• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

पोखरामा पहिरो जाँदा चार जनाको मृत्यु, ९ घाइते

पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

 

राति अन्दाजी पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

 

थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

 

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राती नै सुरक्षित  स्थानमा सारिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार