बिम्बहरूले बोकेको प्रतिबिम्ब
बिम्बहरूले बोकेको प्रतिबिम्ब
उदास हुनसक्छ
उराठलाग्दो हुनसक्छ
तर जीवनले बोकेको यात्रा
गतिहीन हुन सक्तैन
गन्तब्यविहीन हुन सक्ला
प्रगतिविहीन हुनसक्ला
तर यात्रामा गति हुन्छ नै
किनकी ‘आशा’ बाँचेको हुन्छ
रहरका थुप्राहरू
हिउँको थुप्राहरू जस्तै
चुलिंदै गएका हुन्छन्
मुटुकमाउने हाबाको बीचमा पनि
एउटा आशा बाँचेकै हुन्छ
प्रियतमको कल्पनामा
चिसो सिरेटो सहेका प्रत्येक पाइला
अँध्यारो सुरुङमा हिंडेको मान्छेको जस्तै
उज्याललोको आशमा चलिनै रहेको हुन्छ
अँध्यारो-उज्यालोको आलोपालोमा
बिम्बहरूले बोकेको प्रतिबिम्बमा
माछेले आफूलाई सधैं देख्नैपर्दछ
किनकी
यो नियति पनि हो
यसैभित्र—
प्रेम छ
आक्रोश छ
छटपटी छ
घृणा छ
संघर्ष छ
सदाशयता छ
के छैन ?
सृष्टिको समग्रता समाहित छ
त्यसैले बिम्बले बोकेको आफ्नै प्रतिबिम्ब
परास्त हुन्छ
जीवनले बोकेको यात्रासँग
किनकी
‘आशा’ को ढुकढुकी चलायमान छ ।
प्रतिकृया दिनुहोस