• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

माघ ३ देखि ५ सम्म 'नेपाल बिल्डटेक एक्स्पो २०२०’ को प्रदर्शनी हुने

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले अन्तर्राष्ट्रिय स्तरको हेबी इक्युपमेन्ट तथा निर्माण सामग्रीको प्रदर्शनी गर्ने भएको छ।  आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ हुन लागेको हो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न लागिएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले विश्व बजारमा आएका नयाँ हेबी इक्युपमेन्ट र निर्माण यन्त्र उपकरणबारे एकै थलोमा जानकारी गराउनका लागि नेपाल बिल्डटेक एक्स्पो गर्न लागेको बताए ।

 

अध्यक्ष सिंहले एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने बताए। ‘निर्माण व्यवसायीलाई विश्व बजारमा आएका नयाँ–नयाँ निर्माण उपकरणबारे जानकारी लिन उपयुक्त मञ्च हुनेछ,’ उनले भने, ‘एउटै छानोमुनि धेरै कम्पनीका थरिथरिका हेबी इक्युपमेन्ट र निर्माण सामग्रीको सम्पूर्ण जानकारी लिन सकिन्छ । 

 

महासंघले हेबी इक्युपमेन्टका उत्पादनसँग निर्माण व्यवसायीले सोझै निर्माण सामग्री समेत खरिद गर्न सक्ने पनि व्यवस्था मिलाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक निकोलस पाण्डेले एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित एक सय ६० भन्दा बढी प्रदर्शनी कक्ष राखिएको बताए ।

 

भक्तपुरको सल्लाघारीमा चल्ने एक्स्पोमा करिब पाँच हजार दर्शकले अवलोकन गर्ने आयोजनाको अनुमान छ। एक्स्पोको सहयोगी साझेदारका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कमर्स लगायत संस्था रहेका छन् । 

 

त्यसैगरी नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्स (वाइसिएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोको सहयोगी साझेदार संस्था रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार