• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

भाेलि सार्वजनिक बिदा दिने निर्णय

दमौली । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए । भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन् ।
    

भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 

 

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त अध्यात्म रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपि सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

 

दुईसय सातौँ भानुजयन्तीका अवसरमा नगरपालिकाले सोमबार भानुजन्मस्थल विकास समितिमा रामायणवाचन कार्यक्रम आयोजना गर्ने भएको छ । भानुजयन्तीका अवसरमा घर आँगन, टोल सरसफाइ, दीपावली र प्रभातफेरीलगायतका कार्यक्रम हुने नगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार