• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020
डबली

कविता : जन्मे धेरै सिकारी 

जन्मे धेरै सिकारी देश मासेर खाने
साह्रै लोभी र पापी स्यालजस्ता मसाने
जाने भो भीर खोजी शत्रुले धेर ताने
को होला काँधथापी देश बोकेर लाने

 

बच्ला अस्तित्व केले चेतना नै नजागे ?
आस्था टिक्दैन हाम्रो शत्रुको ओतलागे
झुक्याए लौ भुलाए  दाँत  गाडेर दागे
जन्मेनन् वीर छोरा वा उसै दूर भागे 

 

लाखौँ अर्वौँ छलीको केस देखिन्छ थाती
निन्द्रा पर्दैन राती  दर्दले  दुख्छ छाती
फैले चारै दिशामा  भ्रष्ट औ राष्ट्र घाती
हात्तीछिर्ने दुलाछन् भासछन् न्यायमाथि 

 

रुन्चे हाँसो छ साह्रै देशबासी रुदैछन्
पाटो हाम्रो छ माली हेर अर्को हुँदैछन्
नेपाली भाग्य खोटो भो दशाले छुँदैछन्
पाकेको घाउ आलो आँसुले पो धुदैछन्

 

माटोको दर्द बुझ्ने शक्ति आए पलाई
सीमा नाका मिचेको हेर्न सक्दैन भाइ
खोल्ने को झूटको यो कूट पर्दा फुकाई 
राख्छन् छोपेर सारा घाउलाई लुकाई

 

जागौँ लाऔँ सबै नै देश हाम्रो उठाऔँ
सारा लाई समेटौँ  एकतामा जुटाऔँ
आमाहुन् दिव्य धर्ती दुग्धभारा छुटाऔँ
मेची काली विकासे मूल हामी फुटाऔँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार