• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

फिल्ममा महिला पात्र पनि के कम !

काठमाडौं । हरेक देशकोे फिल्मले कुनै पनि समाज र समयको प्रतिनिधित्व गर्छ । समाज र समय  परिवर्तन हुँदै गर्दा फिल्महरु पनि परिमार्जित हुँदै गइरहेका छन् । वर्तमान समयमा आधुनिकता र शिक्षाको पहुँच सँगै समाजमा महिलालाई हेरिने दृष्टिकोणमा पनि परिवर्तन हुदै गईरहेको छ । यसले फिल्म क्षेत्रलाई प्रभावित पारेको प्रस्ट देखिन्छ । 


हिजोका दिनमा फिल्मले महिलालाई सुन्दर वस्तु वा कमजोर नारीको रुपमा देखाउने गर्थ्यो । फिल्ममा उनीहरुमाथी अत्याचार भएको र नायकले उनीहरुको उद्धार गरेको देखाइन्थ्यो । फिल्ममा नायकको आसपास नाच्ने, केहि असहज परिस्थितिमा रुने र दर्शकलाई भावुक बनाउने काम माहिलालाई दिने गरिन्थ्यो तर अहिले फिल्ममा महिला पात्रहरुहरुलाई मानसिक एवं शारिरिक रुपमा नै बलियो देखाइन्छ । घर र भान्सामा मात्र सिमित नहुने यस्ता महिला पात्रहरु पितृसत्तात्मक नियमहरु बिरुद्द लड्ने आँटका साथ अहिले रुपान्तरित भएका छन्  ।


नेपाली फिल्ममा महिला पात्रलाई मुख्य भुमिका दिएर फिल्म त बनाइन्छ तर उनीहरुलाई  शक्तिशाली रुपमा भने कम देखाइन्छ । यसो हुनुमा महिला निर्देशक वा निर्माताको अभाव पनि हुन सक्छ । पछिल्ला फिल्महरु चपली हाइट, सुनगाभा, कायरा, बुलबुल जस्ताले केहि खडेरी शान्त गर्ने कोशिस गरेका हुन तर त्यो प्रयाप्त भएन । 


यता छिमेकी देश भारतमा भने महिला पात्रमाथी धेरै फिल्महरु बनेका छन् । बलिउडका फिल्महरुमा महिलालाई प्रमुख पात्रको मात्र भुमिका दिईदैन । उनीहरुलाई शक्तिशाली एवं पुरुष सरहको काम दिइएको हुन्छ । अहिले पनि हामी केही यस्ता उत्कृष्ट फिल्महरुलाई सम्झन सक्छौं जसले महिलालाई शक्तिशाली पात्रको भुमिकामा उभाएको थियो । 


संन १९५७ मा बनेको ‘मदर इण्डिया’ मा नरगिस दत्तले एकल आमाको रुपमा दुई छोरालाई निकै गरिबी र दुखमा हुर्काउँछिन् । न्यायको मुर्ती झैँ उनले अन्तिममा गलत काम गर्ने आफ्नो एक छोरालाई मार्छिन । महिलाहरु भनेका सधै सहनशील र दुखी पात्रको रुपमा हेरिने परम्परालाई यस फिल्मले उल्टाइदिएको छ । पुरानो सोच हाबी भएको बेला पनि महिला सशक्तीकरणको वकालत गर्ने अर्को फिल्म भनेको १९८७ मा बनेको ‘मिर्च मसला’ हो । यस फिल्ममा मुख्य भुमिकामा देखिएकी महिला पात्रले पुरुषलाई नाई भन्ने अनि आफ्नो छोरीहरुहरुलाई स्कुल पठाउने निर्णय गर्छिन । 

 

 

यस्तै सन् १९९३ को बनेको फिल्म ‘दामिनी’ ले एक महिलाले न्याय पाउन के कस्तो संघष गर्छिन भन्ने कुरा फिल्ममा देखाएको छ । परिवारको इज्जतको कुनै परवाह नगरी घरेलु कामदार माथी भएको हिंसाको कसरी न्याय दिलाउँन सफल हुन्छिन् भन्ने कथामा आधारित रहेको फिल्म हो दामिनी । फिल्ममा मिनाक्षी सोशाद्री एउटा सशक्त महिलाको भुमिकामा देखिएकी छिन् । 


सिमा बिश्वास अभिनित ‘बैन्डिट क्वीन’ सन् १९९४ मा प्रदर्शन भएको हो जसले महिलालाई डरलाग्दो डाकुको भूमिकामा देखाएको छ । फुलन देवीको सत्य घटनालाई देखाइएको यस फिल्ममा महिलाहरु अन्याय सहेर नबस्ने र उनीहरु बदला लिन पछी नपर्ने भन्ने भाव देखाएको छ ।


संन २००० मा बनेको ‘अस्तित्व’ ले महिलाहरु बिहेपछि पनि आफ्नो अस्तित्व खोज्न सक्छन भन्ने कुरालाई प्रस्ट पार्छ । प्रमुख भुमिकामा देखिएकी नायिका तब्बुले आफ्नो सम्मानको निम्ति श्रीमान र हुर्केको छोरालाई छोड्छिन् । 


सन् २००५ मा आएको ‘ब्ल्याक’ ले आखा नदेख्ने महिलाको संघर्ष र उपलब्धीलाई देखाएको छ भने २००७ को ‘चक दे इण्डिया’ मा महिला हक्की खेलाडीको मेहिनत र सफलताको प्रशंसा गरिएको छ । 

 

 

सन् २०११ मा बनेको फिल्म ‘नो वान किल्ड जेसिका’ ले आफ्नो बहिनीको हत्यारा बिरुद्द लड्ने महिला र उनलाई सहयोग गर्ने महिला पत्रकारलाई प्रमुख पात्रको रुपमा देखाएको छ । न्याय र अधिकारको निम्ति एक सामान्य महिला शक्तिशाली पुरुष बिरुद्द लड्न सक्ने कथावस्तुमा फिल्म केन्द्रित छ । 


फिल्म ‘कहानी’ ले आफ्नो श्रीमानको हत्या गर्ने आतंककारीलाई खोज्ने र पुलिसलाई थाहै नदिई त्यस व्यक्तिलाई सजाय दिन सक्ने प्रतिसोधको भावना भएकी महिलाको कथालाई देखाउँछ ।  यस्तै फिल्म ‘इंग्लिश विंग्लिश’ मा घरेलु महिला अंग्रेजी बोल्न नजान्दा श्रीमान र सन्तानबाट अपमानित हुँदा कसरी अंग्रेजी सिकेर अघि बढ्न सक्छिन भन्ने देखाइएको छ ।


सन् २०१६ मा आएको चलचित्र ‘पिंक’ ले तीन महिलाहरुले न्यायको निम्ति गर्नु पर्ने संघर्षलाई देखाएको छ । हालसालै प्रदर्शन भएका आलिया भट्टको ‘राजी’, रानी मुखर्जीको ‘मर्दानी २’, विद्या बालनको ‘मिशन मंगल’, दीपिका पादुकोणको ‘छ्पाक’ ले महिला सशक्तिकरणको कथालाई उजागर गरेको छ । सन् २०२० मा पनि थुप्रै यस्ता चलचित्र आउँदै छन जसले महिलालाई शक्तिशाली र परिवर्तनका संभावकका रुपमा देखाउँछ । 


फिल्ममा कथाबस्तु शक्तिशाली हुने र प्रस्तुति फरक भएमा राजेश हमाल, अनमोल केसी, सलमान खान वा शाहरुख खान नभए पनि फिल्मले राम्रो बजार लिन्छ । अहिले पुरुषले मात्र नभएर एक्लै महिलाले मात्र फिल्मलाई माथी उकास्ने काम गर्न सक्छिन् भन्ने कुरामा दुईमत छैन । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार