पुतली र मान्छे
चेतन मन बोकेको मान्छे
झर्ला र खाउला भन्ने व्यग्रतामा
एक टक लगाइरहेका
उसका दुई आखाँहरू
बाँधिएको त्यो आशाको डोरीमा
घडीको पेन्डुलम जस्तै
अनवरत हल्लिँरहेको
समयको हेक्का नै रहेन
प्रभावित भईसकेछ
फगत उसको समय
सप्तरंगी अचेतन पुतली
आफ्नै दुनियाँको बागमा
फर्फर, फर्फर गर्दै
रमाउँदै डुल्दा
माकुराको जालोको त्यान्द्रोमा
अकस्मात पर्न जान्छे
न फुत्किन सक्छे
न उम्किन सक्छे
उम्किने प्रयासमा
कहिले टक्क त्यान्द्रोमा झुण्डिन्छे
कहिले पिङ खेलिरहेकी हुन्छे
कहिले फट्फटाइरहेकी हुन्छे
त्यो त्यान्द्रो हटाइदिएपछि
स्वतन्त्रताको वागमा उड्दै गएकी उ
हेर्दाहेर्दै ओझेल हुन्छे
प्रतिकृया दिनुहोस