• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सरकारले लकडाउनमा कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित बन्दै

काठमाडौं । सरकारले लकडाउनमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लकडाउन कै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् ।

 

कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी लकडाउन जेठ मसान्तसम्म लम्ब्याएको छ । तर राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकता गर्दै अन्यथा जरिवाना लाग्ने सूचना निकालेपछि व्यवसायीहरुमा आक्रोशित बनेका हुन ।

 

सरकारले  व्यवसायीहरुले कर तिर्नुको विकल्प नरहेको बताएको छ । अहिले लकडाउन अगावैको कर तिर्न व्यवसायीहरुलाई ताकेता गरेको अर्थमन्त्रालयले जनाएको छ । व्यवसायीहरुले लकडाउनका बेला बैंकसम्म पुग्न समेत नसकिने भन्दै अहिले करका लागि ताकेता गर्ने सरकारको निर्णयको विरोध गरिरहेका छन् । तर सरकारले भने कर तिर्न जाने व्यक्तिलाई पासको व्यवस्था मिलाइसकेको बताएको छ । यसका साथै डिजिटल भुक्तानी प्रणाली समेत रहेकोले अनावश्यक बहाना बनाउन नहुने जनाएको छ।


झण्डै ढाई महिनादेखि जारी लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेका बेला राज्यले कर तिर्न ताकेता गरेपछि निजी क्षेत्रबाट त्यसको विरोध भइरहेको छ । यसका साथै राजधानी काठमाडौँसहित कतिपय स्थानमा व्यापार व्यवसाय सुचारु गर्न माग राख्दै व्यापारीहरु प्रदर्शनमा समेत उत्रेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार