै फरकेर घर आउँछ र बाउलाई लिइ प्याकुलीकोमा पुग्छ । प्याकुलीको बाउसँग सिधै छोरी माग्न आएको कुरा गर्छ । प्याकुलीको बाउ लाले खिन्न हुन्छ । अहिले सम्म प्याकुलीको हात माग्न आकाले उसँग बिहे गर्ने आँट नगरेको कुरा उस्को मनमा ताजै हुन्छ । “यो अन्तिम केटो हुनसक्छ यो मौका नी उम्क्यो भने त... हैन ढाँटेरै भएपनि यसैलाई टाँसो लाइदिनुपर्छ कि क्याहो” लाले बेहि बोल्न नपाउँदै माइलो अघिसरी हाल्यो “मलाई थाछ प्याकुली औस्या हो ,मुल्या पनि हो तर मलाई यसले केही फरक पर्दैन तपाईलाई म ठिक लाग्छ भने लाइदिनुस टिको लीएर जान्छु ।” लाले गहभरी आँसुपारी हात जोडीमात्र रहयो केहि बोल्न सकेन । केहि बेरको कुराकानी पछि आज कुरो छिन्ने र बिहे धुमधामसँग गर्ने निघो गरि दुधे र माइलो फर्के । गाउँभरि ढोल पिटेझै भयो । माइलोले बिहे गर्न लागेको कुरा गाउँलेका लागि दिउँसै उल्का खसे जतिकै भो । 

 

आफनै घर देखि गाउँले सबको मुख बन्द गराउँदै पञ्चेबाजा ठोकेर प्याकुली भित्रयायो । कान्छी आँखा जुदाए ढोग गर्न सक्दिन माइलो मौका छोपी मनको चुर्ना मार्छ “के भो कान्छी लगलग काँपेकी छस् त किन अझै डर हराको छै ? ” कान्छी रातो पिरो हुन्छे ।

 

समय बितेको पत्तै नपाई एक बर्ष बितिसके छ । यो एक बर्ष गाउँ समाजमा केहि परिवर्तन नभएनि माइलोको जिवनमा ठुलै पिरवर्तन आउने संकेत देखा परेको छ । दैनिक घरमा माइलो छोरा बुहारीको झगडाले वाक्क भईसके दुधे मगर । उनले प्याकुलीलाई सम्झाउने धेरै प्रयास गरे तर केहि लागने । प्याकुलीले लोग्नेसँगै बस्न नसक्ने कुरा सुनाए पछि दुधेको चिन्ता दोब्बर बडेको छ । माइलो बिचराको त झन के कुरा गर्नु र । गाउँलेहरुको काम कुरा काट्ने काट्ने नै हो माइलो र प्याकुलीको बिवादलाई लिएर अफवा फैलाउन थाले । माइलो खिन्न हुँदै समस्याको समाधान खोज्न जिमवालकोमा पुग्छ । पञ्च भेला बसी कचहरीबाट छिनो फानो गर्ने सल्लाह दिन्छन्  ।


माझ गाउँमा रहेको बरा चौतारीमा गाउँका गन्यमान्य लगायत अन्य गाउँलेहरु भेला भाएका छन् । पल्लो पट्टी छेउमा प्याकुली लगायत गाउँले महिला बसेका छन् । वल्लो पट्टी दुधे, माईलो लगायत लोग्ने मान्छे बसेका छन् भने चौतारोमा जिमवाल लगायत अन्य गन्यमान्य बसेका छन् । जिमवाल बिवाद टुग्याउने हेतुले प्याकुलीलाई बक्न लगाउँ छन् । प्याकुली जुरुक्क उठि दायाँ बायाँ हेर्छे केहि अफठ्यारो महशुश नि गर्छे । जिमवाल “हेर प्याकुली आजका दिनमा नि केहि बाले नै भने भोलीका दिनमा तिमीहरुका लागि कुनै सुनुवाई हुँदैन। लु भन किन छुट्टिन चाहान्छेउ माइलासँग ? “अब भने प्याकुलीमा केहि आत्मबल बढेको देखिन्छ । उ रातो रातो मुखलगाएर कौलासन थाल्छे“ जीवनभर बाझि बस्नु छ भने किन चाहियो पोई ? जसका जन्तरले काम नै गर्दैन किन चाहियो त्यो लोग्ने ? सुत्ना साथी मात्रै चाहिको छैन मलाई । ओछ्याना सुतेर खुट्टा चढाउन मात्र त भुसा बोरालाई लोग्न माने भईगोनी...प्याकुली धारा प्रवाह कुरा राख्दै थिई । उसका कुराले कोहि आर्इमाइहरु जिब्रो काँढदै थिए भने कोहि चाहि प्याकुलीले आँट गरि बाइ भन्दै थिए । यता माइलोलाई ओखती सुझाउनेको कमि थिएन कोहि सालको पातका ध्यू डडार लाएसी...भन्दै थिए । कोहि रातोमाटोमा बकाइनोको पाकेको गेडाको गुदि गुद्गुदी पकाउने र खोटो जस्तो भएसी सुत्ने बेला लेप लाएझै लाउने अनि त... यस्तै यस्तै उत्फट्यांग कुरा...। मार्ईलो अवक सबैका कुरा सुनिरहन्छ । अन्तत कचहरी प्याकुलीलाई पाउने अंस दिलाई छुटै बस्ने अनुमति दिई टुंगीन्छ । पुन माईलो गाउँलेका कुराको खुराक बन्न पुग्छ । 

 

भएको अंशमा नि फेरी चिरा पारेको दिन देखि थलिएको दुधे पिरै पिरको भारी बोकी खुट्टा तान्छन् । अब मार्इलो नितान्त एक्लो महसुस गर्नपुग्छ । आफनो कमजोरी कै कारण बिहे नगर्ने निधोमा पुगेको मार्इलो परिबन्दमा परी दलदलमा जाकिएको महसुस गर्छ । जुन अंश धितोबाट जोगाउन उस्ले ९ बर्ष कमोरो बस्यो आज तै अंश चिर्दा उसको मनमा चिरा पर्नु स्वभाविक नै हो । प्याकुली एकदुई दिन बहेक गाउँमा टिक्न सकिन बिहेमा पाको गहना र अंश बेचदा आको पैसोले दुइ तिन बर्ष त धानेकै थियो । प्याकुलीको बाउ मरेसी प्याकुली माईतीमा एक्लै भई । 

 

ख्याउटे, झुस्स दारी पालेको माइलो हाट बजारमा तरकारी किन्ने ग्राहकको पर्खाइमा हुन्छ । प्याकुली पनि बजार गर्न आएकी हुन्छे । दुबैको नजर जुद्छ । माईलो उता मुन्टो फर्काउँछ । प्याकुली पनि वास्ता नगरी अगि बढि सकेकी थिइ एक्का एक माइलाको हालको अनुहार सम्झन्छे,लोग्ने हुँदाको माइलो सम्झन्छे उस्का पाइला अनायस रोकिन्छन् प्याकुली माइलोलाई फर्केर हेर्छे । माइलो पनि त प्याकुलीलाई हेर्दै नै हुन्छ । प्याकुली आफुलाई रोक्न सक्दीन उ भक्कानीन्छे । माइलासँग माफि माग्छे । माइलो मान्दैन प्याकुली माइलोलाई फकाउँदै हुन्छे । बजारीयाहरुको लागी निकै रमाइलो रमिता हुन्छ । अन्तत् माइलो सोचमग्न हुन्छ । कचहरीमा जे भने पनि अर्को पोइत चाहिएको हैन रे छ नि त ? अन्त नराम्रो सुनीएको नि छैन कतै गकी नी छैन मरिजावस आफुले अग्नीसाछि राखेर ल्याकी स्वास्नी हो त्यतीबेला बुद्धि पुगे अहिले माफ माग्दै छे । माइलाको मान फर्कन्छ । बाँकी तरकारी पोको पारी प्याकुली लिई घर फर्कन्छ ।  फेरी एकपटक माईलो गाउँभरी चर्चित बन्न पुग्छ “माइलाले अर्की स्वास्नी ल्यायो रे ,फेरी यसले नी कचरी बोलाउने भई यस्तै यस्तै । तर साँझ माईलोलाई परिवार सबै एकातीर भई बस्न नदिने बताउँछन् । माइलो आफनो हक खोज्छ । दाजुभाई प्याकुली देखाउँदै त्यसैसंग माग । माइलो अफठयारोमा पर्छ रातबीस कहाँ जावस ? प्याकुली माइलाको हात च्याप समात्छे “हिड्... काँ...? तिम्रो बाउको घरमा बस नपाए मेरो बाउकोमा हिड उतै दुख गरौला दुइज्यान आनन्दले पालौंला । पाखुरा बजार्ने ठाउँ जति नि छ मेरो बाउको ।” प्याकुलीको कुराले साँच्चै मन पलाउँछ मार्इलाको । छ्वालीको मुठो बल्दै दुबै बाटो लाग्छन् ।


ससुरालीको बिर्ता स्यार्न बनमारा फाँड्दै हुन्छ माईलो । उसको जीवनमा हराईसकेको खुशी फर्केको आभास हुन्छ । प्याकुली पनि खुसी नै थिइ । ससुराली बसेको महिना दिन पनि नबित्दै प्याकुली कुनै सुइको समेत नदिइ एकाएक पोइल जान्छे ।

 

सान्काजीले फकायो प्याकुलीलाई
निको हुन्छ भनि माईलो...देशै रमाइलो ।
न त फर्की प्याकुली न निको भो माइलो 
डाँडा पारी पुर्यायो...देशै रमाइलो 

 

माईलो मुर्छा पर्छ । अगाडी सब अन्धकार देख्छ घर जाउँ कुन मुखले जानु ? यहि बसौं कुन नाताले बस्नु ? । निकै बेरको सोच पछि माईलो जुरुक्क उठ्छ हिड्दा हिड्दै उसका पाइलाले गन्तब्य मोड्छ । 

 

न त जानु आफनो घर नबस्नु ससुरालीमा 
न मर्नु न बाँच्नु भो...देशै रमाइलो ।

 

उ धेरै पर जहाँ उसको मृत्यूको खबर समेत कसैलाई नहुने ठाउँमा पुन लिलामे बन्न मुग्लान भासिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार