• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

खट्क्यो अभाव 

रोईरहेछ किन खिन्न बनी कुनामा
नेपाल यो अति अधीर भएर धामा
बेला भएन किन हो शुभ आरतीको
खट्क्यो अभाव नवसारथिको रथीको । 

 

बाधा बढे दिनदिनै जन जिन्दगीको
भो लोकमाथी शरकोसरि घात तीखो
चल्दैछ नृत्य लुटको धनको खतीको
खट्क्यो अभाव नवसारथीको रथीको ।

 

अन्याय घोर खनियो जुन केसमाथि
भो रक्षाकै अधम भक्षक भ्रष्ट घाती
मेटेर मानसिकता  गुण  मानवीको  
खट्क्यो अभाव नवसारथीको रथीको ।

 

नेपाल नै फगत भास विशेषमा गो
फैलेर रोग दुनियाँ उ निशेषमा गो
सन्देश सुन्नु छ सबैतिर नै खतीको
खट्क्यो अभाव नवसारथिको रथीको ।

 

राखिन्छ भ्रष्ट र दलाल सिकारमा जो
थानी यहाँ फगत भौतिक ऐसमा गो
नाङ्गो छ दोहन हरे कुन इज्जती भो
खट्क्यो अभाव नवसारथिको रथीको ।

 

छाती विशेष त फलाम र काँचको भो
थोत्रो दिमाग अनि बानर नाचको भो
सारा विकाशधन शोषित भो खती भो
खट्क्यो अभाव नवसारथिको रथीको ।

 

उद्देश्य नै फगत वैभव खानमा भो
जान्दैन सङ्कट परे नपरे कहाँ त्यो
लाग्दैछ रोग जनता बिनु औखती भो
खट्क्यो अभाव नवसारथीको रथीको । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार