• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन सक्दैन : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वन उपभोक्ता महासंघले महिलाको नेतृत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन ।

 

महासंघले सामाजिक सेवा दिवसको उपलक्ष्यमा आज जुम मार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले यो संस्थाले महिलालाई उत्प्रेरणा दिने कामलाई वृद्धि गर्नुपर्ने जिकिर गरिन् । 'महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो', उनले थपिन्, 'महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन सक्दैन ।'

 

महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको उनले बताइन । मन्त्री अर्यालका अनुसार महिलाका निम्ति उनीहरुको जनसंख्याभन्दा बढी तालीम दिए पनि त्यो अनुसार व्यवसायिकतामा जान सकेको छैन । वनका क्षेत्र मार्फत महिलालाई लघु उद्यमशीलतामा लैजान महासंघले आगामी दिनमा काम गर्नुपर्नेमा उनले जोड दिईन ।

 

वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा.राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताइन । उनले वन उपभोक्ता महासंघले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा क्षेत्रको महिलाको नेतृत्व बढाउँदै लगेको तथ्यांक प्रस्तुत गरिन् । उनले भनिन्, 'सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।'

 

समाज कल्याण परिषदका सदस्य डा.मणिराम बन्जाडेले महासंघ महिला नेतृत्वमा सबैभन्दा क्रियाशील संस्था रहेको बताए । उनले सामाजिक क्षेत्रलाई अब राष्ट्रिय गौरवको क्षेत्र बनाउन सरकार लागिपरेकाले यी संस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

 

सो अवसरमा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासंले यो अवधारणालाई अघि सार्नु प्रसंशनीय रहेको बताइन । उनले सामाजिक क्षेत्रमा महिलाको भूमिका व्यापक रहेको बताइन ।

 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा जैरुले सुरुदेखि नै महासंघमा आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्था मार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गरिन् । उनले बाढीपहिरोले देशमा ठूलो धनजनको क्षति भएकाले त्यसतर्फ पनि महासंघको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन । साथै ग्रामीण अर्थतन्त्र र ग्रामीण विकास मूल एजेण्डा बनाएर अघि बढ्नुपर्ने उनले बताइन ।

 

सुदुरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचविना समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राखेकी थिइन । वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक कार्यमा महिलाको भूमिका बढी भए पनि उनीहरुको कामको कदर हुन नसकेको दुखेसो पोखिन । उहाँले महिलामैत्री नीति बनाउँदै जान तीनै तहका सरकारलाई आग्रह समेत गरेकी थिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार