• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

मधेशको धुलोभित्र दु:खको भुमरी

उखुखेतीको बीचबाट २० जना कलाकारको टोली बोकेर हाम्रो बस महोत्तरीको गौशालातर्फ हुइँकिदै थियो । अचानक गोबरको गन्ध हाम्रो बसका झ्यालहरूबाट छिरेर नाकमा ठोक्कियो । गौशाला पुगुन्जेल यो गन्धले पछ्रयाइरह्यो । अहिले त अव्यवस्थित सहरीकरणले गौशालालाई पनि छोडेको रहेनछ । तर हामीलाई लाग्यो यहाँ कुनै समय गौ शाला नै हुनुपर्छ । माटोको गन्धमा आज पनि मानौँ तिनै गाईको मलले त्यही गन्ध छोडिरहेको छ । 

 

शिल्पी थिएटरको गाउँमा रङ्गमञ्च अभियान अन्तर्गत हरेक वर्ष काठमाडौ बाहिर नाटक मञ्चन र प्रशिक्षण कार्यक्रम चलिरहेको छ । हामीले यस वर्षको पहिलो चरणको यात्रामा ३६ ठाउँमा यो नाटक मञ्चन गरिसकेका थियौँ । दोस्रो चरणमा हामी महोत्तरी र धनुषाको लागि निस्किएका थियौँ । महोत्तरीको गौशालामा हाम्रो प्रथम प्रस्तुतिस्थल थियो, जहाँ हामी नाटक मार्फत पहिलो कचहरी बस्दै थियौं । नाटक हेरिसकेपछि कल्पना र उर्मिलाको दुःख देखेर भावविव्हल बनेका दर्शकहरू एकपछि अर्को गर्दै आक्रोशित भएर मञ्चमा उत्रिए । र, कल्पनाका सासूससुरालाई प्रश्नका घेरा हाल्न थाले । 

 

‘मर्दले फोनमा १० जना केटीसँग कुरा गर्दा इज्जत जाँदैन, कल्पनाले फोनमा कुरा गर्दा इज्जत गयो ? फोनले कल्पनालाई गर्भ बोकाउँछ ? कल्पनाले घर किन छोड्ने ? शंका मात्र गरेर हुन्छ ? आफ्नो आँखाले देख्यौ कल्पना अरुसँग लागेको ?’ स्थानीय चरीमाया श्रेष्ठले आक्रोशित हुँदै यस्ता प्रश्नहरू कल्पनाको ससुरालाई गर्दैगर्दा उपस्थित ६ सय दर्शकका तालीले बस्ती गुञ्जियो । नाटक मञ्चन भए नजिकै भब्य दुर्गा मन्दिर भित्र बसेकी हतियारले सुसज्जित दुर्गा भने चुपचाप थिइन् । मन्दिर भित्र पर्खाल र फलामे रडले थुनेर महिलालाई देवीको रुपमा पुज्ने त्यही मान्छे आफ्नै घरकी महिलालाई कस्तो व्यवहार गर्छ ? यो द्वेध चरित्रको साक्षी हो सायद त्यो मन्दिर । दर्शक दिर्घामा कति धेरै महिलाहरु कल्पना र उर्मिला झैँ देखिन्थे । उनीहरु पनि चरीमायाको सहाससँगै मञ्चमा उत्रिन थाले र बोल्न थाले । केही पुरुषहरु जसलाई कल्पना र उर्मिलाको दुःख देखेर असैह्य भयो उनीहरु पनि बोले । केही पुरुषले भने म मेरा घरका महिलालाई यस्तो नराम्रो ब्यवहार गर्ने छैन । 

 

 

बालविवाह र महिला हिंसाले गाँजिएको मधेश भित्र महिलाहरूका पीडाहरू गुम्सिएझैं लाग्थ्यो । त्यसमा पनि मैथली भाषामै बनेको थियो नाटक । आफ्नै भाषामा बोल्न पाउनु र अन्यायका बिरुद्ध आफ्नै भाषामा पोखिन पाउनु उनीहरूको अधिकारै थियो । अवसर पनि थियो । शिल्पी थिएटरले नाटक मार्फत स्थानीय पीडितहरुको स्वर सुन्न खोजेको हो त्यसैले शिल्पीले जहिले पनि जुन क्षेत्रमा नाटक मञ्चन गर्ने हो त्यही क्षेत्रको भाषा समात्छ । जसले गर्दा दर्शकहरुले अपनत्व महसुस गर्छन् । कचहरी सिद्दियो, तर नाटक हेर्न नपाएका युवायुवतीहरू, ‘यूट्युबमा पनि तपाईंहरूको नाटक छ ?’ भन्दै हाम्रो वेभपेजको बारेमा सोध्दै थिए । कोही जनकपुर कै स्थानीय कलाकारहरूसँग बसेर सेल्फी खिच्दै थिएभने कोही नाटकका कल्पना र उर्मिलालाई नियाल्दै थिए ।

 

पहिलो प्रस्तुतिले नै हामीलाई ऊर्जा थप्यो । र, गौशालाको मञ्चन लगत्तै हामी लाग्यौं दोस्रो प्रस्तुतिस्थल भिट्टामोडतर्फ । कच्चीबाटोमा धूलो उडाउँदै करिब ३ घण्टा हाम्रो बस जलेश्वरतर्फ दौडिरह्यो । धूलेबाटोमा साइकल, अटो र टाँगाहरू भेट्टिइरहे । क्षितिजसम्म फैलिएको तराईभित्रका वस्तीहरू धूलोमा पुरिएका देखिन्थे । उस्तै धूलोमा थियो जलेश्वर बजार । जलेश्वरको दक्षिणमा अवस्थित भिट्टामोड नेपाल भारतको सिमानामा नजिकैको वस्ती रहेछ । ६ लेनको फराकिलो सडकले वोर्डर छोएछ, तर यहाँपनि उही धूलोको कुहिरीमण्डलले छपक्क छोपेको थियो । सडकबाट केही भित्र छिरेर वस्तीमा हाम्रो मञ्च बन्यो । भर्खर धान झाँटेर फिँजाइएको परालमाथि स्थानीय महिलाहरू घुम्टो छोपेरै बसे । बेलुकाको ४ बजिसकेकाले विद्यार्थीहरू थपिनथाले । प्रहरी नायब उपरीक्षकदेखि मेयरसम्मको उपस्थिति रह्यो नाटक हेर्न । 

 

नाटक सुरु भयो । नाटकमा कुनै पर्दा त थिएन, तर स्थानीय महिलाहरूको अनुहारबाट पर्दा हटेन । घुम्टोभित्रैबाट उनीहरूले नाटक नियाले । संस्कार आ–आफ्ना हुनसक्छन् तर मानिसको हृदय एउटै थियो । पीडाले सबैलाई दुःख्थ्यो । ठट्टाले सबैलाई हसाउँथ्यो । धेरै ठाउँमा उनीहरू हाँसे, तर घुम्टोभित्रबाट उनीहरूका हृदयकुञ्जमा जमेका आँशुका पोखरीहरू छछल्किँदै झर्न थाले । नाटकका कल्पना र उर्मिलाहरू यथार्थमा उनीहरू नै थिए । उनीहरूसँग सायद आँशु पर्याप्त थियो । आवाज थिएन । नाटकपछिको कचहरीमा त्यही देखियो । सुत्रधारले बारम्बार सोध्दा उनीहरूका मुखबाट कुनै शब्द झर्न मानेनन् । न त मञ्चमा टेक्ने नै मन गरे । तर धर्तीमा अनेकौं किसिमका दबाव र तनाव भरिएपछि कुनै न कुनै मार्ग पक्डेर गर्भभित्रको लाभा ज्वालामुखी बनेर धर्तीमा बाहिर पोखिएरै छोड्छ । यो प्रकृतिको नियम हो । यहाँको कचहरीमा भयो त्यस्तै, ८ कक्षामा पढ्दै गरेकी १३ वर्षिया निकी कुमारी पाण्डे आँखाभरि आँशु बोकेर कल्पनाको हात समाउन आइपुगिन् । मधेशमा पर्याप्त महिला हिंशा छ, तर हिम्मतिला निकीहरू पनि जन्मिरहेकै छन् । 

 

 

आशाको दियो बनेर आएकी निकीले भक्कानिदै कल्पनाका सासूससुरालाई चुनौति दिइन्, ‘आफ्नी छोरी प्रेम गरेर भाग्दा ढाकछोप गर्ने, अर्काकी छोरीलाई दुःख दिएर घरबाट निकाल्ने ? कल्पनाको सहयोगको लागि १ जना यहाँ नआए पनि म एक्लै कल्पनालाई सहयोग गर्न सक्छु । म लेखाउँछु प्रहरीमा रिपोर्ट ।’

 

निकीको चुनौती र हिम्मत देखेर उपस्थित ४ सय दर्शक स्तब्धताभित्र भावुक बने । उनी कल्पनाको हात समाउँदै दर्शकदीर्घामा उपस्थित प्रहरी नायब उपरीक्षकतर्फ बढिन् । निकीले कल्पनामाथिको वर्षौको हिंशा चुट्कीको भरमा समाधान गरिदिइन् । प्रहरी आएर कल्पनाका सासूससुरालाई लिएर गए ।

 

दोस्रो दिनको हाम्रो पहिलो प्रस्तुति थियो धनुषाको ‘यदूकुवा’मा । श्री जनता इकाइ उमाविको खुल्ला प्राङ्गणमा हामी प्रवेश गर्दैगर्दा विद्यार्थीहरू बिहानी प्रार्थना सभामा राष्ट्रियगान गाइरहेका थिए । एकैक्षणपछि विद्यार्थी, शिक्षक, अभिभावकदेखि मजदूरसम्मका करिब ८ सय दर्शकको भींड जम्मा भयो । नाटक त्यही ऊर्जामा प्रारम्भ भयो र १६ वर्षदेखि ६० वर्षसम्मका दर्शकले प्रत्यक्ष कचहरीमा भाग लिए । १७ वर्षमा बिहा गरेर सोही विद्यालयमा पढ्दै गरेकी छात्रा उषा यादवले आफ्नो स्वास्थ्य समस्याका कारण पहिलो बच्चा खेर गएको अनुभूति सुनाइन् । महिला हिंशाको कानूनी उपचारको बारेमा प्रश्न सोध्दा प्रहरी निरीक्षक दीपकबाबु केसी अनकनाउदै सुत्रधारलाई कानेखुसी गर्न थाले । नपा उपप्रमूख तथा न्याय समिति संयोजक शिला कापड अलमलमा परिन् । र, उनका श्रीमान् अजय कापड श्रीमती कापडलाई शब्दशब्द बोल्न सिकाइ रहेका थिए । न्याय अधिकारीहरूको अवस्था देखेर दर्शकदीर्घामा निराशा छाएको देखिन्थ्यो ।सक्षम र जिम्मेवार व्यक्ति पदमा नपुग्दासम्म समाजको परिवर्तन पनि असम्भव रहेछ भन्ने कुराले हामीलाई यात्राभरि पोलिरह्यो । 

 

हाम्रो नाट्य यात्राको चौथो प्रस्तुतिस्थल थियो धनुषाकै बीरेन्द्रबजार । तर प्रस्तुति बजारमा नभएर श्री सत्य कविर बचन वंशिय सेवा समिति भवनको प्राङ्गणमा रहेछ । हामी त्यहाँ पुग्दा करिब ८ सय दर्शक संयम र अनुसाशित भएर बसिसकेका थिए । नाटक समाप्तिसँगै विद्यार्थीदेखि वृद्धसम्म कचहरीमा सहभागी भए । 

 

 

‘वाउ’ अर्थात विश्व महिला सम्मेलनको पहिलो दिन बेलुका ४ बजे जानकी मन्दिर प्राङ्गणमा हाम्रो यात्राको पाचौं प्रस्तुतिले गति लिंदै थियो । हेर्दाहेर्दै करिब १५ सय दर्शकले यहाँ हामीलाई घेरे । मञ्च व्यवस्थित बनाएको हुनाले सकेसम्म दर्शकलाई व्यवस्थित नै राख्न सकेका थियौँ । तर नाटकको अन्त्यसम्ममा बीचबीचमा थपिने दर्शकको घुँइचो नियन्त्रण गर्न हम्मेहम्मे परिरह्यो । 

 

वाउको दोस्रो दिन जनकपुरकै राममन्दिरको हलमा संघर्षशील महिलाहरू आ–आफ्ना संघर्षका कथाहरू दर्शकहरूमाझ साट्दै थिए । हामी हाम्रो छैठौं प्रस्तुतिका निम्ति जुट्दै थियौं । तर आयोजकले ठाउँका लागि बेवास्था गरेपछि नाटक निर्देशक घिमिरे युवराजले नाटक नगर्ने निर्णय गरे । र, अचानक कै निर्णयमा हामी करिब १ घण्टाको बस यात्रामा पुग्यौं धनुषाकै नगराईन नपा ३ स्थित श्री राजेश्वर निधि माविको प्राङ्गणमा । विद्यालयको भव्य ३ तले भवन सामुन्नेमा नाटक मञ्चन गर्दैगर्दा यहाँ क्षणभरमै करिब ८ सय दर्शक जम्मा भए । र, नाटक कल्पना र उर्मिलालाई आत्मसात गरे ।

 

महिला हिंसा र बालबविवाह विरुद्ध हामीले यस पटक नाटक कल्पना र उर्मिला दुःखमा छन् को ४२ मञ्चन गरेछौँ । नेपालका पहाड तराई सबैतिर महिलाका दुःख डरलाग्दा रहेछन् । यस किसिमका दुःख र हिंसा विरुद्धमा कति सचेत मानिसहरु जुझी रहेका पछि छन् । तर ती प्रयासहरु मरुभुमिका एक थोपा पानी जस्तो मात्रै महशुस हुने । यी अभियानमा लागेका ती संस्था । मानिसहरु साँच्चै विशेष छन् मेरा लागि तर ती दुःख र हिंसा निवारणमा राज्य कहाँ छ पत्तो छैन । जताततै डोजर कुदेका छन् । बरु काठमाडौको धुलो केही होइन । ती दुरदराजका गाउँ धुलोले धपक्क डाकेका छन् । तिनै धुलो भित्र मानिसका दुःख रुमल्लिएका छन् । हाम्रा हिमाल, पहाड र तपाई धेरै सम्पन्न मानिसहरुका लागि सुन्दर लाग्छन् । तर तिनै हिंसा र दुःख भोगिरहेका जीवनले त्यो भौगोलिक सुन्दरता कसरी महशुस गर्न सक्लान । मनभरी प्रश्नप्रश्नै बोकेर फेरि काठमाडौको भिंडमा फर्कियौँ हामी । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार